
सल्यान : दार्मा गाउँपालिकामा “मानव मलमुत्रजन्य फोहोर व्यवस्थापन (FSM) सहितको पूर्ण सरसफाइ कार्ययोजना समीक्षा तथा अध्यावधिक” सम्बन्धी दुई दिने कार्यक्रम सम्पन्न भएको छ। दार्मा गाउँपालिका वास इकाईको आयोजना र सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (SUSWA) आयोजना सहयोग इकाइ (PSU), वीरेन्द्रनगर सुर्खेतको सहजीकरणमा कार्यक्रम आयोजना गरिएको हो।
स्थानीय तहमा सुरक्षित, व्यवस्थित तथा दिगो सरसफाइ प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न जनप्रतिनिधिहरू, टोल विकास संस्थाका अध्यक्षहरू, विभिन्न शाखाका प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापकहरू, बाल क्लब तथा किशोरी समूहका प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, विभिन्न समितिका प्रतिनिधिहरू, वास सल्लाहकार, FSM प्रशिक्षक तथा वास इकाइका कर्मचारीहरू सहित करिब ८० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीय तहमा सुरक्षित तथा व्यवस्थित सरसफाइको अवधारणाबारे जानकारी प्रदान गरिएको थियो। खुल्ला दिशामुक्त अवस्थाबाट पूर्ण सरसफाइतर्फको यात्रामा मानव मलमुत्रजन्य फोहोर व्यवस्थापनको आवश्यकता, महत्व तथा यसको प्रभावकारी व्यवस्थापनका उपायबारे सहभागीहरूलाई सहजीकरण गरिएको थियो।
त्यसैगरी स्थानीय तहमा मानव मलमुत्रजन्य फोहोर व्यवस्थापन सम्बन्धी कार्ययोजना निर्माण, समीक्षा तथा प्रभावकारी कार्यान्वयन क्षमताको विकासमा जोड दिइएको थियो। कार्यक्रममा स्थानीय स्तरमा जनचेतना अभिवृद्धि गरी सुरक्षित, स्वच्छ तथा सम्मानित वातावरण निर्माणका विषयमा समेत छलफल गरिएको थियो।

कार्यक्रमले दार्मा गाउँपालिकामा दिगो सरसफाइ प्रवर्द्धन तथा सुरक्षित वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


299 पटक हेरिएको 

