
जाजरकोट : विश्व वातावरण दिवस २०८३ (जुन ५, २०२६) को अवसरमा कुशे गाउँपालिकामा वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन तथा हरित विकासप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विविध कार्यक्रमहरू सम्पन्न भएका छन् ।
कुशे गाउँपालिकाको आयोजना तथा जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना (लक परियोजना) र सहास नेपालको प्राविधिक सहयोगमा संयुक्त राष्ट्रसंघले तय गरेको “प्रकृतिबाट प्रेरित, जलवायुका लागि, हाम्रो भविष्यका लागि” (Inspired by Nature. For Climate. For Our Future.) भन्ने विश्वव्यापी मूल नाराका साथै नेपाल सरकारले निर्धारण गरेको “समृद्ध भविष्यको आधार: जलवायु एवम् प्रकृतिमैत्री विकास” भन्ने राष्ट्रिय नारालाई आत्मसात गर्दै वृक्षारोपण कार्यक्रम तथा अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो ।
विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रमले वातावरणीय संरक्षण, प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन तथा जलवायु परिवर्तनका चुनौतीहरूबारे समुदाय र विशेषगरी युवापुस्तामा सकारात्मक सन्देश प्रवाह गरेको छ । वातावरणीय संकट दिनप्रतिदिन गहिरिँदै गएको वर्तमान अवस्थामा प्रकृतिसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै जलवायु तथा प्रकृतिमैत्री विकासमार्फत समृद्ध भविष्य निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो ।
कार्यक्रम अन्तर्गत बिहान कुशे गाउँपालिका वडा नं. ६ अन्तर्गत रहेको टिनेखोला क्षेत्रमा पहिरो नियन्त्रण तथा भू–संरक्षणका लागि वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो। गाउँपालिका उपाध्यक्ष देविका कुमारी सिंह तथा प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर भण्डारी को उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, परियोजनाका प्रतिनिधि तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।
पहिरोको उच्च जोखिम रहेको क्षेत्रमा गरिएको वृक्षारोपणले माटो संरक्षण, भू–क्षय न्यूनीकरण, जलाधार संरक्षण तथा वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो ।

वृक्षारोपण कार्यक्रमपछि कुशे गाउँपालिका कार्यालय परिसरमा “वातावरण संरक्षण: आजको आवश्यकता, भोलिको सुरक्षा” विषयक अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो। प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न माध्यमिक विद्यालयका छात्रछात्राहरूले वातावरण संरक्षण, जलवायु परिवर्तन, जैविक विविधता संरक्षण, वन तथा जलस्रोत व्यवस्थापन, हरित विकास र भावी पुस्ताको सुरक्षासम्बन्धी विषयमा प्रभावशाली विचार प्रस्तुत गरेका थिए ।
विद्यार्थीहरूले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौती, प्राकृतिक स्रोतहरूको संरक्षण, वातावरणमैत्री जीवनशैली तथा दिगो विकासका लागि युवापुस्ताको भूमिकाबारे तार्किक र सशक्त अभिव्यक्ति दिएका थिए। प्रतियोगिताले विद्यार्थीहरूमा वातावरणीय चेतना, नेतृत्व क्षमता तथा सार्वजनिक बोल्ने कलाको विकास गर्न महत्वपूर्ण अवसर प्रदान गरेको सहभागी शिक्षकहरूको भनाइ थियो ।
प्रतियोगिताको नतिजाअनुसार जनता माध्यमिक विद्यालय पैँककी छात्रा राजेश्वरी आर.सी. प्रथम स्थान हासिल गर्न सफल भइन्। त्यसैगरी मान्नेढुंगा माध्यमिक विद्यालय टालेगाउँका छात्र ओमप्रकाश शाही द्वितीय, नेरा माध्यमिक विद्यालय समाकोटकी छात्रा अरुणिमा तिरुवा तृतीय तथा नेरा माध्यमिक विद्यालय समाकोटकै छात्र खगेन्द्र सिंह सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।
विजेता प्रतियोगीहरूलाई क्रमशः प्रथम पुरस्कार रु. १०,०००, द्वितीय पुरस्कार रु. ७,०००, तृतीय पुरस्कार रु. ५,००० तथा सान्त्वना पुरस्कार रु. ३,००० सहित प्रमाणपत्र प्रदान गरिएको थियो।

सफल प्रतियोगीलार्इ पुरस्कार वितरण गरिसकेपछि कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर भण्डारीले वातावरण संरक्षण आजको आवश्यकता मात्र नभई भावी पुस्ताप्रतिको साझा दायित्व भएको उल्लेख गर्दै विकास र वातावरणबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जलवायु परिवर्तनका असरहरू दिनप्रतिदिन गम्भीर बन्दै गइरहेको अवस्थामा स्थानीय तह, विद्यालय र समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष देविका कुमारी सिंहले वातावरण संरक्षणको अभियान घर, विद्यालय र समुदायबाटै सुरु हुनुपर्ने बताउँदै विद्यार्थीहरू वातावरणीय चेतनाका सशक्त संवाहक बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले वृक्षारोपण, प्राकृतिक स्रोत संरक्षण तथा सरसफाइलाई दैनिक जीवनशैलीसँग जोड्न सके मात्र दिगो र समृद्ध भविष्य निर्माण सम्भव हुने धारणा राख्नुभयो ।

जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना (लक परियोजना) का परियोजना अधिकृत रबिन्द्र बिक्रम शाहीले विश्व वातावरण दिवसको सान्दर्भिकतामाथि प्रकाश पार्दै जलवायु परिवर्तनका असरहरू पहाडी तथा हिमाली क्षेत्रहरूमा झन् बढी देखिन थालेको उल्लेख गर्नुभयो । उहाँले जलवायु परिवर्तन अनुकूलन, वातावरण संरक्षण तथा विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय स्तरमै जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।
विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता तथा समुदायमा आधारित वृक्षारोपण कार्यक्रमले वातावरणीय चेतना विस्तार गर्नुका साथै जलवायु उत्थानशील समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

वक्ताहरूले वातावरण संरक्षणको अभियानलाई विद्यालय, समुदाय, नागरिक समाज, विकास साझेदार तथा स्थानीय सरकारको साझेदारी मार्फत थप प्रभावकारी बनाउँदै “समृद्ध भविष्यको आधार: जलवायु एवम् प्रकृतिमैत्री विकास” भन्ने राष्ट्रिय नारालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक, जनप्रतिनिधि तथा सरोकारवालाहरूले वातावरण संरक्षणलाई केवल एक दिवसमा सीमित नगरी दैनिक व्यवहार र विकासका हरेक गतिविधिसँग जोड्नुपर्ने धारणा व्यक्त गरेका थिए।
वन विनाश, अव्यवस्थित भू–उपयोग, जलस्रोतको ह्रास तथा बढ्दो जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि वृक्षारोपण, प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन तथा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उनीहरूको भनाइ थियो ।


422 पटक हेरिएको 

