
लहान : तराईको अत्यधिक गर्मी, आर्थिक चुनौती र सामाजिक जटिलताबीच पनि लहान नगरपालिकामा सरसफाइ अभियानले उल्लेखनीय गति लिएको छ। केही वर्षअघि सम्म घरमा शौचालय नहुनु सामान्य मानिने कतिपय बस्तीहरूमा अहिले सरसफाइको विषय दैनिक छलफल र सामूहिक अभियानको केन्द्र बनेको छ।
“घरघरको शान, स्वच्छता अभियान” भन्ने नारा सहित सञ्चालन भइरहेको अभियानले स्थानीय समुदायलाई शौचालय निर्माणमा मात्र सीमित नराखी सरसफाइलाई सामाजिक प्रतिष्ठा, स्वास्थ्य र विकाससँग जोड्ने प्रयास गरिरहेको छ।
लहान नगरपालिकाले गरेको सर्वेक्षणमा नगर क्षेत्रका ४ हजार १ सय १ घरधुरीमा शौचालय नभएको तथ्य फेला परेपछि नगरपालिकाले समस्या समाधानका लागि विशेष अभियान सुरु गरेको थियो। द विकन परियोजनाको सहयोग तथा स्थानीय साझेदार संस्था दलित जनकल्याण युवा क्लबको समन्वयमा २०८२ साल मंसिरदेखि अभियान सञ्चालनमा ल्याइएको हो।

घरघरको शान, स्वच्छता अभियान अभियान सुरु भएपछि वडा तथा टोलस्तरका खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरू सक्रिय बनेका छन्। विशेष कुरा के छ भने यी समितिहरूले कुनै औपचारिक निर्देशनको प्रतिक्षा नगरी स्वस्फूर्त रूपमा अभियानलाई अगाडि बढाइरहेका छन्। वडा अध्यक्षहरूको नेतृत्वमा घरदैलो कार्यक्रम, सामुदायिक छलफल तथा अन्तरक्रियाहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्।

कतिपय बस्तीमा बिहानैदेखि वडा अध्यक्ष, स्थानीय अगुवा तथा स्वयंसेवकहरू घरघर पुगेर शौचालय निर्माणको आवश्यकता, सरसफाइका फाइदा र खुला दिसाजन्य जोखिमबारे जानकारी गराइरहेका छन्। यसले समुदायमा व्यवहार परिवर्तनको वातावरण सिर्जना गरेको छ।
अभियानको प्रभाव पनि देखिन थालेको छ। हालसम्म ४५० भन्दा बढी शौचालय स्थानीयवासीहरूले आफ्नै पहलमा निर्माण गरिसकेका छन् भने सयौं शौचालय निर्माणको प्रक्रियामा रहेका छन्। यो संख्या भौतिक पूर्वाधार निर्माणको उपलब्धि सँगै सरसफाइप्रति बढ्दो सामाजिक चेतनाको प्रमाण बनेको छ।
स्थानीयवासीहरू पहिले शौचालय निर्माणलाई खर्चिलो र प्राथमिकता बाहिरको विषय मानिन्थ्यो। तर अभियानले स्वास्थ्य, सम्मान र सुरक्षित जीवनसँग यसको प्रत्यक्ष सम्बन्धबारे बुझाउन सफल भएपछि समुदायको सोचमा परिवर्तन आउन थालेको छ।

नगरपालिकाले यसै आर्थिक वर्षभित्र सबै घरधुरीमा शौचालय निर्माण सम्पन्न गराउने लक्ष्य लिएको छ। लक्ष्य पूरा भएपछि लहान नगरपालिकालाई खुला दिसामुक्त क्षेत्रको पुनःस्थापना तथा दिगोपना सुनिश्चित गर्ने योजना अघि बढाइएको छ।


170 पटक हेरिएको 

