
हेटौंडा : हेटौंडा अस्पतालमा स्वास्थ्य सेवा तथा संक्रमण नियन्त्रण प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले अत्याधुनिक अटोक्लेभ मेसिन हस्तान्तरण गरिएको छ। संयुक्त राष्ट्रसंघीय बाल कोष (Unicef), र वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) तथा अन्य साझेदार संस्थाहरूको सहयोगमा उपलब्ध गराइएको अटोक्लेभ मेसिनको प्राविधिक प्रमाणीकरण प्रक्रिया समेत पूरा भएको छ।
अस्पतालका स्वास्थ्यकर्मी, प्राविधिक टोली, साझेदार संस्थाका प्रतिनिधि तथा अस्पताल व्यवस्थापन पक्षको सहभागितामा टोक्लेभ मेसिनको प्राविधिक प्रमाणीकरण गरिएको हो । अस्पतालका म्यानेजर सुरेन्द्र देव बडुले अटोक्लेभ मेसिनले अस्पतालभित्र प्रयोग हुने शल्यक्रिया तथा उपचार सामग्रीको सुरक्षित निसंक्रमणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

अत्याधुनिक अटोक्लेभ मेसिनको स्थापना र प्रमाणीकरणले हेटौंडा अस्पतालको संक्रमण नियन्त्रण प्रणालीलाई थप मजबुत बनाएको छ। यसले सुरक्षित, गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्याउने अस्पतालका म्यानेजर बडुले बताउनुभयो।
हेटौंडा अस्पतालमा सुरक्षित स्वास्थ्य सेवा प्रणाली सुदृढीकरणको लागि अटोक्लेभ उपलब्ध गराईएको वातावरण र जनस्वास्थ्य संस्था(एन्फो) का प्रोग्राम म्यानेजर केशव श्रेष्ठले बताउनुभयो।
अटोक्लेभ स्वास्थ्य संस्थाहरुबाट उत्पादित अस्पतालजन्य फोहोरको निसंक्रमण गर्न अति अत्यावश्यक उपकरण मानिन्छ। यसले उच्च तापक्रम र चापको प्रयोग गरी अस्पतालजन्य फोहोरहरुलाई जीवाणुमुक्त बनाउने कार्य गर्दछ। यसबाट अस्पतालजन्य संक्रमणको जोखिम न्यूनीकरण हुनुका साथै बिरामीलाई सुरक्षित स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो।

अटोक्लेभ मेसिन जडान पश्चात् यसको कार्यसम्पादन, तापक्रम, चाप तथा नसबन्दीकरण क्षमताको परीक्षण गर्दै प्राविधिक प्रमाणीकरण गरिएको थियो। प्रमाणीकरण सफलतापूर्वक सम्पन्न भएसँगै मेसिन नियमित प्रयोगका लागि तयार भएको अस्पतालले जनाएको छ।
अस्पतालको फोहोर व्यवस्थापन समितिका सदस्य रन्जिता चौलागाईले अटोक्लेभको प्रभावकारी सञ्चालनका लागि अस्पतालका स्वास्थ्यकर्मीलाई सञ्चालन, मर्मतसम्भार तथा गुणस्तर सुनिश्चितता सम्बन्धी अभिमुखीकरण समेत गरिने बताउनुभयो। यसले उपकरणको दीर्घकालीन उपयोग तथा सेवा गुणस्तर कायम राख्न मद्दत पुग्ने विश्वास गरिएको छ।

संयुक्त राष्ट्रसंघीय बाल कोष (Unicef), र वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले नेपालका विभिन्न स्वास्थ्य संस्थाहरूमा संक्रमण नियन्त्रण, स्वास्थ्य सुरक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवर्द्धनका लागि प्राविधिक तथा वित्तीय सहयोग गर्दै आएका छन्।
Improving WASH, HCWM and IPC Services in Healthcare Facilities in Bagmati and Gandaki Province Project अन्तर्गत हेटौडा अस्पताल सहित भरतपुर अस्पताल, बाग्लुङ अस्पताल, पोखरा र भक्तपुर अस्पतालमा विभिन्न कार्यक्रमहरु सञ्चालन आईरहेको एन्फोका प्रोग्राम को-अर्डिनेटर बुद्ध बज्राचार्यले जानकारी दिनुभयो।

हाल हेटौंडा अस्पतालले बागमती प्रदेशका हजारौं सेवाग्राहीलाई विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा आधुनिक उपकरण थपिँदै जाँदा सेवा गुणस्तरमा सुधार आउनुका साथै बिरामी र स्वास्थ्यकर्मी दुवैको सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।




199 पटक हेरिएको 

