एडिबी सहित सरकारका उच्च अधिकारीद्धारा फोहोरपानी प्रशोधन केन्द्रहरुको अनुगमन

निर्माण सम्पन्न भइसकेका प्रशोधन केन्द्रहरुमा सञ्चालनमा ल्याउन सचिवको निर्देशन

  वास खबर सम्बाददाता  374 पटक हेरिएको
🔗
85
Shares

काठमाडौ : काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) चाँडै सञ्चालनमा ल्याइने भएको छ।

यसबाट नदी तथा खोलामा मिसिने दूषित पानीको मात्रा घट्ने र वातावरणीय प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले बालकुमारी, धोबीघाट, सल्लाघारी, हनुमानघाट, गोकर्ण लगायत स्थानमा फोहोरपानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ।

शुक्रबार पूर्वाधार विकास मन्त्रालय, पीआईडी तथा एसियाली विकास बैंक (एडीबी) का प्रतिनिधिहरूले गुह्येश्वरी र धोबीघाटमा निर्माण भएका प्रशोधन केन्द्रहरूको संयुक्त अनुगमन तथा निरीक्षण गर्नु भएको छ ।गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रको २०७९ साल साउन १५ गते आइतबार तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउबाले उदघाटन गर्नुभएको थियो। प्रशोधन केन्द्रबाट तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन गर्न सकिन्छ। यद्यपि पूर्ण क्षमतामा भने अझै सञ्चालनमा ल्याउने नसकेको बताईएको छ ।

अनुगमन टोलीमा पूर्वाधार विकास सचिव विश्वबाबु पुडासैनी, पीआईडी प्रमुख इन्जिनियर रामकुमार श्रेष्ठ, एडीबीका नेपाल देशीय सञ्चालन प्रमुख अर्नाउड हेकम्यान तथा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा लगायत सहभागी रहनु भएको थियो । अनुगमन निरीक्षणका क्रममा सचिव पुडासैनीले निर्माण सम्पन्न भइसकेका प्रशोधन केन्द्रहरूलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौंका केही क्षेत्रमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्रहरू अब चाँडै सञ्चालनमा ल्याउन आवश्यक छ।” त्यसैगरी, पीआईडी प्रमुख इन्जिनियर रामकुमार श्रेष्ठले धोबीघाटमा निर्माण गरिएको प्रशोधन केन्द्र सञ्चालनको अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौंका नागरिकलाई दूषित पानीबाट हुने स्वास्थ्य जोखिमबाट जोगाउन एडीबीको सहयोगमा यी प्रशोधन केन्द्र निर्माण गरिएको हो। केही आयोजना सम्पन्न भइसकेका छन् र अब चाँडै सञ्चालनमा ल्याइनेछ।” यी प्रशोधन केन्द्र सञ्चालनमा आएपछि बागमती तथा यसका सहायक नदीहरूमा प्रत्यक्ष रूपमा मिसिने फोहोरपानीको मात्रा घट्ने, नदीको पानीको गुणस्तर सुधार हुने तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार