
सुर्खेत : कर्णाली प्रदेशका पाँच जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत कार्यालय सहयोगीहरूका लागि दुईदिने मर्मत–सम्भार तथा सञ्चालन सम्बन्धी तालिम सम्पन्न भएको छ। युनिसेफ नेपाल र रुकुमेली समाज विकास केन्द्र (RSDC) रुकुमको साझेदारीमा सञ्चालित स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र स्वच्छता, फोहोर व्यवस्थापन र संक्रमण नियन्त्रण सेवा सुधार कार्यक्रम अन्तर्गत तालिम आयोजना गरिएको हो।
स्वास्थ्य संस्थामा सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH), स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन, अटोक्लेभ सञ्चालन तथा मर्मतसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा सुर्खेत, दैलेख, जाजरकोट, मुगु र रुकुम जिल्लाका १० वटा स्वास्थ्य संस्थामा कार्यरत १९ जना कार्यालय सहयोगीहरूको सहभागिता रहेको थियो।

तालिममा स्वास्थ्य संस्थाका खानेपानी तथा सरसफाइ संरचनाको नियमित सञ्चालन र मर्मत–सम्भार, स्वास्थ्य संस्थाबाट निस्कने फोहोरको सुरक्षित व्यवस्थापन, संक्रमण नियन्त्रणका उपाय तथा अटोक्लेभ मेसिनको सही प्रयोग, सञ्चालन र सामान्य मर्मतसम्बन्धी व्यावहारिक अभ्यास गराइएको थियो। सहभागीहरूलाई व्यक्तिगत सुरक्षा सामग्री (PPE) को उचित प्रयोगबारे समेत प्रशिक्षण दिइएको थियो।
तालिमको सहजीकरण स्वास्थ्य सेवा निर्देशनालयका बायोमेडिकल इन्जिनियर उत्तम पोख्रेल, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर दमन खड्का, प्रदेश अस्पतालका अस्पताल व्यवस्थापक दुर्गा रिजाल तथा RSDC का परियोजना व्यवस्थापक बमबहादुर खड्काले गर्नुभएको थियो।
सहजीकरणकर्ताहरूले स्वास्थ्य संस्थामा कार्यरत कार्यालय सहयोगीहरू संक्रमण रोकथाम, सरसफाइ व्यवस्थापन र स्वास्थ्य संस्थाजन्य फोहोरको सुरक्षित व्यवस्थापनका महत्वपूर्ण जिम्मेवार पक्ष भएकाले उनीहरूको क्षमता विकासले स्वास्थ्य सेवाको गुणस्तर सुधारमा प्रत्यक्ष योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो।

परियोजना अन्तर्गत सञ्चालित यस तालिमले स्वास्थ्य संस्थाहरूमा सुरक्षित खानेपानी, सरसफाइ तथा प्रभावकारी फोहोर व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै अटोक्लेभको सही सञ्चालन र नियमित मर्मत–सम्भारमार्फत स्वास्थ्य संस्थाबाट उत्पन्न हुने संक्रमणजन्य जोखिम न्यूनीकरण गर्न तथा सेवाग्राहीलाई सुरक्षित स्वास्थ्य सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास आयोजकले लिएको छ।
कर्णाली प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा WASH सेवाको गुणस्तर सुधार तथा संक्रमण नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले युनिसेफ नेपाल र RSDC ले स्थानीय तथा प्रदेशस्तरीय सरोकारवालासँग सहकार्य गर्दै विभिन्न क्षमता विकास तथा पूर्वाधार सुदृढीकरणका कार्यक्रम सञ्चालन गर्दै आएका छन्।



225 पटक हेरिएको 

