
काठमाडौं : नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनी सहितको टोलीले मेलम्ची खानेपानी आयोजना अन्तर्गत निर्माणाधीन खानेपानी तथा सरसफाइ संरचनाहरूको स्थलगत अनुगमन गरेको छ।
अनुगमन टोलीमा आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का आयोजना प्रमुख इन्जिनियर रामकुमार श्रेष्ठ लगायतका प्राविधिक तथा सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी थिए।

टोलीले काठमाडौंको कपन र सुन्दरीजल क्षेत्रमा निर्माणाधीन खानेपानी आपूर्ति सम्बन्धी संरचनाहरूको अवलोकन तथा प्रगति समीक्षा गरेको थियो।

अनुगमनका क्रममा सचिव पुडासैनीले आयोजनाको निर्माण प्रगति, गुणस्तर, कार्यसम्पादन अवस्था तथा निर्धारित समयभित्र काम सम्पन्न गर्ने विषयमा जानकारी लिएका थिए। उनले आयोजनाको गुणस्तर कायम राख्दै तोकिएको समयसीमाभित्र निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका थिए।

त्यसैगरी टोलीले गोकर्णेश्वरस्थित विकेन्द्रीकृत फोहोरपानी प्रशोधन प्रणाली (DWATS) को समेत अनुगमन गरेको थियो। अनुगमनका क्रममा फोहोरपानी व्यवस्थापन, प्रशोधन प्रक्रियाको प्रभावकारिता तथा सञ्चालन अवस्थाबारे जानकारी लिइएको थियो।
मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित यी संरचनाहरूले काठमाडौं उपत्यकाका नागरिकलाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउनुका साथै वातावरणमैत्री सरसफाइ व्यवस्थापनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

अनुगमनका क्रममा आयोजना कार्यान्वयनमा देखिएका चुनौती, आगामी कार्ययोजना तथा सेवाको दिगोपनाका विषयमा समेत छलफल भएको बताइएको छ। मन्त्रालयले आयोजना समयमै सम्पन्न गरी नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ।


296 पटक हेरिएको 

