दक्षिण एशियाली ग्रासरुट एसेम्बली : समुदायलाई परिवर्तनको अगुवाका रूपमा स्थापित गर्न आह्वान

  वास खबर समाचारदाता  188 पटक हेरिएको
🔗
19
Shares

काठमाडौ : खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा समुदायको नेतृत्व, सहभागिता र निर्णय प्रक्रियामा उनीहरूको भूमिकालाई केन्द्रमा राख्दै दक्षिण एशियाली ग्रासरुट एसेम्बली २०२६ काठमाडौंमा सम्पन्न भएको छ।

फ्रेस वाटर एक्शन नेटवर्क दक्षिण एशिया (FANSA)  द्वारा आयोजित दुईदिने एसेम्बलीको मुख्य नारा “Be Seen. Be Heard. Lead Change” रहेको थियो। पहिलो दिनलाई ‘WASH Day’ का रूपमा मनाइएको एसेम्बलीमा दक्षिण एशियाका विभिन्न देशका सामुदायिक अगुवा, सरकारी प्रतिनिधि, विकास साझेदार, WASH विज्ञ तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता थियो।

परम्परागत सम्मेलन शैलीलाई उल्ट्याउँदै समुदायका प्रतिनिधिलाई वक्ता र ज्ञानका स्रोतका रूपमा प्रस्तुत गर्नु कार्यक्रमको विशेषता थियो भने नीति निर्माता तथा विकासकर्मीहरू श्रोताको भूमिकामा रहेका थिए यसले समुदायहरू विकासका कार्यक्रमका लाभग्राही मात्र नभई परिवर्तनका वास्तविक संवाहक र नेतृत्वकर्ता भएको स्पष्ट सन्देश दिएको आयोजकले जनाएको छ।

कार्यक्रमको प्रारम्भमा FANSA की कार्यक्रम प्रबन्धक समिरा शाक्यले समुदायका आवाजलाई WASH शासन प्रणालीमा प्रभावकारी रूपमा स्थापित गर्नु एसेम्बलीको उद्देश्य रहेको बताउनुभयो। यस्तै FANSA की क्षेत्रीय संयोजक लजना मानन्धरले स्वागत मन्तव्य व्यक्त गर्दै WASH क्षेत्रमा अर्थपूर्ण परिवर्तन सम्मेलन कक्षमा नभई समुदायभित्रबाट सुरु हुने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा विशेष वक्ताका रूपमा राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्रकी कार्यकारी निर्देशक मीना श्रेष्ठ तथा SAARC का निर्देशक शाहिया अली मानिकले समुदायको अनुभव भनेको कथन मात्र नभई प्रमाण र नवप्रवर्तनको स्रोत भएको बताउनुभयो। उहाँहरूले अनुसन्धान, नीति तथा कार्यक्रमहरू समुदायको वास्तविक अनुभवमा आधारित हुनुपर्नेमा जोड दिनुभयो।

मुख्य वक्ता तथा सामुदायिक अभियन्ता विमला लामाले WASH क्षेत्रमा महिला नेतृत्वको महत्व औँल्याउँदै समुदायका प्रयासहरूलाई संस्थागत संरचनामा समावेश गर्नुपर्ने आवश्यकता व्यक्त गर्नुभयो। WASH विज्ञ तथा रणनीतिकार डा. रोशनराज श्रेष्ठले जलवायु परिवर्तन, असमानता र सामाजिक बहिष्करणजस्ता चुनौतीहरूको सामना गर्न समुदायमा आधारित नवप्रवर्तन, समावेशिता र सहनशीलता आवश्यक रहेको बताउनुभयो। उहाँले “Be Seen”, “Be Heard” र “Lead Change”  लाई अदृश्यलाई दृश्य बनाउने, सुन्ने संस्कृतिलाई साझेदारीमा रूपान्तरण गर्ने र शासन प्रक्रियामा समुदायलाई साझेदार बनाउने सन्देशका रूपमा व्याख्या गर्नुभयो।

समुदायको सहभागिता संस्थागत बनाउने विषयमा छलफल

‘Institutionalizing Community Engagement’  शीर्षक अन्तर्गत आयोजित सत्रहरूमा बंगलादेश, नेपाल, श्रीलंका र भारतका सामुदायिक अगुवाहरूले खानेपानी व्यवस्थापन, समावेशी WASH सेवा, सरसफाइ सुधार तथा जवाफदेहिताका अनुभवहरू प्रस्तुत गर्नु भएको थियो।

नेपालबाट एलजीबीटीआईक्यूएं + समुदायका प्रतिनिधि किरण थापाले WASH सेवामा सम्मान र समावेशिताको विषय उठाउनु भएको थियो भने गोदावरीस्थित कालिटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कुमार खड्काले सामुदायिक जवाफदेहिताका उदाहरणहरू प्रस्तुत गर्नु भएको थियो।

‘Community at the Core’ शीर्षकको प्यानल छलफलमा स्थानीय सरकारका प्रमुख तथा क्षेत्रीय विज्ञहरूले समुदायको आवाजलाई योजना निर्माण, कार्यान्वयन र अनुगमन प्रणालीमा नियमित रूपमा समावेश गर्नुपर्नेमा जोड दिएका थिए।

वित्तीय पहुँच र स्रोत परिचालनमा समुदायको भूमिका

दोस्रो सत्रमा WASH क्षेत्रमा स्रोत परिचालन र वित्तीय पहुँचको विषयमा छलफल गरिएको थियो। बंगलादेश, नेपाल र भारतका समुदाय प्रतिनिधिहरूले वित्तीय चुनौती तथा समुदायमा आधारित लगानीका अनुभवहरू साझा गरेका थिए।

पोखराको खुदीखोला अव्यवस्थित बसोबासी समुदायका प्रतिनिधिहरूले शहरी निम्न आय भएका समुदायले भोगिरहेका वित्तीय चुनौतीहरू प्रस्तुत गरेका थिए भने बाँकेको कोहलपुरस्थित बसोबास महिला सहकारीकी गीता ओलीले महिलामुखी वित्तीय संयन्त्रले वास सेवामा ल्याएको परिवर्तनबारे जानकारी दिनु भएको थियो।

‘Financing Must Follow Communities’ शीर्षकको प्यानल छलफलमा सहभागी विज्ञ तथा समुदायका प्रतिनिधिहरूले वित्तीय संरचना समुदायमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउँदै “स्रोत परिचालन समुदायको आवश्यकता र प्राथमिकता अनुसार हुनुपर्छ” भन्ने साझा निष्कर्ष निकालेका थिए।

समुदायलाई शासनको केन्द्रमा राख्न आह्वान

कार्यक्रमको समापन गर्दै फान्साका क्षेत्रीय संयोजक कबिर राजभण्डारीले समुदायलाई कार्यक्रमका लाभग्राही नभई शासनका सक्रिय पात्रका रूपमा स्वीकार गर्नुपर्ने बताउनुभयो। उहाँले वास क्षेत्रमा समानतामूलक वित्तीय व्यवस्था, समावेशी सेवा, समुदायमा आधारित नेतृत्व र प्रमाणमा आधारित वकालतलाई आगामी दिनका प्रमुख एजेन्डा बनाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले “अदृश्यलाई दृश्य बनाउने, सुन्ने प्रक्रियालाई साझेदारीमा रूपान्तरण गर्ने र समुदायलाई शासन प्रक्रियाको साझेदार बनाउने” उद्देश्यसहित एसेम्बलीको दोस्रो दिन ‘WASH Plus’ विषयमा छलफल हुने जानकारी दिनुभयो।

एसेम्बलीले पहिलो दिनको निष्कर्षमा “समुदाय विकासको अन्तिम माइल होइन, परिवर्तनको पहिलो पंक्ति हो” भन्ने सन्देशलाई सशक्त रूपमा स्थापित गरेको राजभण्डारीले बताउनुभयो।

कला, संस्कृति र नेतृत्वका आवाज

पहिलो दिन आयोजित ‘Echoes of Solidarity and Leadership’ सत्रमा नेपाल, श्रीलंका, भारत र माल्दिभ्सका सहभागीहरूले कविता, गीत तथा मौखिक प्रस्तुति मार्फत आफ्ना अनुभव र आकांक्षाहरू व्यक्त गरेका थिए। वक्ताहरूले नेतृत्व केवल संरचनागत नभई मानवीय गरिमा, संस्कृति र ऐक्यबद्धतासँग जोडिएको विषय भएको सन्देश दिएका थिए।

स्थानीय नवप्रवर्तनको प्रदर्शनी

‘Marketplace of Innovation’ अन्तर्गत विभिन्न देशका समुदायहरूले फोटो प्रदर्शनी, प्रत्यक्ष प्रदर्शन, पोस्टर तथा अध्ययन सामग्रीमार्फत स्थानीय स्तरमा विकसित WASH समाधानहरू प्रस्तुत गरेका थिए। समुदायको स्वामित्वमा आधारित यस्ता अभ्यासहरूलाई दिगोपनाको आधार तथा विस्तारयोग्य मोडलका रूपमा प्रस्तुत गरिएको थियो।

फान्साको आयोजनामा सम्पन्न भएको दक्षिण एशियाली ग्रासरुट एसेम्बली २०२६ मा Gates Foundation, Sanitation and Water for All (SWA), Urgent Action Fund, Plan International Nepal, WaterAid Nepal, WHH Nepal तथा दक्षिण एशियाभरिका FANSAराष्ट्रिय सञ्जालहरूले सहयोग गरेका थिए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार