वास आईएमएस तालिम सम्पन्न, नगरपालिकाको वास प्लान निर्माणमा तथ्यमा आधारित निर्णय प्रक्रियामा जोड

  वास खबर समाचारदाता  246 पटक हेरिएको
🔗
43
Shares

पोखरा : नगरपालिकाहरूको खानेपानी, सरसफाइ तथा स्वच्छता सूचना प्रणालीको क्षमता अभिवृद्धि तथा स्थानीय तहको संस्थागत सुदृढीकरणका लागि दिने एक क्षमता विकास कार्यक्रम आयोजना गरिएको छ । WASH सूचना व्यवस्थापन प्रणालीको प्रयोग मार्फत नगरपालिकाको वास प्लान निर्माण सम्बन्धी क्षमता अभिवृद्धिू कार्यक्रम गरिएको हो ।

स्थानीय सरकारहरूलाई प्रमाणमा आधारित योजना निर्माण, प्रभावकारी सेवा व्यवस्थापन तथा दिगो, समावेशी र गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवा सुनिश्चित गर्न सहयोग पुर्‍याउने उद्देश्यले तालिमको आयोजना गरिएको नेपाल नगरपालिका संघले जनाएको छ ।

कार्यक्रममा स्थानीय तहका प्रतिनिधिहरूसँग ध्ब्क्ज् क्षेत्रको समग्र विकासका लागि योजना निर्माण प्रक्रियामा सहजीकरण गर्दै तथ्यमा आधारित निर्णय प्रणालीको महत्वबारे छलफल गरिएको थियो। साथै खानेपानी तथा सरसफाइ सम्बन्धी तथ्याङ्क व्यवस्थापन, सेवा स्तरको मूल्याङ्कन तथा दिगो सेवा प्रवाहका लागि राष्ट्रिय WASH Management Information System (NWASH MIS) को प्रभावकारी प्रयोग सम्बन्धी विषयमा प्रस्तुतीकरण र अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका, घोराही उपमहानगरपालिका, मेचीनगर नगरपालिका, लाहान नगरपालिका, गोरखा नगरपालिका, गोदावरी नगरपालिका, शारदा नगरपालिका, वालिङ नगरपालिका, सुन्दरबजार नगरपालिका, भीरकोट नगरपालिका, ब्यास नगरपालिका, रैनास नगरपालिका लगायत नगरपालिकाका १५ जनाको सहभागिता रहेको थियो।

सहभागीहरूले स्थानीय तहमा उपलब्ध वास तथ्याङ्कको व्यवस्थित उपयोग मार्फत आवश्यकतामा आधारित योजना तर्जुमा, स्रोतको प्रभावकारी परिचालन तथा सेवा प्रवाहको गुणस्तर सुधार गर्न एनवास एमआईएस महत्वपूर्ण उपकरणका रूपमा रहेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधी देवकोटाले स्थानीय सरकारहरूको योजना निर्माण तथा अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउँदै खानेपानी तथा सरसफाइ क्षेत्रमा दिगो उपलब्धि हासिल गर्न यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागका इन्जिनियर निरव वैधले एन वास एमआईएसको परिचय तथा वास योजनाको आवश्यकता र उपयोगिताबारे सहजीकरण गरेका गर्नु भएको थियो। नेपाल नगरपालिका संघका कार्यक्रम प्रबन्धक मुस्कान श्रेष्ठले सरसफाइ क्षेत्रमा तथ्याङ्कमा आधारित नीतिगत पैरवी आवश्यक रहेको बताउँदै नेपाल नगरपालिका संघले सोही मान्यता अनुसार काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँले वास योजना मार्फत प्राप्त हुने तथ्याङ्कले नगरपालिकाहरूमा आवश्यक नीतिगत सुधार र पैरवीका लागि महत्वपूर्ण आधार प्रदान गर्ने बताउनुभयो।

कार्यक्रममा नगरपालिकाहरूमा सरसफाइ सम्बन्धी तथ्याङ्क संकलनको वर्तमान अवस्था, सर्वेक्षणबाट प्राप्त विवरणको व्यवस्थापन तथा एनवाश एमआईएस प्रणाली मार्फत तथ्याङ्कको प्रयोग र विश्लेषणका विषयमा समेत विस्तृत छलफल गरिएको थियो।

तालिमका सहभागीहरूले तथ्यमा आधारित योजना निर्माण र डिजिटल सूचना प्रणालीको प्रयोगले स्थानीय तहमा खानेपानी तथा सरसफाइ सेवाको पहुँच, गुणस्तर र दिगोपन अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरूको विस्तार (नेपाल) कार्यक्रम’ अन्तर्गत नेपाल नगरपालिका संघले तालिमको आयोजना गरेको थियो।

गेटस् फाउण्डेसनको वित्तिय व्यवस्थापनमा कार्यान्वयन भैरहेको  ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरूको विस्तार (नेपाल) कार्यक्रम’ को यु.एन.ह्याबिटाट (UN-Habitat) कार्यकारी निकाय हो।

नेपाल नगरपालिका संघ, वाटर एड नेपाल, नेपाल नगरपालिका संघ, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग र राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्र कार्यक्रमका साझेदार संस्थाहरु हुन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार