दार्माका दुई टोल विकास संस्था पूर्ण सरसफाइ उन्मुख घोषणा

  वास खबर समाचारदाता  255 पटक हेरिएको
🔗
43
Shares

सल्यान : सल्यानको दार्मा गाउँपालिका–५ स्थित दुई वटा टोल विकास संस्थालाई पूर्ण सरसफाइ उन्मुख टोल विकास संस्था घोषणा गरिएको छ। खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सम्बन्धी गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै सरसफाइका सूचकहरू पूरा गर्न सफल भएपछि पाथिहाल्न टोल विकास संस्था र भोटेगारे टोल विकास संस्थालाई गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बिहीबार पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्नुभयो।

सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना अन्तर्गत दार्मा गाउँपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

पाथिहाल्न टोल विकास संस्था अन्तर्गत भुईँटाकुरा, कल्लेरी, डोप्टी, साङ्ट, कामिटाकुरा, सिम्लेटा, रोगागाउँ, पाथिहाल्न , भटेनी र बनेलख टिटिया बस्तीका १०५ घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी गतिविधिहरू सञ्चालन गरिएको थियो। सरसफाइ सुविधामा स्तरोन्नति, स्वच्छता प्रवर्द्धन तथा व्यवहार परिवर्तनका कार्यक्रम मार्फत दिगो सरसफाइ उन्मुख अवस्था हासिल गर्न सफल भएपछि संस्थालाई पूर्ण सरसफाइ उन्मुख टोल विकास संस्था घोषणा गरिएको गाउँपालिका अध्यक्ष केसीले बताउनुभयो।

त्यसैगरी, भोटेगारे टोल विकास संस्था अन्तर्गत ढाँकाडमकोट, बोरी, लामाडाँडा, सिम्लेटा, भोटेगारे, काउलेखोरी, चैतुगारे, बुझेरी, देउपोले र जुरढुङ्गा बस्तीका १२१ घरधुरीले सरसफाइका मापदण्ड पूरा गरेका छन्।

समुदायस्तरमा स्वच्छता सम्बन्धी बानी–व्यवहारमा सकारात्मक परिवर्तन ल्याउँदै दिगो सरसफाइ उन्मुख अवस्था सुनिश्चित गर्न सफल भएपछि उक्त संस्थालाई पनि पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरिएको अध्यक्ष केसीले बताउनुभयो।

पूर्ण सरसफाइ उन्मुख घोषणा भएका दुवै टोल विकास संस्थालाई गाउँपालिकाले पूर्ण सरसफाइ उन्मुख घोषणा भएको प्रमाणपत्र र प्रोत्साहन रकम समेत वितरण गरेको छ ।

दार्मा गाउँपालिकाले समुदायको सक्रिय सहभागिता, स्थानीय नेतृत्वको प्रतिबद्धता तथा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका कारण यी उपलब्धि हासिल गर्न सफल भएको सुस्वाका सरसफाइ तथा स्वच्छता विज्ञ गोविन्द रोकायाले बताउनुभयो।

टोल विकास संस्थाहरुले प्राप्त उपलब्धिलाई दीगो रूपमा कायम राख्न तथा सरसफाइका अभ्यासलाई निरन्तरता दिन गाउँपालिकाकी उपाध्यक्ष जुना मल्ल चन्दले समुदायलाई आग्रह गर्नुभयो।

पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणाले स्थानीय समुदायमा स्वस्थ, स्वच्छ र मर्यादित जीवनशैली प्रवर्द्धन गर्न सहयोग पुग्ने सुस्वाका GEDSI विज्ञ राजु तिर्वाले बताउनुभयो।

घोषणा सभामा सुस्वाका सरसफाइ तथा स्वच्छता विज्ञ गोविन्द रोकायाले दुवै टोल विकास संस्थालाई चार चार काटुन कपडा धुने साबुन उपलब्ध गराउनुभयो।

दार्मा गाउँपालिका २०८३ भित्रै पूर्ण सरसफाइ उन्मुख स्थानीय तह बनाउने अभियानमा रहेको र यो २३ औं टोल विकास संस्था रहेको अध्यक्ष केसीले बताउनुभयो।

दार्मा गाउँपालिका भित्र ८४ वटा टोल विकास संस्थाहरु गठन गरिएका छन्।

पूर्ण सरसरसफाइ उन्मुख टोल विकास संस्था घोषणा कार्यक्रम सँगै पोषण सम्मेलन समेत गरिएको थियो।

फोटोहरु : पी.टी.लोप्चन/WASH Khabar


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार