
रुकुम पश्चिम : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले पालिकाभित्र दिगो रूपमा पूर्ण सरसफाइको अवस्था सुनिश्चित गर्ने उद्देश्यले पालिका स्तरीय पूर्ण सरसफाइ कार्ययोजना बनाएको छ ।
गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, शाखा प्रमुखहरू, पूर्ण सरसफाइ कार्यदल, स्थानीय स्रोत व्यक्तिहरू, बाल क्लब तथा किशोरी समूहका प्रतिनिधिहरूको सहभागितामा पालिका स्तरीय पूर्ण सरसफाइ कार्ययोजना बनाएको सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनाका सरसफाइ बजारीकरण अधिकृत बीना बिष्टले बताउनुभयो।

उहाँका अनुसार कार्यशालामा सहभागीहरूलाई चार समूहमा विभाजन गरी पालिकाभित्रको पूर्ण सरसफाइको वर्तमान अवस्थाको समीक्षा गरिएको थियो। प्रत्येक समूहले सरसफाइका क्षेत्रमा रहेका समस्या, चुनौती र सुधारका सम्भावित उपायहरूको पहिचान गर्दै कार्यान्वयन योग्य कार्ययोजना तयार गरेका थिए।

पालिका स्तरमा पूर्ण सरसफाइ सुनिश्चित गर्न सरोकारवालाबीच सहकार्य, समन्वय र प्रतिबद्धता अभिवृद्धि गर्ने, पालिकाभरि पूर्ण सरसफाइको वर्तमान अवस्थाबारे जानकारी आदान–प्रदान गर्ने, सरसफाइ क्षेत्रमा भएका उपलब्धि, चुनौती तथा अवसरहरूको विश्लेषण गर्ने र सरोकारवालाको सक्रिय सहभागितामा पालिकाब्यापी पूर्ण सरसफाइ कार्ययोजना तयार गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको उहाँले बताउनुभयो।

सुस्वाका सरसफाइ तथा स्वच्छत विज्ञ गोविन्द रोकायाले पूर्ण सरसफाइ सम्बन्धी कार्ययोजनाले त्रिवेणी गाउँपालिकालाई दिगो पूर्ण सरसफाइतर्फ अघि बढाउन स्पष्ट मार्गचित्र प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

सहभागीहरूले स्थानीय तह, समुदाय तथा सम्बन्धित सरोकारवालाहरू बीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्धता जनाएका थिए।

कार्यशालाबाट तयार गरिएको पालिकाब्यापी पूर्ण सरसफाइ कार्ययोजना आगामी दिनमा सरसफाइसम्बन्धी कार्यक्रमहरूलाई व्यवस्थित, समन्वयात्मक र परिणाममुखी ढंगले कार्यान्वयन गर्न महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।
त्रिवेणी गाउँपालिका तथा वास इकाइ, खारानेटाको आयोजनामा र सुस्वा आयोजना सहयोग इकाइ, वीरेन्द्रनगर, सुर्खेतको सहजीकरणमा आयोजित कार्यशालाको अध्यक्षता गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले गर्नुभएको थियो भने प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारी हुनुहुन्थ्यो।

कार्यशालाका थप फोटाहरु :






फोटो : पी.टी.लोप्चन/WASH Khabar


227 पटक हेरिएको 

