केयूकेएलको वितरण पाइप भित्र फर्सी जत्रै ढुङ्गा भेटियो, अवरुद्ध खानेपानी आपूर्ति पुनः सुचारु गर्ने तयारी

  वास खबर सम्बाददाता  1139 पटक हेरिएको
🔗
439
Shares

ललितपुर : ललितपुरका केही क्षेत्रमा लगातार खानेपानी नआएको उपभोक्ताको गुनासोपछि आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले गरेको संयुक्त अनुगमन पछि समस्याको वास्तविक कारण पत्ता लागेको छ।

शुक्रबार गरिएको स्थलगत अनुगमनका क्रममा ललितपुरको अल्का अस्पताल पछाडिको क्षेत्रमा रहेको वितरण पाइपलाइन भित्र फर्सी जत्रै ढुङ्गा अड्किएको भेटिएको हो। पाइपभित्र ढुङ्गा अड्किएपछि पानीको बहाव अवरुद्ध हुँदा उक्त क्षेत्रमा नियमित रूपमा खानेपानी आपूर्ति हुन नसकेको पुष्टि भएको हो।

आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का अनुसार पाइपलाइन भित्रको ढुङ्गा हटाउने तथा अवरुद्ध पाइपलाइन मर्मत गर्ने कार्य सुरु गरिएको छ। आवश्यक प्राविधिक सुधार सम्पन्न भएपछि प्रभावित क्षेत्रमा सकेसम्म छिटो पुनः नियमित रूपमा खानेपानी वितरण गरिने जनाइएको छ।

यसअघि पीआईडी र केयुकेएलको संयुक्त टोलीले खुमलटार ट्याङ्कीबाट पानी वितरण हुने क्षेत्रको अनुगमन गरेको थियो। प्रारम्भिक निरीक्षणका क्रममा पाटनको मानभवन र मङ्गलबजार क्षेत्रतर्फको वितरण प्रणालीमा समस्या देखिएपछि थप प्राविधिक परीक्षण गरिएको थियो। त्यस क्रममा अल्का अस्पताल पछाडिको वितरण पाइपलाइनभित्र ढुङ्गा अड्किएको भेटिएपछि पानी नपुग्नुको मुख्य कारण खुल्न आएको हो।

आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का आयोजना निर्देशक ई.राम कुमार श्रेष्ठले उपभोक्तालाई वितरण प्रणालीमा देखिएका यस्ता प्राविधिक समस्या समाधानका लागि सम्बन्धित निकायहरू बीच समन्वयात्मक रूपमा काम भइरहेको बताउनुभयो। प्रभावित क्षेत्रमा खानेपानी सेवा छिटोभन्दा छिटो पुनः सञ्चालन गर्न आवश्यक सबै प्राविधिक प्रक्रिया तीव्र गतिमा अघि बढाइएको उहाँले जानकारी गराउनुभयो।

पाईप भित्र अड्किएको ढुङ्गा : 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार