बागमती र गण्डकीका पाँच अस्पतालमा WASH, स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन तथा संक्रमण नियन्त्रण सेवामा उल्लेखनीय सुधार

  वास खबर सम्बाददाता  254 पटक हेरिएको
🔗
11.7k
Shares

काठमाडौं : बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य संस्थाहरूमा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH), स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन (HCWM) तथा संक्रमण रोकथाम तथा नियन्त्रण (IPC) सेवामा उल्लेखनीय सुधार आएको छ ।

बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य संस्थाहरूमा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH), स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन (HCWM) र संक्रमण रोकथाम तथा नियन्त्रण सेवाहरूको सुधार परियोजनाको समीक्षा तथा सिकाइ–उपलब्धि साझेदारी कार्यशालामा परियोजना सञ्चालित अस्पतालहरुले प्रगति प्रतिवेदन प्रस्तुत गरेका हुन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, भरतपुर अस्पताल, हेटौंडा अस्पताल, भक्तपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा धौलागिरी प्रादेशिक अस्पतालका प्रतिनिधिहरूको उपस्थितिमा आज आयोजित परियोजना समीक्षा तथा सिकाइ, उपलब्धि साझेदारी कार्यशालामा परियोजनाका उपलब्धि, सिकाइ र आगामी कार्ययोजना माथि विस्तृत समीक्षा गरिएको हो।

परियोजनाले अस्पतालहरूमा सुरक्षित खानेपानी, सरसफाइ, स्वास्थ्यजन्य फोहोर व्यवस्थापन तथा संक्रमण नियन्त्रण प्रणालीलाई संस्थागत गर्दै स्वास्थ्य सेवा प्रवाहलाई थप गुणस्तरीय, सुरक्षित र जलवायु–उत्थानशील बनाउने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का प्रोग्राम को-अर्डिनेटर बुद्ध बज्राचार्यले जानकारी गराउनुभयो।

पाँचै अस्पतालमा WASH FIT मूल्याङ्कन

परियोजना अन्तर्गत चयन गरिएका पाँचवटै अस्पतालमा WASH FIT (Water and Sanitation for Health Facility Improvement Tool) उपकरण प्रयोग गरी  मूल्याङ्कन गरिएको थियो।

प्रशिक्षित WASH FIT टोली मार्फत गरिएको मूल्याङ्कन अनुसार अस्पतालहरूको प्राप्त WASH FIT स्कोर, परियोजना सञ्चालन अघि र परियोजना मार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन भएपछिको प्राप्ताङ्क हेर्दा उल्लेखनीय प्रगति हासिल भएको छ ।

परियोजनाले पाँचवटै अस्पतालमा WASH FIT समिति गठन गरी ५६ जना सदस्यलाई अभिमुखीकरण प्रदान गरेको जनाएको छ।परियोजना अन्तर्गत प्रत्येक अस्पतालमा चारदिने WASH FIT तालिम सञ्चालन गरिएको थियो।

तालिमबाट ८२ जना महिला सहित कुल १३० जना अस्पताल कर्मचारी तथा WASH FIT समिति सदस्य लाभान्वित भएका छन्। तालिममा खानेपानी, सरसफाइ, संक्रमण नियन्त्रण, स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन, वातावरणीय सरसफाइ, जोखिम मूल्याङ्कन तथा सुधार योजना निर्माण लगायत विषय समेटिएको थियो।

प्रत्येक अस्पतालले बनायो WASH सुधार योजना

पाँच वटै अस्पतालले Incremental WASH Improvement Plan तयार गरी कार्यान्वयन प्रक्रिया अघि बढाएका छन्। यसका साथै WASH FIT समितिसँग नियमित बैठक सञ्चालन गरी नमुना वार्ड, WASH तथा IPC कुनाको स्थापना, संक्रमण नियन्त्रण प्रोटोकल, पूर्वाधार निर्माण तथा अस्पतालको वित्तीय योगदान लगायत विषयमा निरन्तर छलफल भइरहेको एन्फोका प्रोग्राम को-अर्डिनेटर बज्राचार्यले जानकारी गराउनुभयो।

उहाँका अनुसार स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीलाई स्वास्थ्यजन्य फोहोर वर्गीकरण, ढुवानी, उपकरण सरसफाइ तथा गहिरो सरसफाइसम्बन्धी तालिम प्रदान गरिएको छ। हालसम्म १६७ जना सहयोगी कर्मचारी प्रशिक्षित भइसकेका छन्।

त्यसैगरी पाँच अस्पतालको सेवा क्षेत्रका १०४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (FCHV) लाई WASH तथा संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी व्यवहारिक तालिम प्रदान गरिएको उहाँले जानकारी गराउनुभयो।

यसका अतिरिक्त पोखरा, धौलागिरी र हेटौंडा क्षेत्रमा १० वटा आमा समूहलाई पनि WASH तथा IPC सम्बन्धी अभिमुखीकरण सम्पन्न गरिएको छ।

सुरक्षित खानेपानी र सरसफाइ पूर्वाधार 

परियोजना अन्तर्गत अस्पतालहरूमा सुरक्षित खानेपानी सेवा विस्तार गरिएको छ। हेटौंडा, पोखरा तथा भक्तपुर अस्पतालमा RO युनिट सहितको सुरक्षित पिउने पानी स्टेशन स्थापना गरिएको छ। चार अस्पतालमा पानीको गुणस्तर परीक्षण सम्पन्न भइसकेको छ।

सरसफाइ पूर्वाधारतर्फ भरतपुर अस्पताल, धौलागिरी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, धौलागिरी अस्पताल र भक्तपुर अस्पतालमा अपाङ्गमैत्री शौचालय निर्माण सम्पन्न भइसकेको छ।

परियोजना अन्तर्गत सबै अस्पतालमा प्रयोगकर्तामैत्री हात धुने स्टेशन स्थापना गरिएको छ। यसले स्वास्थ्यकर्मी, बिरामी तथा सेवाग्राहीमा हातको स्वच्छता अभ्यासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा महत्वपूर्ण सुधार

परियोजनाले अस्पतालहरूमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन विभिन्न पूर्वाधार तथा उपकरण उपलब्ध गराएको छ।

सबै अस्पतालमा दुई सेट फोहोर सङ्कलन डस्टबिन, जोखिमयुक्त र गैर–जोखिमयुक्त फोहोर ढुवानीका लागि ट्रान्सपोर्ट ट्रली उपलब्ध गराएको छ। हेटौंडा अस्पतालमा २५० लिटर क्षमताको Horizontal Autoclave जडान गरिएको छ।

भरतपुर अस्पतालमा फोहोर वर्गीकरणका लागि Segregation Cage उपलब्ध गराएको छ।

स्वास्थ्य जन्य फोहोर व्यवस्थापनलाई दिगो बनाउन परियोजनाले निजी क्षेत्रसँगको सहकार्यलाई पनि प्राथमिकता दिएको छ। भरतपुर अस्पतालको सफल अभ्यास अन्य अस्पतालसँग आदानप्रदान गरिएको छ भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहेक अधिकांश अस्पतालले निजी क्षेत्र मार्फत स्वास्थ्यजन्य फोहोर व्यवस्थापन गरिरहेका छन्।

हेटौंडा अस्पतालको फोहोर पनि नगरपालिकासँग सम्झौता गरिएको निजी कम्पनी मार्फत व्यवस्थापन भइरहेको जानकारी दिइएको छ।

भक्तपुर अस्पतालमा तरल फोहोर प्रशोधन केन्द्र

परियोजनाको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा भक्तपुर अस्पतालमा Liquid Waste Treatment Plant (Effluent Treatment Plant) स्थापना भइरहेको छ। यस केन्द्र मार्फत डायलाइसिस सेवा तथा शल्यक्रिया कक्षबाट निस्कने तरल फोहोरको वैज्ञानिक प्रशोधन गरिनेछ।

नमुना वार्ड स्थापना

पाँचै अस्पतालमा नमुना वार्ड स्थापना गरिएको छ।

यस अन्तर्गत

√ PPE लगाउने तथा फुकाल्ने क्षेत्र (Donning and Doffing Area)

√ WASH तथा IPC सूचना कुना

√ Needle Prick Injury सम्बन्धी सूचना सामग्री

√ Spillage Kit

√ विभिन्न सूचना, शिक्षा तथा सञ्चार (IEC) सामग्री स्थापना तथा वितरण गरिएको छ।

कार्यक्रमको समापन सत्रमा वातावरण र जनस्वास्थ्य संस्था एन्फोका कार्यकारी निर्देशक राजेन्द्र श्रेष्ठले सुरक्षित खानेपानी र सुरक्षित फोहोर व्यवस्थापनको क्षेत्रमा एन्फोले लामो अनुभव हासिल गरेको जानकारी गराउँदै पानीको गुणस्तर तथा फोहोरपानीको गुणस्तर परिक्षण गर्ने ल्याब समेत एन्फोमा स्थापित रहेको बताउनुभयो।

उहाँले अस्पतालहरुसँग गरिएको परियोजना सँग सम्बन्धित सहकार्य छोटो अवधिको भए पनि एन्फो भविश्यमा समेत सहकार्य गर्न तयार रहेको बताउनुभयो । एन्फोसँग भएको प्राविधिक विज्ञता जुनसुकै समयमा पनि उपलब्ध गराउन तयार रहेको वचनबद्धता व्यक्त गर्नुभयो।

संयुक्त राष्ट्रसंघीय बाल कोष (Unicef) र  अन्य साझेदार संस्थाहरूको सहयोगमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले Improving WASH, HCWM and IPC Services in Healthcare Facilities in Bagmati and Gandaki Province Project अन्तर्गत भरतपुर अस्पताल, हेटौंडा अस्पताल, भक्तपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा धौलागिरी प्रादेशिक अस्पतालमा खानेपानी, सरसफाइ तथा स्वच्छता, स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन तथा संक्रमण रोकथाम तथा नियन्त्रण सँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेकोछ। ।

तस्बिरहरु: पी.टी.लोप्चन/WASH Khabar


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार