WASH क्षेत्रमा ज्ञानको साझा थलो : राष्ट्रिय WASH डिजिटल लाइब्रेरीको विस्तार हुँदै

  वास खबर सम्बाददाता  337 पटक हेरिएको
🔗
37
Shares

काठमाडौः नेपालमा पानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा विगत केही दशकदेखि सरकारी निकाय, विकास साझेदार संस्था, गैरसरकारी संस्था, शैक्षिक संस्थान, अनुसन्धानकर्ता तथा विभिन्न विज्ञहरूले उल्लेखनीय अध्ययन, अनुसन्धान, नीति दस्तावेज, निर्देशिका, तालिम सामग्री, प्रतिवेदन तथा अनुभवमूलक प्रकाशनहरू उत्पादन गर्दै आएका छन्।

तर यी बहुमूल्य सामग्रीहरू विभिन्न संस्था र वेबसाइटहरूमा छरिएर रहेका कारण आवश्यक जानकारी खोज्न कठिन हुने, एउटै विषयमा दोहोरो अध्ययन तथा प्रयास हुने र नयाँ पुस्ताका विद्यार्थी तथा अनुसन्धानकर्ताले पर्याप्त स्रोत सामग्री प्राप्त गर्न नसक्ने समस्या लामो समयदेखि देखिँदै आएको थियो।

यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले वातावरण जनस्वास्थ्य संस्था (एन्फो) ले राष्ट्रिय WASH रिपोजिटरी (One Platform to Share and Learn) अर्थात् WASH डिजिटल लाइब्रेरी सञ्चालनमा ल्याइएको छ। वातावरण जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक राजेन्द्र श्रेष्ठका अनुसार यो पानी, सरसफाइ तथा स्वच्छता क्षेत्रसँग सम्बन्धित सम्पूर्ण ज्ञान, अनुभव र प्रकाशनलाई एकीकृत गर्ने डिजिटल ज्ञान–साझेदारी मञ्च हो।

यस प्लेटफर्मको मुख्य उद्देश्य WASH क्षेत्रमा उत्पादन भएका प्रकाशन, अनुसन्धान, नीति दस्तावेज, म्यानुअल, निर्देशिका, केस स्टडी, तालिम सामग्री तथा अन्य ज्ञान सामग्रीलाई व्यवस्थित रूपमा सङ्कलन, संरक्षण तथा सार्वजनिक पहुँचमा उपलब्ध गराउनु हो। यसले विद्यार्थी, अनुसन्धानकर्ता, नीति निर्माता, विकास साझेदार, सञ्चारकर्मी तथा WASH क्षेत्रमा कार्यरत सम्पूर्ण सरोकारवालालाई आवश्यक ज्ञान सामग्री सहज रूपमा प्राप्त गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

गत वर्षदेखि सञ्चालनमा आएको यस डिजिटल लाइब्रेरीलाई प्रयोगकर्ताहरूको सुझाव तथा बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै निरन्तर परिमार्जन र थप प्रभावकारी बनाइँदै आएको  कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो।

हाल यसमा WASH क्षेत्रसँग सम्बन्धित विभिन्न प्रतिवेदन, अनुसन्धान लेख, राष्ट्रिय नीति तथा रणनीति, प्राविधिक निर्देशिका, अध्ययन–अनुभव, तालिम सामग्री लगायतका सयौं प्रकाशनहरू समावेश भइसकेका छन्। आगामी दिनमा यसको दायरा अझ विस्तार गर्दै नयाँ सामग्रीहरू नियमित रूपमा थपिने योजना रहेको छ।

विशेषज्ञहरूका अनुसार ज्ञानको प्रभावकारी व्यवस्थापन बिना कुनै पनि क्षेत्रको संस्थागत विकास सम्भव हुँदैन। एउटै विषयमा भएका अनुसन्धान, सिकाइ तथा अनुभवलाई साझा गर्न सके नयाँ अध्ययनको आधार तयार हुने, नीतिगत निर्णयहरू थप प्रमाणमा आधारित बन्ने तथा सीमित स्रोतसाधनको प्रभावकारी उपयोग हुने विश्वास गरिएको छ।

यस अभियानलाई सफल बनाउन WASH क्षेत्रमा कार्यरत सबै संस्था तथा व्यक्तिको सक्रिय सहभागिता अपरिहार्य मानिएको छ। त्यसैले सम्बन्धित सबै निकायलाई आफ्ना प्रकाशन तथा ज्ञान सामग्री डिजिटल लाइब्रेरीमा उपलब्ध गराउन, प्लेटफर्मको प्रयोग गर्न, आफ्ना सहकर्मी तथा सञ्जाललाई पनि यसको प्रयोगका लागि प्रेरित गर्न तथा सुधारका लागि सुझाव उपलब्ध गराउन आग्रह गरिएको छ।

कार्यकारी निर्देशक श्रेष्ठ भन्नुहुन्छ “नेपालमा WASH क्षेत्रमा उत्पादन भएका बहुमूल्य ज्ञान तथा अनुभवलाई एउटै साझा प्लेटफर्ममा ल्याउनु समयको आवश्यकता हो। राष्ट्रिय WASH डिजिटल लाइब्रेरी केवल दस्तावेजहरूको सङ्ग्रह मात्र होइन, यो सिकाइ, अनुसन्धान, नवप्रवर्तन र सहकार्यलाई प्रवर्द्धन गर्ने साझा ज्ञान केन्द्र हो। यसलाई समृद्ध बनाउन सरकार, विकास साझेदार, शैक्षिक संस्था, अनुसन्धानकर्ता र WASH क्षेत्रमा कार्यरत सबैको सक्रिय योगदान आवश्यक छ। हामी सबैको सहकार्यबाट यो प्लेटफर्म भविष्यका पुस्ताका लागि पनि उपयोगी राष्ट्रिय ज्ञान सम्पदा बन्ने विश्वास लिएका छौं।”

वासको डिजिटल लाइब्रेरीमा कसरी पहुँच राख्ने ? : https://washrepo.enpho.org/
डिजिटल लाइब्रेरी कसरी प्रयोग गर्ने ? यो लिङ्कमा क्लिक गर्नुहोस् । https://www.youtube.com/watch?v=w5n37_ptBWI


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार