‘घर–घरको शान, स्वच्छता अभियान’ को सफलता : राजदेवी टोल शतप्रतिशत शौचालययुक्त बस्तीमा रूपान्तरण

  सुदिप घिमिरे  133 पटक हेरिएको
🔗
0
Shares

लहान, सिराहा : एक समय खुला दिसापिसाबको समस्यासँग संघर्ष गरिरहेको लहान नगरपालिका–७ स्थित राजदेवी टोल आज सरसफाइ र स्वच्छताको उदाहरणीय बस्तीका रूपमा स्थापित भएको छ। केही महिना अघिसम्म खुला स्थानमा दिसापिसाब गर्नुपर्ने बाध्यता रहेको यस टोलमा अहिले प्रत्येक घरमा शौचालय निर्माण सम्पन्न भएसँगै बस्तीको वातावरण मात्र होइन, स्थानीयवासीको जीवनशैली र सामाजिक सम्मानमा समेत सकारात्मक परिवर्तन आएको छ।

राजदेवी टोलमा कुल २३ घरधुरी रहेका छन्। केही समयअघिसम्म तीमध्ये धेरै घरमा शौचालयको सुविधा थिएन। आर्थिक अभाव, जनचेतनाको कमी तथा आवश्यक सहयोगको अभावका कारण धेरै परिवारले आफ्नै घरमा शौचालय निर्माण गर्न सकेका थिएनन्। तर लहान नगरपालिकाले सञ्चालन गरेको ‘घर–घरको शान, स्वच्छता अभियान’ प्रभावकारी रूपमा अघि बढेपछि अहिले टोलका सबै २३ घरधुरीमा शौचालय निर्माण सम्पन्न भएको छ। यससँगै राजदेवी टोल शतप्रतिशत शौचालययुक्त बस्तीका रूपमा रूपान्तरण भएको हो।

स्थानीयवासीका अनुसार केही समयअघिसम्म टोलभित्रका बाटोमा हिँड्नसमेत कठिन हुने अवस्था थियो। खुला स्थानमा दिसापिसाब गर्ने चलनका कारण बारी, झाडी, बाटोछेउलगायत विभिन्न स्थानमा मानव मल छरिएर रहने, दुर्गन्ध फैलिने र वातावरण अत्यन्त अस्वच्छ हुने गरेको थियो। दुर्गन्धकै कारण कतिपय स्थानीयले आफ्नै टोलको नाम भन्नसमेत संकोच महसुस गर्नुपरेको अनुभव सुनाउनुभयो। अहिले भने प्रत्येक घरमा शौचालय निर्माण भएपछि टोल सफा, सुन्दर र व्यवस्थित बन्दै गएको उहाँहरूको भनाइ छ।

यस परिवर्तनमा ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत कार्यरत युथ च्याम्पियन (युवा स्वयंसेवक) करिना रसाइली विश्वकर्मा सदाको भूमिका उल्लेखनीय रहेको स्थानीयवासी बताउँछन्। करिनाले अभियानको सुरुवातदेखि नै आफ्नो टोलका प्रत्येक घरमा शौचालय निर्माण गराउने लक्ष्यका साथ निरन्तर जनचेतनामूलक अभियान सञ्चालन गर्नुभयो। उहाँ बिहान–बेलुका घर–घर पुगेर शौचालय निर्माणको आवश्यकता बुझाउने, परिवारलाई प्रेरित गर्ने तथा नगरपालिकासँग समन्वय गर्ने कार्यमा सक्रिय रहनुभयो।

करिना रसाइली विश्वकर्मा सदाका अनुसार अभियानको प्रारम्भिक चरणमा सबैले यसलाई सहज रूपमा स्वीकार गरेका थिएनन्। कतिपय घरधुरीमा जनचेतनाको अभावका कारण आफूले गालीसमेत खानुपरेको उहाँले स्मरण गर्नुभयो। तथापि निरन्तरको प्रयास, धैर्यता र समुदायसँगको सहकार्यका कारण अन्ततः सबै परिवार शौचालय निर्माणका लागि तयार भएको उहाँले बताउनुभयो।

उहाँका अनुसार लहान नगरपालिकाले शौचालयविहीन परिवारलाई आवश्यक निर्माण सामग्री उपलब्ध गराएर अभियानलाई थप प्रभावकारी बनाएको थियो। नगरपालिकाले रिङ, पाइप, १५ वटा इँटा, एक बोरा सिमेन्ट, गिट्टी र बालुवा उपलब्ध गराउनुका साथै दैनिक तीनदेखि चार जना मिस्त्री परिचालन गरी निर्माण कार्यमा सहयोग गरेको थियो। यही सहयोगका कारण राजदेवी टोलका सबै २३ घरधुरीमा शौचालय निर्माण सम्पन्न गर्न सम्भव भएको उहाँको भनाइ छ।

यस अभियानबाट प्रत्यक्ष लाभान्वितमध्ये एक हुनुहुन्छ गुलाब कुमारी सदाय। उहाँ लहान नगरपालिका–७ को राजदेवी टोलमा बसोबास गर्नुहुन्छ। आर्थिक अवस्था कमजोर भएकाले लामो समयसम्म उहाँले आफ्नै घरमा शौचालय निर्माण गर्न सक्नुभएको थिएन। श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा रहेकाले घरको सम्पूर्ण जिम्मेवारी उहाँकै काँधमा थियो।

गुलाब कुमारीका अनुसार शौचालय नहुँदा उहाँ हरेक बिहान सबेरै अरूको बारीमा दिसापिसाब गर्न जान बाध्य हुनुहुन्थ्यो। यस क्रममा धेरैपटक गालीसमेत खानुपरेको तीतो अनुभव उहाँले सुनाउनुभयो। एक सन्तानकी आमासमेत रहनुभएकी उहाँले आफ्ना साना बच्चालाई शौच गराउन सुरक्षित स्थान खोज्नुपर्ने अवस्था निकै पीडादायी रहेको बताउनुभयो। दिउँसो शौच वा पिसाब लागे पनि लाजका कारण लामो समयसम्म रोक्नुपर्ने, बिहान र साँझ बाहिर जाँदा सर्प, जंगली जनावर तथा गलत नियत भएका व्यक्तिहरूको डरसमेत झेल्नुपरेको उहाँको अनुभव छ।

तर अहिले अवस्था पूर्ण रूपमा बदलिएको छ। श्रीमान्ले वैदेशिक रोजगारीबाट पठाएको रकम बचत गर्दै र आफूले ज्याला–मजदुरी गरेर कमाएको आम्दानी थपेर उहाँले आफ्नै घरमा नयाँ शौचालय निर्माण गर्नुभएको छ। साथै, लहान नगरपालिकाबाट प्यान, पाइप, रिङ तथा मिस्त्रीको सहयोग प्राप्त भएपछि निर्माण कार्य अझ सहज भएको उहाँले बताउनुभयो।

आफ्नो घरमा शौचालय बनेपछि दैनिक जीवन निकै सहज भएको उल्लेख गर्दै गुलाब कुमारी भन्नुहुन्छ, “अब बाहिर जानुपर्ने बाध्यता हटेको छ। सुरक्षित वातावरणमा आफ्नै घरमा शौचालय प्रयोग गर्न पाउँदा धेरै खुसी छु। अहिले समाजमा पनि सम्मानका साथ शिर ठाडो पारेर हिँड्न सकेकी छु।” उहाँले प्रत्येक घरमा शौचालय हुनु स्वस्थ, सुरक्षित र सम्मानित जीवनका लागि अत्यावश्यक रहेकोमा जोड दिनुभयो।

यस्तै, राजदेवी टोलकै अमिता कुमारी दुलालले पनि टोलका सबै घरमा शौचालय निर्माण भएपछि वातावरणमा उल्लेखनीय सुधार आएको बताउनुभयो। टोल सफा, सुन्दर र व्यवस्थित बन्दै गएकोमा खुसी व्यक्त गर्दै उहाँले अझै शौचालय निर्माण हुन बाँकी रहेका लहान नगरपालिकाका अन्य बस्तीका परिवारलाई पनि आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गर्नुभयो।

राजदेवी टोल लहान नगरपालिकाको एउटा प्रतिनिधि उदाहरण मात्र हो। नगरपालिकाले सञ्चालन गरिरहेको ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत अहिले नगरका २४ वटा टोलमा शौचालय निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ। सरसफाइ सुधारलाई प्राथमिकतामा राख्दै नगरपालिकाले शौचालय निर्माणमा आवश्यक सहयोग, सामुदायिक शौचालय विस्तार तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेको जनाएको छ।

यद्यपि सरसफाइलाई अझ दिगो र प्रभावकारी बनाउन मानव मलजन्य फोहोर प्रशोधन केन्द्र (Faecal Sludge Treatment Plant–FSTP) स्थापना आवश्यक रहेको सरोकारवालाहरूको धारणा छ। यस विषयमा लहान नगरपालिकाले प्रारम्भिक गृहकार्य अघि बढाइसकेको जनाएको छ।

लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीका अनुसार मानव मलजन्य फोहोरको वैज्ञानिक व्यवस्थापनका लागि आवश्यक कानुनी व्यवस्था तयार गर्ने प्रक्रिया अगाडि बढाइएको छ। निजी क्षेत्रलाई समेत सहभागिता गराई आधुनिक प्रशोधन प्रणाली विकास गर्ने नगरपालिकाको दीर्घकालीन योजना रहेको उहाँले जानकारी दिनुभयो।

राजदेवी टोलको अनुभवले स्थानीय सरकारको सक्रियता, समुदायको सहभागिता र युवाको नेतृत्व एकसाथ जोडिँदा सरसफाइजस्तो आधारभूत क्षेत्रमा पनि उल्लेखनीय परिवर्तन सम्भव हुने पुष्टि गरेको छ। प्रत्येक घरमा शौचालय निर्माणसँगै राजदेवी टोलले केवल खुला दिसामुक्त बस्तीको पहिचान मात्र बनाएको छैन, स्वच्छ, सुरक्षित र सम्मानित जीवनतर्फको महत्वपूर्ण यात्रा पनि तय गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार