निजी क्षेत्रको लगानी बिना सुरक्षित सरसफाइको लक्ष्य हासिल गर्न असम्भव : NPO श्रेष्ठ

  वास खबर सम्बाददाता  231 पटक हेरिएको
🔗
16
Shares

काठमाडौं : सुरक्षित सरसफाइ व्यवस्थापनमा निजी क्षेत्रको लगानी र सक्रिय सहभागिता बिना सबैका लागि सुरक्षित सरसफाइ सुविधा सुनिश्चित गर्ने लक्ष्य हासिल गर्न असम्भव हुने यु.एन. ह्याबिट्याटका नेसनल प्रोफेस्नल अफिसर (वास) सुधा श्रेष्ठले बताउनु भएको छ ।

निजी क्षेत्र, काठमाडौ उपत्यका भित्रका विभिन्न नगरपालिका र शिक्षा तथा खेलकुद, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय लगायतका प्रतिनिधीहरुको सहभागितामा संचालिक कार्यक्रममा नेसनल प्रोफेस्नल अफिसर श्रेष्ठले सरसफाइ क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउन अनुकूल वातावरण निर्माण गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार (नेपाल) कार्यक्रम अन्तर्गत नेपाल नगरपालिका संघले आयोजना गरेको साझेदारीका लागि सरोकारवाला नक्सांकन र निजी क्षेत्रको सहभागिताबारे अन्तरक्रिया कार्यक्रममा उहाँले मानव मलमूत्रको सुरक्षित व्यवस्थापन नगर्दा सार्वजनिक स्वास्थ्यमा गम्भीर असर पर्ने उल्लेख गर्दै भन्नुभयो ‘एउटा ट्यांकर मानव मलमूत्र प्रशोधन नगरी फ्याँक्नु भनेको करिब ५ हजार जनाले खुला ठाउँमा दिसा गरे बराबरको असर हो। यसबाट उत्पन्न हुने प्रदूषण हावा, पानी वा अन्य माध्यमबाट अन्ततः मानिसको शरीरमा पुग्ने जोखिम रहन्छ ।’

श्रेष्ठले खानेपानी, सरसफाइ र स्वच्छता (वास) एक अर्कासँग अभिन्न रूपमा जोडिएका विषय भएको बताउनुभयो। ‘वास भनेको अगेनाको तीनवटा खुट्टा जस्तै हो। कुनै एउटा पक्ष कमजोर भए मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्छ ’ उहाँले भन्नुभयो।

उहाँले हाल वास प्लानमा खानेपानीलाई तुलनात्मक रूपमा बढी प्राथमिकता दिइएको तर सरसफाइ क्षेत्रका आवश्यक तथ्यांक पर्याप्त रूपमा संकलन हुन नसकेको बताउनुभयो। तथ्यांकको अभावका कारण सरसफाइ सम्बन्धी धेरै योजना वास योजनामा समावेश हुन नसकेको उहाँको भनाइ थियो।

श्रेष्ठले सरसफाइ क्षेत्रमा निजी क्षेत्रले गरेको लगानीबाट पनि उचित मुनाफा आर्जन गर्न सकिने सन्देश प्रभावकारी रूपमा दिन नसकिएको स्वीकार गर्नुभयो। निजी क्षेत्रले सुरक्षित सरसफाइ व्यवस्थापनमा लगानी गरे मात्र ‘स्यानिटेसन फर अल’ भन्ने लक्ष्य व्यवहारमा सार्थक हुने उहाँको भनाइ थियो।

उहाँले विकास साझेदार र सरकारको लगानी मात्र पर्याप्त नहुने उल्लेख गर्दै सुरक्षित सरसफाइ सेवा विस्तारका लागि निजी क्षेत्रको लगानी आकर्षित गर्ने नीति तथा वातावरण निर्माण गर्न सरकारलाई विशेष आग्रह समेत गर्नुभयो।

कार्यक्रममा नेपाल नगरपालिका संघले नगरव्यापी समावेशी सरसफाइको क्षेत्रमा नीतिगत पैरवी गर्नका लागि तयार पारेको नगरव्यापी समावेशी सरसफाइ (CWIS) पैरवी रणनीतिका बिषयमा स्वतन्त्र परामर्शदाता रोजी सिंहले प्रस्तुतीकरण गर्नुभयो।

कार्यक्रममा सरसफाइ क्षेत्रमा नीजि क्षेत्रले लगानी गर्न नसक्नुका कारण, लगानीका अवसर चुनौतीहरुका बिषयमा समेत व्यापक छलफल गरिएको थियो ।

कार्यक्रमका अध्यक्ष समेत रहेका सूर्य बिनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना (भट्टराई) ले नगरपालिकाहरुको आन्तरिक स्रोत एकदमै न्यून रहेका कारण पनि सरसफाइलाई प्राथमिकतामा राख्न नसकेको स्वीकार गर्नुभयो । आफ्नो नगरपालिका भित्र फोहोरमैला व्यवस्थापनको क्षेत्रमा निजी क्षेत्रलाई परिचालन गरिरहेको जानकारी गराउँदै उहाँले मानव मलमूत्र व्यवस्थापनको क्षेत्रमा समेत निजी क्षेत्रलाई सहभागिता गराउनुपर्नेमा जोड दिनुभयो।

उहाँले नेदरल्याण्ड लगायत विभिन्न देशमा भएका सरसफाइका उदाहरणीय कार्यहरु प्रस्तुत गर्दै नेपालमा समेत यस्ता कार्यहरुको अनुकरण गर्नुपर्ने बताउनुभयो। उहाँले खानेपानी तथा सरसफाइका लागि बनाएका संरचनाहरुले सिस्टमेटिक तरिकाले काम नगर्दा पर्यावरणमा समेत समस्या सिर्जना हुँदै गएको बताउनुभयो।

कार्यक्रममा मिडिया हेल्पलाइनका कार्यकारी निर्देशक गोविन्द खड्काले समावेशी सरसफाइमा निजी क्षेत्रको साझेदारी बिषयमा प्रस्तुतीकरण गर्नु भएको थियो।

कार्यक्रममा तारकेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिका, मध्यपुर थिमी नगरपालिका, सूर्य बिनायक नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, नागार्जुन नगरपालिका, काठमाडौ महानगरपालिका, टोखा नगरपालिका, शिक्षा तथा खेलकुद मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालयका प्रतिनिधीहरुको सहभागिता थियो ।

यस्तै निजी क्षेत्रबाट फोहोरमैला व्यवस्थापन गर्दै आएका विभिन्न संघसंस्था, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल बैंकर्स एशोसिएसन, होटल संघ नेपाल, नेपाल उद्योग परिसंघ लगायत संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो।

 

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार