
काठमाडौं: काठमाडौं उपत्यकाको ढल व्यवस्थापन सुधार तथा बागमती नदी सफाइ अभियानलाई थप टेवा पुग्ने गरी धोबीघाट ढल प्रशोधन केन्द्र (Wastewater Treatment Plant) को परीक्षण सञ्चालन (Testing and Commissioning) सुरु गरिएको छ।
आयोजना कार्यान्वयन निर्देशनालय (PID) का आयोजना निर्देशक इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार प्रतिदिन ३ करोड ७२ लाख लिटर ढल प्रशोधन क्षमता रहेको उक्त केन्द्रको परीक्षण सञ्चालन हिजो मंगलबार देखि सुरु गरिएको हो। केन्द्रको निर्माण CGCOC–ATAL JV मार्फत सम्पन्न भएको हो।
आयोजना निर्देशक श्रेष्ठले भन्नुभयो “धोबीघाट ढल प्रशोधन केन्द्रको परीक्षण सञ्चालन सुरु भएसँगै काठमाडौं उपत्यकाको ढल व्यवस्थापनलाई व्यवस्थित बनाउन महत्वपूर्ण उपलब्धि हासिल भएको छ। परीक्षण सफल भएपछि केन्द्रले नियमित रूपमा ढल प्रशोधन सेवा दिनेछ।”
उहाँका अनुसार बागमती नदीको दुवै किनारामा मुख्य ढल सङ्कलन गर्ने ट्रंक सिवर पाइप (Trunk Sewer Pipe) बिछ्याउने काम अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गरेको हो भने ढल प्रशोधन केन्द्र निर्माणको जिम्मेवारी आयोजना कार्यान्वयन निर्देशनालयले सम्हालिरहेको छ।
“मुख्य ढल संकलन प्रणाली र ढल प्रशोधन केन्द्र पूर्ण रूपमा सञ्चालनमा आएपछि बागमती नदीसहित काठमाडौं उपत्यकाको नदी प्रणाली सफा बनाउन उल्लेखनीय योगदान पुग्नेछ। यसले वातावरणीय प्रदूषण न्यूनीकरण र स्वच्छ वातावरण निर्माणमा समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ” इन्जिनियर श्रेष्ठले भन्नुभयो ।

उहाँका अनुसार धोबीघाटमै अर्को ३ करोड ७२ लाख लिटर प्रतिदिन क्षमता भएको अर्को ढल प्रशोधन केन्द्र निर्माणाधीन छ। त्यसैगरी:
• कोडकुमा १ करोड ४२ लाख लिटर प्रतिदिन क्षमता,
• सल्लाघारीमा १ करोड ७० लाख लिटर प्रतिदिन क्षमता,
• हनुमानघाटमा १० लाख लिटर प्रतिदिन क्षमता, तथा
• गोकर्णमा ३० लाख लिटर प्रतिदिन क्षमता भएका ढल प्रशोधन केन्द्र निर्माणको काम अघि बढिरहेको छ।
आयोजना निर्देशक श्रेष्ठले भन्नुभयो, “सामान्यतया उपभोग गरिएको खानेपानीको करिब ८० प्रतिशत भाग ढलमा परिणत हुने आकलन गरिन्छ। हाल काठमाडौं उपत्यकामा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (KUKL) ले करिब २० करोड लिटर प्रतिदिन खानेपानी वितरण गरिरहेको अवस्थामा अझै थप ढल प्रशोधन केन्द्रहरूको आवश्यकता देखिएको छ।”

“नदी किनारका व्यवस्थापन गरिएका क्षेत्रमा समेत व्यवस्थित ढल प्रशोधन केन्द्र निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराइदिन मन्त्रालयसँग आग्रह गरिएको छ। साथै उपयुक्त स्थानहरूमा विकेन्द्रीकृत ढल प्रशोधन प्रणाली (Decentralized Wastewater Treatment System) स्थापना गर्ने विषयमा पनि अध्ययन भइरहेको छ” उहाँले भन्नुभयो ।
आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार काठमाडौं उपत्यकामा ढल प्रशोधन पूर्वाधार विस्तार हुँदै गएपछि नदीमा प्रशोधन नगरी ढल मिसाउने अवस्था क्रमशः घट्दै जाने र दीर्घकालीन रूपमा नदी संरक्षण तथा सार्वजनिक स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


377 पटक हेरिएको 

