भूमिगत पानी र वासको क्षेत्रमा अनुसन्धान गर्न अनुसन्धान केन्द्र र इन्जिनियरिङ अध्ययन संस्थान बीच समझदारी

  वास खबर सम्बाददाता  220 पटक हेरिएको
🔗
23
Shares

काठमाडौं : भूमिगत पानी (Ground Water) तथा अन्य WASH सम्बन्धी अनुसन्धानका लागि राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्र (NWSSRICDC) र त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (IOE) बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।

खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा अनुसन्धान तथा ज्ञान उत्पादनलाई संस्थागत गर्ने उद्देश्य अनुरुप द्धिपक्षीय समझदारी भएको राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान केन्द्रका सिनियर डिभिज्नल इन्जिनियर महेश न्यौपानेले जानकारी दिनुभयो।

समझदारी मार्फत नेपालमा भूमिगत पानी, सुरक्षित खानेपानी, सरसफाइ, जलस्रोत व्यवस्थापन, जलवायु परिवर्तनका प्रभाव, पानीको गुणस्तर, फोहोर व्यवस्थापन तथा WASH क्षेत्रसँग सम्बन्धित विभिन्न अनुसन्धान, अध्ययन तथा प्रविधि विकासमा सहकार्य गर्ने आधार तयार भएको छ। साथै, अनुसन्धानमा आधारित नीति निर्माण, प्रमाणमा आधारित निर्णय प्रक्रिया तथा नवीन प्रविधिको विकासमा समेत यसले सहयोग पुर्‍याउने भूमिगत पानी नवप्रवर्तन तथा क्षमता विकास केन्द्रका कार्यकारी निर्देशक मीना श्रेष्ठले बताउनुभयो।

यस सहकार्यले विश्वविद्यालय, अनुसन्धानकर्ता, विद्यार्थी तथा प्राविधिक समुदायलाई WASH क्षेत्रमा नयाँ अनुसन्धान प्रस्ताव विकास गर्न, नवीन सोच अघि बढाउन तथा राष्ट्रिय आवश्यकता अनुसार अध्ययन–अनुसन्धान सञ्चालन गर्न थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ बाट संयुक्त अनुसन्धान कार्यक्रमहरू क्रमशः कार्यान्वयनमा लैजाने तयारी समेत भइरहेको जनाइएको छ।

‘खानेपानी तथा सरसफाइ क्षेत्रमा अनुसन्धानलाई सुदृढ बनाउँदै प्राप्त नतिजालाई नीति, योजना तथा व्यवहारमा रूपान्तरण गर्ने उद्देश्यले गरिएको यो सहकार्यले नेपालको WASH क्षेत्रमा ज्ञानमा आधारित विकासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ’ केन्द्रका कार्यकारी निर्देशक मीना श्रेष्ठले भन्नुभयो।

कार्यकारी निर्देशक श्रेष्ठले यो सहकार्यले अनुसन्धानमा आधारित समाधान खोज्न, नवीन अवधारणा विकास गर्न तथा राष्ट्रिय आवश्यकता अनुरूपका अनुसन्धानलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार