थाहा नगरमा सरसफाइ अभियान, धार्मिक, शैक्षिक तथा सार्वजनिक क्षेत्रमा सरसफाइ

  वास खबर सम्बाददाता  120 पटक हेरिएको
🔗
17
Shares

मकवानपुर : पर्यटकीय नगर थाहा नगरपालिकाका विभिन्न धार्मिक, शैक्षिक तथा सार्वजनिक क्षेत्रमा सरसफाइ अभियान तीव्र बन्दै गएको छ। स्थानीय संघसंस्था, शैक्षिक संस्था, युवा समूह, नगर प्रहरी तथा समुदायको सक्रिय सहभागितामा सडक, मठमन्दिर, विद्यालय परिसर र सार्वजनिक स्थलहरूमा नियमित रूपमा सरसफाइ कार्यक्रम सञ्चालन हुन थालेका छन्।

श्रावण १६ गते थाहा नगरपालिका–३ स्थित प्रसिद्ध ऋषेश्वर/छ्युमिग झ्याङ्छुप जाने बाटो तथा मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको छ। पालुङ बहुमुखी क्याम्पस र जनकल्याण माध्यमिक विद्यालयका शिक्षकहरूको सहभागितामा सम्पन्न कार्यक्रममा जनकल्याण मावि व्यवस्थापन समितिका अध्यक्ष राजीवकुमार स्याङ्तान, प्रधानाध्यापक रामकुमार बल, पालुङ बहुमुखी क्याम्पसका प्रमुख राजन मिश्र तथा प्राध्यापकहरूको सहभागिता रहेको थियो। मन्दिरमा पूजा तथा स्नानका लागि जाँदै गरेका भक्तजनहरू पनि अभियानमा सहभागी भएका थिए। कार्यक्रममा ऋषेश्वर/छ्युमिग झ्याङ्छुप क्षेत्र विकास समितिका अध्यक्ष बिनोदकुमार लामाको समेत उपस्थिति रहेको थियो।

उही दिन लायन्स क्लब अफ थाहा पिस र लियो क्लब अफ पिस थाहानगरको संयुक्त आयोजनामा थाहा नगरपालिका–२ स्थित पाण्डुकेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

लायन्स क्लब अफ थाहा पिस वर्ष २०२६/२७ की सचिव लायन नविना बिष्टले लायन वर्षको पहिलो सामाजिक कार्यक्रमअन्तर्गत मन्दिर परिसर सरसफाइ तथा डस्टबिन वितरण गरिएको जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षणमा सामुदायिक सहभागितासहितको सरसफाइ अभियान प्रभावकारी हुने बताउनुभयो। कार्यक्रममा उहाँले मन्दिर क्षेत्र विकास समितिलाई डस्टबिन तथा सरसफाइ सामग्री हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा लायन्स क्लब अफ थाहा पिसका संस्थापक अध्यक्ष लायन सुरेन्द्रमान प्रधान, पूर्व अध्यक्ष लायन जयराम खत्री, लियो क्लब अफ पिस थाहानगरकी अध्यक्ष लियो स्मिता बिष्ट, पूर्व अध्यक्षहरू लियो निशा बिष्ट र लियो रोशनी गोपाली सहित विभिन्न पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। पाण्डुकेश्वर क्षेत्र विकास समितिका अध्यक्ष जनक हमाल, कोषाध्यक्ष रामप्रसाद ढकाल र सचिव दिवकर कार्कीको पनि उपस्थिति रहेको थियो।

लायन्स तथा लियो क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत धार्मिक स्थल संरक्षण, स्वच्छ वातावरण निर्माण तथा समुदायमा सरसफाइसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गरेको छ।

यसैगरी, थाहा नगरपालिका–१० स्थित चम्पाकेश्वर मन्दिर परिसरमा पनि सरसफाइ गरिएको छ। स्थानीय बैकुण्ठ थापाले मन्दिर परिसरमा रहेको फोहोर र झाडी हटाई सरसफाइ गरिएको तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको जानकारी दिनुभयो। श्रावण महिनामा मन्दिरमा पूजा–आराधना र स्नान गर्न आउने भक्तजनको सुविधालाई ध्यानमा राखेर सरसफाइ गरिएको उहाँले उल्लेख गर्नुभयो।

थाहा नगरपालिका–८ स्थित इन्द्रायणी माध्यमिक विद्यालयले विद्यालयस्तरमै वातावरणीय सरसफाइ अभियानलाई प्राथमिकता दिएको छ।

विद्यालयका प्रधानाध्यापक नारायण कार्कीले विद्यार्थीहरूलाई सरसफाइको व्यवहारिक सीप सिकाउने र त्यसलाई घर–समुदायसम्म विस्तार गर्ने उद्देश्यले शिक्षक तथा विद्यार्थी स्वयं विद्यालय परिसर सरसफाइमा सक्रिय भएको बताउनुभयो। अतिरिक्त क्रियाकलापअन्तर्गत सरसफाइ कार्यक्रमलाई नियमित रूपमा समावेश गरिएको उहाँले जानकारी दिनुभयो।

केही समयअघि वडा नम्बर–७ अन्तर्गत महादेवखर्क क्षेत्रमा स्थानीयवासीको श्रमदानमा ग्रामीण सडकको छेउछाउको झाडी हटाउने तथा नाला सफाइ गर्ने अभियान सञ्चालन गरिएको थियो।

नारायण कार्कीले थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको श्रमदान अभियानबाट प्रेरणा लिएर स्थानीयवासीले स्वस्फूर्त रूपमा सडक मर्मत तथा नाला निर्माणमा श्रमदान गरेको उल्लेख गर्नुभयो।

थाहा नगरपालिकाको नगर प्रहरीले पनि नियमित रूपमा सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ। नगर प्रहरीले पालुङ क्याम्पस परिसर, इन्द्रायणी मन्दिर तथा प्रसिद्ध त्रिवेणी शंखमूलस्थित १०८ शंखधारा परिसरमा सरसफाइ गर्नुका साथै समुदायस्तरमा सञ्चालन हुने खानेपानी मुहान तथा सार्वजनिक सरसफाइ अभियानमा समेत सहभागिता जनाउँदै आएको जनाएको छ।

यसैबीच, दामन–डाँडाबास सडकखण्ड अन्तर्गत गोपालीगाउँ नजिक वर्षाका कारण अवरुद्ध भएको सडक नाला नगर प्रहरी र स्थानीयको सहकार्यमा सफाइ गरिएको छ।

स्थानीय विक्रम गोपालीले स्थानीयवासी, नगर प्रहरी, थाहा नगरपालिका, जग्गाधनी तथा सवारी व्यवसायीबीचको समन्वयमा ढल सफाइ तथा ग्राभेल बिछ्याउने कार्य सम्पन्न भएको जानकारी दिनुभयो। उहाँले स्थानीय घरधनीहरूलाई ढल नपुर्न र नियमित सरसफाइ गर्न अनुरोध गर्नुभयो।

त्यसैगरी, थाहा नगरपालिका–२ स्थित ऐतिहासिक पाथीभरा (लक्ष्मीश्वर) मन्दिर परिसरमा सरसफाइ तथा रंगरोगन गरिएको छ।

सोल्टु युवा क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा क्लबका रुपक कार्कीले स्थानीय सम्पदाको संरक्षणमा युवाहरूले सानो भए पनि महत्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो। मन्दिर संरक्षण तथा व्यवस्थापनमा सबै पक्षको सक्रियता आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रम सम्पन्न गर्न समय, श्रम र सहयोग प्रदान गर्ने सोल्टु युवा क्लबका सम्पूर्ण युवा सदस्यप्रति रुपक कार्कीले आभार प्रकट गर्नुभयो।

थाहा नगरपालिकाभित्र पछिल्लो समय समुदाय, शैक्षिक संस्था, सामाजिक संघसंस्था तथा स्थानीय सरकारको सहकार्यमा सञ्चालन भइरहेका यस्ता सरसफाइ अभियानले धार्मिक सम्पदा संरक्षण, स्वच्छ वातावरण निर्माण तथा समुदायमा सरसफाइसम्बन्धी सकारात्मक व्यवहार विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

फोटोहरु : सुरज कुमार भुजेल/थाहा नगरपालिका 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार