टेकुस्थित बायोग्यास प्लान्ट सञ्चालनमा ल्याउन कामपा र वैकल्पिक उर्जा प्रवर्धन केन्द्र बीच सम्झौता

  वास खबर सम्बाददाता  124 पटक हेरिएको
🔗
19
Shares

काठमाडौँ: काठमाडौँ महानगरपालिकाको टेकुस्थित बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याइने भएको छ। यसका लागि काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) बीच सम्झौता भएको छ।

कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थितिमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो। सहरमा उत्पादन हुने जैविक फोहरको आधुनिक, प्रविधिमैत्री र दिगो व्यवस्थापन गर्ने उद्देश्यले सम्झौता गरिएको हो।

सम्झौतापछि प्रतिक्रिया दिँदै कार्यवाहक प्रमुख डंगोलले जैविक फोहर व्यवस्थापनमा प्रविधिको प्रयोग विस्तार गर्दै निर्धारित समयभित्र प्लान्ट सञ्चालनमा ल्याइने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्लान्ट पुनःस्थापना मात्र उपलब्धि नभई यसको दीर्घकालीन दिगो सञ्चालन र अन्य स्थानका लागि सिकाइको नमुना बनाउनु अझ महत्वपूर्ण रहेको बताउनुभयो।

केन्द्रका कार्यकारी निर्देशक ढकालले प्लान्ट सञ्चालनका लागि आवश्यक उपकरण, सामग्री र प्राविधिक सेवा उपलब्ध गराइने जानकारी दिनुभयो। उहाँका अनुसार सम्पूर्ण जडान, परीक्षण, अनुगमन तथा सुपरीवेक्षणपछि प्लान्ट महानगरपालिकालाई हस्तान्तरण गरिनेछ। साथै हरित जलवायु कोषअन्तर्गत सञ्चालन हुने कार्यक्रमहरूमा महानगरपालिका र केन्द्रबीच थप सहकार्यको सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो।

टेकुस्थित बायोग्यास प्लान्ट काठमाडौँ महानगरपालिकाको एकीकृत दिगो फोहर व्यवस्थापन परियोजना अन्तर्गत २०७२ सालमा निर्माण सुरु भई २०७५ सालदेखि सञ्चालनमा आएको थियो। प्लान्टबाट दैनिक ३ मेट्रिक टन जैविक फोहर प्रशोधन गरी १४ किलोवाट विद्युत्, ३०० किलोग्राम जैविक मल र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन गर्ने लक्ष्य राखिएको थियो। परियोजनामा काठमाडौँ महानगरपालिका र युरोपियन युनियनको संयुक्त रूपमा १ करोड ८२ लाख रुपैयाँ लगानी रहेको थियो।

प्राविधिक समस्याका कारण केही समयदेखि बन्द रहेको प्लान्टलाई पुनः सञ्चालनमा ल्याउन भएको सम्झौताअनुसार महानगरपालिकाले दीर्घकालीन सञ्चालन तथा मर्मतसम्भारका लागि आवश्यक बजेट व्यवस्थापन गर्नेछ। त्यस्तै, योग्य जनशक्ति वा सञ्चालक छनोट गरी प्लान्टलाई व्यावसायिक मोडलमा सञ्चालन गर्ने, पुनःस्थापनापछि सम्पूर्ण संरचनाको स्वामित्व ग्रहण गर्ने तथा वातावरणमैत्री ढंगले सञ्चालन सुनिश्चित गर्ने जिम्मेवारी पनि महानगरपालिकाकै हुनेछ। फोहरलाई स्रोतका रूपमा उपयोग गरी बायोग्यास र जैविक मल उत्पादनमार्फत चक्रीय अर्थतन्त्र (सर्कुलर इकोनोमी) प्रवर्द्धन गर्ने लक्ष्य पनि राखिएको छ।

यता वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्ने, आवश्यक उपकरण खरिद, जडान तथा परीक्षण सम्पन्न गरी सञ्चालनयोग्य अवस्थामा महानगरपालिकालाई हस्तान्तरण गर्नेछ।

प्लान्ट सञ्चालनको जिम्मेवारी र कार्ययोजना तय गर्न महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र केन्द्र बीच पटक–पटक छलफल भएको थियो। साउन १४ गते कार्यवाहक प्रमुख डंगोल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठबीच भएको भेटवार्तामा पनि ‘वेस्ट टु इनर्जी’ परियोजनालाई प्रभावकारी रूपमा सञ्चालन गर्न अन्तरसरकारी समन्वय र सहकार्यका विषयमा छलफल भएको थियो।

महानगरपालिकाले यस परियोजनालाई केवल फोहर व्यवस्थापनमा सीमित नराखी सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत व्यावसायिक रूपमा सफल बनाउने योजना अघि सारेको छ। परियोजना सञ्चालनमा आएपछि कुहिने फोहरको दिगो व्यवस्थापनमा प्रविधिको प्रयोग बढ्नुका साथै बञ्चरेडाँडामा पुग्ने फोहरको मात्रा घट्ने अपेक्षा गरिएको छ। साथै फोहरबाट ऊर्जा र जैविक मल उत्पादनमार्फत आम्दानी वृद्धि हुने तथा सहरको सरसफाइ र वातावरणीय सन्तुलनमा सकारात्मक योगदान पुग्ने महानगरपालिकाको विश्वास छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार