
काठमाडौ : काठमाडौको गुहेश्वरीमा निर्माण गरिएको गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्र पूर्ण क्षमतामा सञ्चालन हुन थालेको छ । प्रशोधन केन्द्रले हाल दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन गर्न थालेको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का आयोजना निर्देशक ई.राम कुमार श्रेष्ठले जानकारी दिनुभयो।
यस अघि फोहोरपानीको मात्रा नै प्रशोधनको क्षमता बराबरको फोहोरपानी उपलब्ध नभएको र प्रशोधन केन्द्रबाट प्रशोधन भई उत्सर्जन हुने पानीमा समेत बीओडीको मात्रा प्यारामिटर भन्दा बढी भएकाले पूर्ण क्षमतामा सञ्चालन हुन सकेको थिएन ।
ढल र वर्षात्को पानी एउटै प्रणालीबाट बगाउँदा प्रशोधन केन्द्रमा अनावश्यक पानीको चाप बढेको छ ।
नेपाल सरकारले फोहोरपानी प्रशोधन केन्द्रबाट प्रशोधन भई उत्सर्जन हुने प्रशोधित पानीमा Biological Oxygen Demand (बीओडी) को मात्रा प्रति लिटर ५० मिलिग्राम तोकेको छ ।
आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) द्वारा निर्माण गरिएको उक्त ढल प्रशोधन केन्द्रले हाल दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन गरिरहेको आयोजना निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र निर्माणको काम अघि बढिरहेको छ । पिआइडीले सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा समेत ढल प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । ती केन्द्रहरूको निर्माण कार्य चाँडै सम्पन्न हुने जनाइएको छ ।

पिआइडी प्रमुख एवं इन्जिनियर श्रेष्ठले काठमाडौँ उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ राख्न थप ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “उपत्यकाका विभिन्न ठाउँमा ढल प्रशोधन केन्द्र निर्माणाधीन अवस्थामा छन् । काठमाडौंका नदी र वातावरण सफा राख्न अझै थप यस्ता ढल प्रशोधन केन्द्र निर्माण गर्नुपर्दछ ।”
प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न ढलको पानी र वर्षात्को पानीका लागि छुट्टाछुट्टै पाइप प्रणाली आवश्यक रहेको उहाँको भनाइ छ । यसका लागि स्थानीय तहसँग समेत प्रभावकारी समन्वय र आवश्यक नीति कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार पानीको चाप बढ्ने, बाटोमा भएका बालुवा ईट्टा मरेका जनावर लगायतका फोहोरहरु प्रशोधन केन्द्रमा पुगी त्यको क्षमता घटाई दिने गरेको छ ।
ढल र वर्षात्को पानी एउटै प्रणालीबाट बगाउँदा प्रशोधन केन्द्रमा अनावश्यक पानीको चाप बढ्ने भएकाले छुट्टाछुट्टै पाइप प्रणाली विकास गर्न सके ढल प्रशोधनको क्षमता र प्रभावकारिता बढाउन सकिने पिआइडीले जनाएको छ ।



254 पटक हेरिएको 

