
काठमाडौं : नगरव्यापी समावेशी सरसफाइ (Citywide Inclusive Sanitation-CWIS) अवधारणाबारे दक्ष प्रशिक्षक तयार गर्ने उद्देश्यले आठदिने आवासीय प्रशिक्षक प्रशिक्षण (Training of Trainers-TOT) सुरु भएको छ।
प्रशिक्षण राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र (NWSSRICDC) र र वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) को संयुक्त आयोजनामा भइरहेको हो।
नगरकोट स्थित राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र (NWSSRICDC) मा भैरहेको प्रशिक्षणको मुख्य उद्देश्य नगरव्यापी समावेशी सरसफाइ (CWIS) सम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै प्रशिक्षकको रूपमा तालिम सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति तयार गरी उक्त अवधारणालाई विभिन्न तहमा विस्तार गर्नु रहेको आयोजकले जनाएको छ।

आठ दिने प्रशिक्षणमा संघीय सरकारका अधिकारी, विकास साझेदार संस्था तथा निजी क्षेत्रका प्रतिनिधि सहित १७ जना सहभागी रहेका छन्। सहभागीमध्ये ८ जना महिला र ९ जना पुरुष छन्। प्रशिक्षणमा शहरी विकास तथा भवन निर्माण विभाग, खानेपानी तथा ढल व्यवस्थापन विभाग, राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र (NWSSRICDC), सात विकास साझेदार संस्था तथा तीन निजी संस्थाका प्रतिनिधिहरू सहभागी छन्।

प्रशिक्षणको उद्घाटन सत्रमा केन्द्रका इन्जिनियर चेतनारायण श्रेष्ठले सहभागीहरूलाई स्वागत गर्दै NWSSRICDC को तालिम केन्द्र तथा अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन प्रणाली (ISO Certification) बारे जानकारी गराउनुभयो।
त्यसैगरी, ENPHO का कार्यकारी निर्देशक राजेन्द्र श्रेष्ठले प्रशिक्षणको उद्देश्य प्रस्तुत गर्दै आठदिने आवासीय तालिमले सहरव्यापी समावेशी सरसफाइ अवधारणालाई प्रभावकारी रूपमा विस्तार गर्न सक्षम प्रशिक्षक तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले NWSSRICDC सँगको सहकार्यलाई निरन्तरता दिँदै यस्ता संयुक्त कार्यक्रमहरूले नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रमा सकारात्मक योगदान पुर्याइरहेको बताउनुभयो।

कार्यक्रमकी अध्यक्ष तथा राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रकी कार्यकारी निर्देशक मीना श्रेष्ठले प्रशिक्षणमा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै यस तालिमबाट सरसफाइ क्षेत्रमा दक्ष CWIS प्रशिक्षक तयार हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता प्रशिक्षकहरूले नेपालको सरसफाइ क्षेत्रको क्षमता अभिवृद्धि र सेवा सुधारमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।

फोटोहरु : सुबास केसी/एन्फो


336 पटक हेरिएको 

