
काठमाडौं : सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (SOPHEN) को १२औँ कार्यकारी समिति गठन भएको छ। सोफेनले २०२६ जुलाई ३१ देखि लागू हुने गरी नयाँ कार्यकारी समिति सर्वसम्मतिबाट चयन गरिएको हो।
नवनिर्वाचित कार्यकारी समितिको अध्यक्षमा डा. रजित ओझा सर्वसम्मतिबाट चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा इ. चारुश्री नकर्मी, महासचिवमा इ. सञ्जु लामिछाने, उप-महासचिवमा इ. बलबहादुर ठकुराठी तथा कोषाध्यक्षमा इ. प्रजन हाडा निर्वाचित हुनुभएको छ।
समितिका सदस्यहरूमा डा. अनिल अर्याल, इ. ध्रुव धिताल, इ. सुजित मान राजभण्डारी, सरिता श्रेष्ठ, प्रेजु खनाल तथा प्रणित श्रेष्ठ रहनु भएको छ।
को हुन् अध्यक्ष ओझा ?
सोफेनको ३६ बर्षे इतिहासमा सबैभन्दा युवा अध्यक्ष हुनुहुन्छ, नवनिर्वाचित अध्यक्ष डा. ओझा । नेपालका एक प्रतिष्ठित इन्जिनियर तथा नीतिगत नेतृत्वकर्ता ओझा सँग खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव छ। हाल उहाँ नेपाल सरकार, खानेपानी तथा ढल व्यवस्थापन विभाग (DWSSM) को सेवा नियमन तथा सूचना व्यवस्थापन शाखाका प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ।
उहाँले जापानको यामानाशी विश्वविद्यालयबाट इन्जिनियरिङमा विद्यावारिधि (PhD) हासिल गर्नुभएको छ। उहाँको अनुसन्धान पानीको सुशासन, पानीको मूल्य निर्धारण तथा वातावरणीय अर्थशास्त्रमा केन्द्रित रहेको थियो। साथै, उहाँले UNESCO IHE बाट जल आपूर्ति इन्जिनियरिङमा स्नातकोत्तर उपाधि प्राप्त गर्नुभएको छ। दिगोपना, वातावरणीय कानुन तथा विपद् तथा आपत्कालीन अवस्थामा WASH सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय अनुभवहरु समेत उहाँले संगालिसक्नु भएको छ ।
डा. ओझाको विशेषज्ञता WASH सुशासन, दिगो विकास लक्ष्य (SDG) को स्थानीयकरण, वित्तीय व्यवस्थापन तथा सार्वजनिक खर्च विश्लेषणमा केन्द्रित छ। हाल उहाँले NWASH MIS को नेतृत्व गर्दै भौगोलिक सन्दर्भमा आधारित अनुगमन प्रणालीको विकास तथा WASH तथ्याङ्क प्रमाणीकरणमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगलाई अघि बढाइरहनुभएको छ।
प्राविधिक तथा नीतिगत योगदानसँगै उहाँ साहित्यिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ। हालै उहाँको राजनीतिक व्यंग्यात्मक उपन्यास “I Couldn’t Cross the Road” प्रकाशित भएको छ।
सोफेनले साझेदार संस्था तथा सरोकारवालासँग सहकार्य गर्दै सार्वजनिक स्वास्थ्य इन्जिनियरिङ पेशाको विकास र नेपालको WASH क्षेत्रलाई थप प्रभावकारी र दिगो बनाउन नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
नव निर्वाचित कार्यसमितिलाई बधाई दिदै सोफेनले जारी गरेको सन्देशमा अघिल्ला कार्यकारी समितिहरूले स्थापित गरेको सशक्त विरासत तथा हालै सफलतापूर्वक सम्पन्न विश्वव्यापी WASH वित्तीय सम्मेलन (Global WASH Financing Conference) लगायतका उपलब्धिलाई आधार बनाउँदै नयाँ नेतृत्वले डिजिटल उपस्थिति, सञ्जाल तथा साझेदारी, युवा सहभागिता, दिगोपना, दृश्यता र संस्थागत विस्तारलाई प्राथमिकतामा राखेर अघि विश्वास व्यक्त गरेको छ। साथै, सार्वजनिक स्वास्थ्य इन्जिनियरिङ पेशालाई थप सुदृढ बनाउँदै नेपालमा दिगो तथा उत्थानशील खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रको विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (SOPHEN) एक स्वतन्त्र, गैरनाफामूलक संस्था हो, जसले सबै नागरिकका लागि सुरक्षित, किफायती तथा पर्याप्त खानेपानी र सरसफाइ सेवामा समान पहुँच सुनिश्चित गर्न पैरवी गर्दै आएको छ।
सन् १९९० मा स्थापना भई नेपाल सरकारको समाज कल्याण ऐन, २०४९ अन्तर्गत दर्ता भएको SOPHEN ले खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा कार्यरत पेशाकर्मीहरूको क्षमता अभिवृद्धिका लागि साझा मञ्चको रूपमा काम गर्दै आएको छ। साथै, देशभर WASH सेवाको प्रभावकारी विस्तार र सुदृढीकरणमा नेपाल सरकारलाई सहयोग पुर्याउँदै आएको अग्रणी व्यावसायिक संस्थाका रूपमा स्थापित छ।


578 पटक हेरिएको 

