भोटेकोशी बाढी प्रभावितका लागि एडीबीको ५० लाख डलर आपत्कालीन अनुदान

  वास खबर सम्बाददाता  212 पटक हेरिएको
🔗
130
Shares

काठमाडौं : एशियाली विकास बैंक (एडीबी) ले भोटेकोशी बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि ५० लाख अमेरिकी डलर आपत्कालीन अनुदान स्वीकृत गरेको छ। एडीबीका अध्यक्ष मासातो कान्डाले यो अनुदानलाई विपद्को घडीमा प्रभावित समुदाय प्रतिको ऐक्यबद्धताको रुपमा उल्लेख गर्नुभएको छ।

बैङ्कले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै “यो ५० लाख डलरको अनुदान हाम्रो प्रतिबद्धता पूरा भएको प्रमाण हो,” अध्यक्ष कान्डाले भन्नु भएको छ “हाम्रा सदस्य राष्ट्रका मानिसलाई हाम्रो आवश्यकता परेको बेला हामी उनीहरूको साथमा हुनेछौं। यी नदी आसपासका परिवारले आफ्ना प्रियजन, घर र समुदायले निर्भर गरेका आधारभूत सेवा समेत गुमाएका छन्।”

उहाँले सहायता पुर्‍याउन ढिलाइ गर्न नहुने बताउँदै भन्नुभएको छ “क्षतिको पूर्ण विवरण अझै मूल्यांकन भइरहेको छ। तर यो सहयोगले खाद्यान्न, सुरक्षित खानेपानी, आश्रय, औषधि र तत्काल आवश्यक अन्य सहायता आवश्यक परेका मानिस सम्म पुर्‍याउन मद्दत गर्नेछ। विपद् पर्दा एडीबी अघि बढ्छ ।”

एडीबीको एसिया प्रशान्त विपद् प्रतिकार्य कोष मार्फत उपलब्ध गराइने यो अनुदानले तत्काल आवश्यक आपत्कालीन कार्यमा सहयोग गर्नेछ। यस अन्तर्गत खोज तथा उद्धार उपकरण, स्वास्थ्य सामग्री, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आवास, सरसफाइ तथा स्वच्छता सम्बन्धी सामग्री उपलब्ध गराउने, बाढी र पहिरोबाट थुप्रिएको गेग्रान हटाउने, आपत्कालीन रूपमा जोखिमयुक्त क्षेत्रको स्थिरीकरण गर्ने लगायतका काममा सहयोग गरिनेछ।

एडीबीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहित नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय निकाय तथा विकास साझेदारसँग नजिकबाट समन्वय गर्दै विकसित परिस्थितिको अनुगमन र आपत्कालीन प्रतिकार्य तथा पुनःस्थापनामा सहयोग गरिरहेको जनाएको छ।

यसका अतिरिक्त एडीबीले विपद् प्रतिकार्य कोषको दोस्रो विन्डो मार्फत विपद्पछिको आवश्यकता मूल्यांकन, पुनःस्थापना योजना तथा सम्भावित पुनःनिर्माण र लगानी तयारीका लागि अधिकतम १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाएको छ।

नेपाल सरकारको अनुरोधमा गरिने उक्त मूल्यांकनले प्रभावित क्षेत्रको क्षति तथा नोक्सानीको परिमाण निर्धारण गर्ने, विभिन्न क्षेत्रमा आवश्यकताको पहिचान गर्ने र पुनःस्थापना तथा पुनःनिर्माणका प्राथमिकता तय गर्न सहयोग गर्नेछ।

एडीबीले नेपालमा विपद् उत्थानशीलता अभिवृद्धिका लागि बलियो पूर्वाधार, संस्थागत क्षमता र आपत्कालीन पूर्व तयारीमा लामो समयदेखि सहयोग गर्दै आएको जनाएको छ। बैंकले आपत्कालीन प्रतिकार्यका साथै त्यसपछिका पुनःस्थापना र पुनःनिर्माणका प्रयासमा नेपाल सरकार र नेपाली जनतासँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

एडीबी एसिया तथा प्रशान्त क्षेत्रमा दिगो, समावेशी र उत्थानशील विकासका लागि सहयोग गर्ने प्रमुख बहुपक्षीय विकास बैंक हो। सन् १९६६ मा स्थापना भएको एडीबीका ६९ सदस्य राष्ट्र छन्, जसमध्ये ५० वटा सदस्य एसिया–प्रशान्त क्षेत्रका छन्।

बाढी र लेदोयुक्त पहिरोका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा व्यापक जनधनको क्षति भएको छ। धेरै मानिसको मृत्यु तथा घाइते भएका छन् भने धेरै परिवार विस्थापित हुनुका साथै घर, भौतिक पूर्वाधार र अत्यावश्यक सेवामा गम्भीर क्षति पुगेको छ।

नेपाल सरकारले प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी ठूलो स्तरमा राहत तथा उद्धार कार्य सञ्चालन गरिरहेको छ। खोज तथा उद्धार कार्य जारी रहनुका साथै प्रभावित समुदायको क्षति र आवश्यकताको मूल्यांकन भइरहेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार