नुवाकोटमा हर्क साम्पाङको टोली शौचालय बनाउँदै

  वास खबर सम्बाददाता  263 पटक हेरिएको
🔗
332
Shares

नुवाकोट : भोटेकोशीको बाढी र पहिरोले घरबास तथा आधारभूत संरचना प्रभावित बनाएपछि नुवाकोटमा विस्थापित तथा प्रभावित नागरिकको दैनिकी थप कठिन बनेको छ। खानेपानी, खाद्यान्न र आश्रयसँगै अहिले उनीहरूका लागि सुरक्षित शौचालय र सरसफाइको व्यवस्था पनि उत्तिकै महत्वपूर्ण बनेको छ।

यही अवस्थालाई ध्यानमा राख्दै श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ नेतृत्वको टोली नुवाकोटको बाढी प्रभावित क्षेत्रमा पुगेको छ। टोलीले राहत तथा उद्धारमा सहयोग गर्नुका साथै प्रभावित नागरिकका लागि अस्थायी शौचालय निर्माणको काम समेत अघि बढाएको छ।

बाढीपछि प्रभावित क्षेत्रमा रहेका शौचालयहरू क्षतिग्रस्त वा प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्। कतिपय परिवार विस्थापित भएर अस्थायी आश्रयस्थल तथा होल्डिङ सेन्टरमा बसिरहेका छन्। यस्तो अवस्थामा खुला ठाउँमा दिसापिसाब गर्नुपर्ने बाध्यता सिर्जना भएमा बाढीको पानीसँगै फैलिएको फोहोर र मानव मलमूत्रका कारण खानेपानीका स्रोत तथा वरपरको वातावरण थप प्रदूषित हुने जोखिम रहन्छ।

साम्पाङको टोलीले बेत्रावती होल्डिङ सेन्टरमा अस्थायी शौचालय निर्माणमा सहयोग गरिरहेको छ। प्रभावित नागरिकलाई तत्काल आवश्यक आधारभूत सुविधा उपलब्ध गराउने उद्देश्यले आवश्यक स्थान पहिचान गरी निर्माणको काम अघि बढाइएको जनाइएको छ।

टोलीमा युवाहरूको सहभागिता रहेको र उद्धार तथा राहतका विभिन्न काममा स्वयंसेवक परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्रमा श्रम संस्कृति पार्टीका करिब ५०/६० जना युवा फिल्डमा परिचालित छन्।

त्यसैले राहतका सामग्रीसँगै सुरक्षित शौचालय, दिसाजन्य लेदो व्यवस्थापन, हात धुने सुविधा र सुरक्षित खानेपानीको व्यवस्था बाढीपछिको तत्कालीन प्राथमिकतामा पर्नुपर्ने सरसफाइ क्षेत्रका जानकारहरू बताउँछन्।

बाढीपछि शौचालय किन यति महत्वपूर्ण ?

बाढीले खानेपानीका मुहान, पाइपलाइन, धारा र शौचालयमा क्षति पुर्‍याउँदा प्रभावित समुदायमा पानीजन्य रोगको जोखिम बढ्ने गर्छ। विशेषगरी अस्थायी शिविर वा होल्डिङ सेन्टरमा धेरै मानिस एकै ठाउँमा बस्दा पर्याप्त शौचालय नहुँदा खुला दिसापिसाबको समस्या बढ्न सक्छ।

यसले दिसाजन्य रोगजन्य जीवाणु पानी, खाना, हात तथा वरपरको वातावरण मार्फत मानिससम्म पुग्ने सम्भावना बढाउँछ। त्यसैले बाढीपछि राहतको अर्थ खाद्यान्न र कपडा उपलब्ध गराउनु मात्र नभई सुरक्षित पानी, शौचालय र स्वच्छताको न्यूनतम मापदण्ड सुनिश्चित गर्नु पनि हो।

राहतसँगै सरसफाइमा पनि ध्यान

बाढी प्रभावित क्षेत्रमा विभिन्न राजनीतिक दल, सरकारी निकाय, सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्वयंसेवक समूहहरू राहत तथा उद्धारमा परिचालित भइरहेका छन्। यस्तो अवस्थामा प्रभावित नागरिकलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउनुका साथै दीर्घकालीन स्वास्थ्य जोखिम घटाउन सरसफाइका संरचना पुनःस्थापना गर्नुपर्ने आवश्यकता पनि उत्तिकै छ।

विशेष गरी विस्थापित परिवारका लागि महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिले समेत सुरक्षित रूपमा प्रयोग गर्न सक्ने शौचालय, पर्याप्त पानी, साबुन तथा हात धुने स्थानको व्यवस्था आवश्यक हुन्छ।

बाढीपछि अस्थायी रूपमा बनाइएका शौचालय पनि सुरक्षित स्थानमा, पानीका स्रोतबाट टाढा र स्थानीय भौगोलिक अवस्थालाई ध्यानमा राखेर निर्माण गर्नुपर्ने हुन्छ। अन्यथा समस्या समाधान गर्ने उद्देश्यले बनाइएको संरचनाले नै पानी तथा वातावरण प्रदूषणको अर्को जोखिम निम्त्याउन सक्छ।

नुवाकोटमा हर्क साम्पाङ नेतृत्वको टोलीले राहतसँगै शौचालय निर्माणलाई प्राथमिकता दिनुले विपद्को समयमा सरसफाइलाई पनि जीवन रक्षाकै आधारका रूपमा लिनुपर्ने सन्देश दिएको छ।

बाढीले भौतिक संरचना भत्काउनुका साथै प्रभावित परिवारको सुरक्षित पानी, शौचालय र स्वच्छता पहुँच समेत खोसिदिन्छ। त्यसैले पुनःस्थापनाको पहिलो चरणमै यी आधारभूत सेवाको पुनःव्यवस्था गर्न सकिएमा बाढीपछि फैलिन सक्ने रोगको जोखिम समेत कम गर्न सकिन्छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार