
काठमाडौं : सेप्टिक ट्यांकीबाट निकालिने फोहोर व्यवस्थापनका लागि सुरक्षित स्थान छनोट गरी तयार गरिएको व्यवस्थापन स्थल कुनै वैकल्पिक व्यवस्था नगरी भत्काएका छन्।
काठमाडौ क्षेत्र नं. २ का सांसद सुनिल केसी र क्षेत्र नं. ३ का सांसद राजु पाण्डे, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, सम्बन्धित स्थानीय तह, प्रहरी प्रशासन तथा स्थानीय बासिन्दाहरूको उपस्थितिमा व्यवसायीहरुले नै निर्माण गरी व्यवस्थापन गर्दै आएको स्थल भत्काएका हुन् ।
विगत तीन दशकदेखि सेप्टिक ट्यांकी सफाइको सेवा प्रदान गर्दै आएका सेवा प्रदायकहरूले राज्यबाट आजसम्म पनि सेप्टिक ट्यांकीबाट निकालिने फोहोरको उचित, वैज्ञानिक र व्यवस्थित व्यवस्थापनका लागि उपयुक्त स्थानको व्यवस्था हुन नसकेको बताएका छन्।
उनीहरूका अनुसार सेप्टिक ट्यांकी सफाइ सेवा सञ्चालन भइरहे पनि त्यसबाट निस्कने दिसाजन्य लेदो कहाँ र कसरी सुरक्षित रूपमा व्यवस्थापन गर्ने भन्ने विषय अझै गम्भीर चुनौतीका रूपमा रहेको छ। राज्यले आवश्यक पूर्वाधार र व्यवस्थापनको व्यवस्था नगरेको अवस्थामा सेवा प्रदायकहरूले आफ्नै पहलमा सुरक्षित स्थान पहिचान गरी फोहोर व्यवस्थापन गर्ने प्रयास गर्दै आएका थिए।
तर, उक्त स्थान समेत कुनै वैकल्पिक व्यवस्था नगरी हटाइएपछि सेप्टिक ट्यांकीबाट निस्कने फोहोर व्यवस्थापनको समस्या झन् जटिल बन्ने उनीहरूको भनाइ छ।

सेवा प्रदायकहरूले कुनै पनि संरचना वा व्यवस्थापन स्थल हटाउनु अघि त्यसबाट जनस्वास्थ्य, वातावरण तथा आम नागरिकमा पर्न सक्ने असर र त्यसको वैकल्पिक व्यवस्थापनका विषयमा आवश्यक अध्ययन तथा योजना बनाउनुपर्ने बताएका छन्।
“संरचना हटाउनु मात्र समस्याको समाधान होइन, त्यसबाट उत्पन्न हुने समस्याको दीर्घकालीन समाधान पनि खोजिनुपर्छ,” सेवा प्रदायकहरूको भनाइ छ।
सेप्टिक ट्यांकीबाट निस्कने दिसाजन्य लेदोको उचित व्यवस्थापन हुन नसक्दा खुला स्थान, नदी तथा जलस्रोतमा फोहोर फालिने वा असुरक्षित रूपमा विसर्जन हुने जोखिम बढ्न सक्ने भएकाले यसलाई जनस्वास्थ्य र वातावरणसँग प्रत्यक्ष जोडिएको विषयका रूपमा लिनुपर्ने उनीहरूको माग छ।
सेप्टिक ट्यांकीबाट निस्कने फोहोरको वैज्ञानिक, सुरक्षित तथा दीर्घकालीन व्यवस्थापनका लागि तत्काल उपयुक्त स्थान र आवश्यक पूर्वाधारको व्यवस्था गर्न सम्बन्धित निकाय समक्ष उनीहरूले आग्रह गरेका छन्।


290 पटक हेरिएको 

