WASH Cluster बैठक : क्षतिग्रस्त खानेपानी आयोजनाको पुनःस्थापना लगायत बिषयमा ४ निर्णय

  वास खबर सम्बाददाता  602 पटक हेरिएको
🔗
1,378
Shares

धादिङ : बाढीपहिरोपछि क्षतिग्रस्त खानेपानी प्रणालीको पुनःस्थापना, सरसफाइ तथा स्वच्छता प्रवर्द्धन र राहत तथा पुनःस्थापना गतिविधिलाई व्यवस्थित बनाउन धादिङको गजुरीमा बसेको WASH Cluster बैठकले चार महत्वपूर्ण निर्णय गरेको छ।

खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा कार्यरत सरकारी निकाय, गैरसरकारी संस्था तथा अन्य सरोकारवालाको सहभागितामा बैठक बसेको हो। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धादिङका प्रमुख सि.डि.इ. दीपक थापाको अध्यक्षतामा बसेको बैठकले बाढीपहिरोपछि खानेपानी, सरसफाइ र स्वच्छता (WASH) क्षेत्रमा भइरहेका कामलाई थप समन्वयात्मक र प्रभावकारी बनाउने निर्णय गरेको छ।

क्षतिग्रस्त खानेपानी आयोजनाको पुनःस्थापनामा समन्वय

बैठकले बाढीपहिरो तथा अन्य विपद्का कारण क्षति भएका खानेपानी आयोजनाको पुनःस्थापनाका लागि स्थानीय तहसँग समन्वय गर्ने निर्णय गरेको छ।

त्यसका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, धादिङ, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, चितवन तथा साझेदार संस्थाहरू (Partner Organizations) को सहयोग र सहकार्यमा खानेपानी तथा सरसफाइसँग सम्बन्धित समस्या समाधान गर्ने निर्णय गरिएको छ।

यसले विपद्पछि क्षतिग्रस्त भएका खानेपानी संरचनाको अवस्था पहिचान, आवश्यक सहयोग र पुनःस्थापनाका कामलाई विभिन्न निकायबीचको समन्वय मार्फत अघि बढाउने आधार तयार गरेको छ।

होल्डिङ सेन्टरमा Hygiene कायम गर्न संयुक्त अभियान

बैठकले WASH क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवालाले सरसफाइ र स्वच्छता क्षेत्रमा समन्वयात्मक रूपमा काम गर्ने निर्णय पनि गरेको छ।

विशेषगरी गोल्जे र रातमाटामा रहेका होल्डिङ सेन्टरहरूमा स्वच्छता तथा सरसफाइ कायम गर्ने विषयलाई प्राथमिकता दिइएको छ। यसका लागि नेपाल रेडक्रस सोसाईटीको नेतृत्वमा शान्ति नेपाल र UNICEF नेपालको सहकार्यमा Hygiene Promotion सम्बन्धी गतिविधि सञ्चालन गर्ने निर्णय भएको छ।

विपद्को समयमा विस्थापित तथा प्रभावित मानिसहरू अस्थायी रूपमा बस्ने होल्डिङ सेन्टरमा सरसफाइ र व्यक्तिगत स्वच्छताको अवस्था कमजोर हुँदा संक्रमणजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले बैठकले यसलाई WASH प्रतिक्रियाको महत्वपूर्ण हिस्साका रूपमा अघि बढाउने निर्णय गरेको देखिन्छ।

WASH गतिविधिको प्रगति नियमित अद्यावधिक र रिपोर्टिङ

बैठकले WASH क्षेत्रमा विभिन्न निकाय तथा संघसंस्थाले सञ्चालन गरिरहेका गतिविधिको प्रगति विवरण नियमित रूपमा अद्यावधिक गर्ने निर्णय गरेको छ।

अद्यावधिक गरिएको विवरणलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) तथा स्थानीय तहमा Reporting गर्ने व्यवस्था मिलाउने निर्णय समेत गरिएको छ। यसबाट विपद्पछिको WASH प्रतिक्रियामा कुन क्षेत्रमा के काम भइरहेको छ, कहाँ थप आवश्यकता छ र उपलब्ध स्रोतलाई कसरी परिचालन गर्ने भन्ने विषयमा एकीकृत जानकारी तयार हुने अपेक्षा गरिएको छ।

बैठकले यसअघि भएका WASH Cluster बैठकका निर्णयहरू कति कार्यान्वयन भए भन्ने अवस्थाको समीक्षा गर्नुका साथै हालसम्म भएका गतिविधि र प्रगतिबारे जानकारी आदानप्रदान गर्ने काम समेत गरेको छ।

यससँगै आगामी दिनमा WASH क्षेत्रमा काम गर्ने सरकारी निकाय, विकास साझेदार, गैरसरकारी संस्था तथा अन्य सरोकारवाला बीच समन्वय, सूचना आदानप्रदान र संयुक्त कार्यान्वयनलाई प्राथमिकता दिने भएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार