
काठमाडौ : बाढी पहिरोपछि उत्पन्न हुनसक्ने संक्रामक रोगको महामारी नियन्त्रण तथा पूर्वतयारीका लागि सरकारले रसुवामा हैजा विरुद्धको २१ हजार डोज खोप पठाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहयोगमा प्राप्त उक्त खोप तथा विभिन्न संक्रामक रोग परीक्षणका लागि आवश्यक हजारौं र्यापिड किट प्रभावित क्षेत्रमा पठाएको हो।
प्रभावित क्षेत्रका केही होल्डिङ सेन्टरहरूमा सुरुवाती चरणमा ज्वरो तथा झाडापखालाका बिरामी फाट्टफुट्ट देखिए पनि अवस्था चिन्ताजनक नरहेको मन्त्रालयले बताएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै आकस्मिक प्रतिकार्यका लागि सबै प्रकारका स्वास्थ्य टोली परिचालन गरिसकिएको मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिनुभयो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार सम्भावित संक्रमणको समयमै पहिचान गर्न प्रभावित क्षेत्रमा डेंगु कम्बो र्यापिड किट १ हजार ५ सय थान, मलेरिया र्यापिड किट १ हजार ५ सय थान, स्क्रब टाइफस र्यापिड किट ८ सय थान, लेप्टोस्पाइरोसिस किट ८ सय थान र इन्फ्लुएन्जा ‘ए’ प्लस ‘बी’ र्यापिड किट १ हजार थान पठाइएको छ।
हालसम्म प्रभावित क्षेत्रमा सामान्य रुघाखोकी र झाडापखाला बाहेक अन्य कुनै जटिल संक्रामक रोगको पुष्टि नभएको महाशाखाले जनाएको छ।
जिल्ला जनस्वास्थ्य अधिकृत कृष्ण रिजालका अनुसार कुनै पनि होल्डिङ सेन्टरमा हालसम्म संक्रामक रोग फैलिएको छैन। आपत्कालीन अवस्थाका लागि सबै किटहरू तयारी अवस्थामा राखिएको बताउँदै उहाँले शुद्धीकरण गरिएको पिउने पानीको प्रयोग र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन स्थानीयलाई सचेत गराइएको बताउनुभयो।
बाढीपछि पानीका स्रोतहरू दूषित हुने र होल्डिङ सेन्टरमा धेरै मानिस एकै ठाउँमा बस्दा संक्रमणको जोखिम उच्च हुने भएकाले बिरामी पर्नु अगावै रोकथाममा जोड दिइएको छ।
होल्डिङ सेन्टर र शौचालयको नियमित सफाइ, सुरक्षित पिउने पानी, लामखुट्टेको टोकाइबाट बच्न झुल तथा औषधिको उचित प्रबन्ध मिलाएर मात्र संक्रामक रोगबाट बच्न सकिने महाशाखाका प्रकोप व्यवस्थापन प्रमुख डा. अमृत पोखरेलले बताउनुभयो।


210 पटक हेरिएको 

