
नुवाकोट : भोटेकोशीमा आएको भीषण बाढीका कारण नुवाकोटको विदुर नगरपालिकामा निर्माणाधीन ‘त्रिशुली बजार ढल निर्माण तथा प्रशोधन आयोजना’ का दुई वटा प्रशोधन केन्द्र (Treatment Plants) का सम्पूर्ण संरचना बगाउँदा करोडौंको नोक्सानी भएको छ।
बाढीले प्रशोधन केन्द्रका भौतिक संरचनाहरू बगाउँदा आयोजनामा कुल ११ करोड ३८ लाख ८२ हजार ४७१ रुपैयाँ ६८ पैसा बराबरको आर्थिक नोक्सानी भएको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुरका प्रमुख पूर्ण प्रसाद उपाध्यायले जानकारी गराउनुभयो ।
कार्यालय प्रमुख उपाध्यायका अनुसार विदुर नगरपालिका वडा नं. १, २, ४ र ९ लाई लक्षित गरी ‘कोलोनी Treatment Plant’ र ‘विदुर Treatment Plant’ नामका दुईवटा प्रशोधन केन्द्रहरू निर्माण भइरहेका थिए। प्रशोधन केन्द्रमा संकलन च्याम्बर, बार स्क्रिन, ग्रिट च्याम्बर, सेटलर, एबीआर, एसडीबी, रिड बेड, कार्यालय भवन, गार्ड हाउस, स्टोन मेसनरी, सेयर वाल, कम्पाउन्ड वाल, ग्याबियन, पाइपलाइन तथा सडक निर्माणलगायतका संरचना समावेश थिए।
बाढीले बगाउनु अघिको ढल प्रशोधन आयोजना हेर्न क्लिक गर्नुहोस् :
कुन आयोजनामा कति क्षति?
कोलोनी Treatment Plant (Colony TP):
यस आयोजना स्थलमा रहेका विभिन्न संरचनाहरू बग्दा कुल ६ करोड ७ लाख १६ हजार ९३३ रुपैयाँ ५५ पैसा बराबरको क्षति भएको छ। यहाँ रहेको कार्यालय भवन (Office Building), सेयर वाल (Shear Wall), ABR र ReedBed जस्ता मुख्य संरचनाहरू बाढीले क्षति पुर्याएको छ।
विदुर Treatment Plant (Bidur TP):
यस प्रशोधन केन्द्रतर्फ कुल ५ करोड ३१ लाख ६५ हजार ५३८ रुपैयाँ १३ पैसा बराबरको भौतिक संरचना बगेर नष्ट भएको छ।
प्रमुख संरचनामा भएको क्षतिको विवरण:
बाढीका कारण आयोजनाका १५ वटा विभिन्न भौतिक संरचना तथा पूर्वाधारहरूमा क्षति पुगेको छ:
• ABR (Anaerobic Baffled Reactor): दुवै आयोजनामा गरी सबैभन्दा बढी रु. २ करोड ७० लाख ८८ हजार २६.६६ बराबरको क्षति।
• ReedBed: रु. १ करोड ७४ लाख ३४ हजार ३९० बराबरको क्षति।
• सडक पूर्वाधार (Road Works): रु. १ करोड ५ लाख ६४ हजार ३७६.२० बराबरको क्षति।
• ग्याबियन र मेसिनरी पर्खाल (Stone Masonry & Compound Wall): रु. १ करोड ८२ लाखभन्दा बढीको क्षति।
• पाइपलाइन तथा कलेक्सन च्याम्बर: रु. १ करोड ४९ लाखभन्दा बढीको क्षति।
• कार्यालय तथा गार्ड हाउस: रु. ८४ लाख भन्दा बढीको नोक्सानी।

निर्माण पूरा नहुँदै बाढीको प्रहार
‘गौरी पार्वती / गलिभर वर्ल्ड जेभी, काठमाडौं’ (Gauri Parvati/ Gulliver World JV, Kathmandu) ले निर्माणको ठेक्का पाएको यो आयोजनाको ठेक्का सम्झौता वि.सं. २०८० असार ८ गते भएको थियो।
ठेक्का सम्झौता अनुसार आयोजनाको काम वि.सं. २०८३ पुस १ गते भित्र सम्पन्न गरिसक्नुपर्ने लक्ष्य राखिएको थियो।

निर्माण कार्य निर्माण कार्य सकिनै लाग्दा भोटेकोशीको अप्रत्याशित बाढीले भौतिक संरचनाहरू बगाएपछि आयोजनाको भविष्य अन्योलमा परेको छ।


190 पटक हेरिएको 

