स्वास्थ्य तथा स्वच्छता सुधारका लागि ब्यवहार परिवर्तन संचार कार्य योजना बनाउँदै स्थानीय तह

  वास खबर सम्बाददाता  285 पटक हेरिएको
🔗
145
Shares

काठमाडौं : खानेपानी तथा सरसफाइ सम्बन्धी पूर्वाधार निर्माण सँगै समुदायको व्यवहारमा दिगो परिवर्तन ल्याउने उद्देश्यले सबैका लागि दिगो खानेपानी तथा सरसफाइ (सुस्वा) आयोजना अन्तर्गत स्थानीय तहमा व्यवहार परिवर्तन सञ्चार कार्य योजना तयार गरिँदैछ।

सुस्वा आयोजनाले खानेपानी, सरसफाइ तथा स्वच्छतासँग सम्बन्धित व्यवहारलाई लक्षित गर्दै तयार गरेको कार्ययोजना ढाँचामा स्थानीय तहले आफ्नो क्षेत्रमा देखिएका व्यवहारगत समस्या पहिचान गरी प्राथमिकताका आधारमा परिवर्तन गर्नुपर्ने व्यवहार निर्धारण गर्ने व्यवस्था गरिएको छ।

यसअघि तयार गरी कार्यान्वयन गरिएको व्यवहार परिवर्तन सम्बन्धी कार्ययोजनाबाट हासिल उपलब्धि तथा कार्यान्वयनका क्रममा देखिएका सुधार गर्नुपर्ने पक्षको समीक्षा गरेर नयाँ कार्ययोजना तयार गरिने सुस्वाका सरसफाइ तथा स्वच्छता विज्ञ गोविन्दराज रोकायाले बताउनुभयो। यसले विगतका गतिविधिबाट सिकाइ लिँदै आगामी अवधिमा कुन व्यवहारलाई प्राथमिकतामा राख्ने भन्ने आधार तयार गर्ने उहाँले बताउनुभयो।

प्रमाणका आधारमा व्यवहार छनोट

सुस्वाको व्यवहार परिवर्तन सञ्चार कार्ययोजनामा स्थानीय तहमा विभिन्न समयमा गरिएको अनुगमन, तथ्यांक, प्रत्यक्ष अवलोकन तथा प्राप्त सुझावका आधारमा व्यवहार प्राथमिकता निर्धारण गर्नुपर्ने उल्लेख छ। प्राथमिकतामा राखिएको व्यवहार किन छनोट गरिएको हो भन्ने आधारसमेत स्पष्ट गर्नुपर्नेछ।

त्यसपछि लक्षित व्यवहारसँग सम्बन्धित लक्षित व्यक्ति तथा समुदाय पहिचान गरी उक्त व्यवहार परिवर्तनमा रहेका बाधा, स–साना संकेत तथा उत्प्रेरणा, सामाजिक नियम तथा मान्यता र अनुकूल वातावरण निर्माण गर्ने उपायको विश्लेषण गरिनेछ। आवश्यकता अनुसार सूचना, शिक्षा तथा सञ्चार सामग्रीको समेत पहिचान गरिनेछ।

सुस्वाका सरसफाइ तथा स्वच्छता विज्ञ गोविन्दराज रोकायाले व्यवहार परिवर्तन सञ्चारलाई समुदायमा सूचना प्रवाह गर्ने मात्र नभई मानिसको दैनिक अभ्यासमा परिवर्तन ल्याउने योजनाका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो।

“खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा पूर्वाधार निर्माणसँगै त्यसको सही प्रयोग र दिगोपनका लागि मानिसको व्यवहारमा परिवर्तन आवश्यक हुन्छ। त्यसैले व्यवहार परिवर्तन सञ्चार कार्ययोजनाले कुन व्यवहार परिवर्तन गर्नुपर्ने हो, त्यसमा के–कस्ता बाधा छन् र समुदायलाई त्यो व्यवहार अपनाउन कसरी उत्प्रेरित गर्ने भन्ने कुरा स्थानीय अवस्थाका आधारमा स्पष्ट गर्नुपर्छ,” रोकायाले भन्नुभयो।

गतिविधिदेखि अनुगमनसम्म

कार्ययोजनामा लक्षित व्यवहारलाई अवलोकन गर्न सकिने गरी स्पष्ट रूपमा तोक्नुपर्ने व्यवस्था गरिएको छ। उदाहरणका रूपमा जोखिमपूर्ण समयमा साबुनपानीले हात धुने व्यवहारका लागि घरधुरी भेटघाट, आमा समूहसँग छलफल तथा व्यवहार अनुगमनजस्ता गतिविधि सञ्चालन गर्न सकिने उल्लेख छ।

त्यस्तै, परिवारका सबै सदस्यले नियमित रूपमा शौचालय प्रयोग गर्ने व्यवहारका लागि घरधुरी भेट तथा समूह छलफल, विद्यमान विश्वास तथा सामाजिक मान्यतालाई सम्बोधन गर्ने र मासिक रूपमा घरधुरी अनुगमन गर्ने गतिविधि राख्न सकिने दस्तावेजमा उल्लेख छ।

व्यवहार परिवर्तन सञ्चार कार्ययोजनाको कार्यान्वयनमा वास संयोजक, सामाजिक परिचालक, स्थानीय स्रोत व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, पूर्ण सरसफाइ कार्यदल, वडा तथा पालिकाको भूमिका रहने व्यवस्था गरिएको छ। कार्यान्वयनसँगै पृष्ठपोषण, अनुगमन तथा प्रतिवेदनको जिम्मेवारी समेत निर्धारण गर्नुपर्नेछ।

व्यवहार परिवर्तनलाई कागजमा मात्र सीमित नराखी देखिने र मापन गर्न सकिने सूचक मार्फत अनुगमन गर्ने व्यवस्था कार्ययोजनामा गरिएको छ। साबुन र पानीसहितको हात धुने स्थानको उपलब्धता, परिवारका सबै सदस्यले शौचालय प्रयोग गरेको प्रमाण तथा सुरक्षित रूपमा खानेपानी भण्डारण गरिएको अवस्थालाई अनुगमनका सूचकका रूपमा राखिएको छ।

व्यवहार परिवर्तन सञ्चार कार्ययोजनाले स्थानीय तहमा कुन व्यवहार परिवर्तन गर्ने, कसलाई लक्षित गर्ने, त्यसका लागि के गतिविधि सञ्चालन गर्ने र परिवर्तन भए/नभएको कसरी मापन गर्ने भन्ने विषयलाई एउटै योजनामा व्यवस्थित गर्नेछ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार