
सप्तरी : प्लास्टिकजन्य तथा अन्य फोहोर सामग्री सामान्यतया प्रयोगपछि फालिन्छन् । तर सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–१ जन्डोलस्थित श्री ठाकुरजी माध्यमिक विद्यालयका विद्यार्थीले भने त्यही फोहोर सामग्रीलाई सिर्जनाको माध्यम बनाएका छन् ।
विश्व सरसफाइ दिवस तथा शून्य उत्सर्जन दिवसको अवसरमा सोमबार विद्यालयमा प्लास्टिकजन्य तथा फोहोर सामग्रीबाट हस्तकला र चित्रकला प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता मार्फत विद्यार्थीमा फोहोरको उचित व्यवस्थापन, पुनःप्रयोग र वातावरण संरक्षण सम्बन्धी व्यवहार विकास गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ ।
विश्व सरसफाइ दिवसको अवसरमा आयोजना गरिएको वेस्ट प्लास्टिक/मटेरियल आर्ट प्रतियोगितामा विद्यार्थीले प्लास्टिकजन्य तथा अन्य फालिने सामग्रीको प्रयोग गरी विभिन्न हस्तकला सामग्री निर्माण गरेका थिए । प्रतियोगितामा दुई दर्जनभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा सिर्जना मेहता प्रथम हुनुभयो । साहिन खातुन द्वितीय र निशा मेहता तृतीय हुनुभयो । त्यस्तै, इको क्लबको लोगो डिजाइन प्रतियोगितामा कक्षा ९ की गायत्री कुमारी चौधरी प्रथम हुनुभयो ।

उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई सरसफाइ सामग्री, स्टेशनरी तथा मेडल प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई पनि सरसफाइ सामग्री तथा स्टेशनरी प्रदान गरिएको आयोजकले जनाएको छ । हरित विद्यालयको चित्र प्रदर्शन गर्ने तीनजना छात्रालाई समेत पुरस्कार प्रदान गरिएको थियो ।
महुली सामुदायिक विकास केन्द्र, बकधुवाको प्राविधिक सहयोगमा विद्यालयको सयपत्री इको क्लब र नवोदिप बाल क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा Welthungerhilfe (WHH), BMZ लगायतको सहयोग रहेको थियो ।

प्रतियोगितामा महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रभुनारायण चौधरी, विद्यालयका शिक्षक श्याम चौधरी र शिक्षिका बविता चौधरीले मूल्याङ्कनकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका शिक्षा शाखा प्रमुख फिरोज कटवाल, महुली सामुदायिक विकास केन्द्रका अध्यक्ष ललित प्रसाद चौधरी, कार्यकारी निर्देशक प्रभुनारायण चौधरी, सहनिर्देशक चन्द्रनारायण चौधरी, पत्रकार बृजमान तामाङ, विद्यालयका प्रधानाध्यापक कामेश्वर मण्डल, सहयोगी संस्थाका प्रतिनिधि, शिक्षक तथा कर्मचारीहरूको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख फिरोज कटवाल, महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रभुनारायण चौधरी, पत्रकार बृजमान तामाङ र विद्यालय व्यवस्थापन समितिकी सदस्य गिर्जा चौधरीले विद्यालयमा आयोजना हुने यस्ता सिर्जनात्मक गतिविधिले विद्यार्थीमा वातावरण संरक्षण तथा सरसफाइ सम्बन्धी चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।
विद्यार्थी मार्फत समुदायमा समेत सरसफाइ सम्बन्धी सकारात्मक सन्देश प्रवाह हुने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।
कार्यक्रममा विद्यार्थीले फोहोर तथा प्लास्टिकजन्य सामग्रीबाट निर्माण गरेका विभिन्न हस्तकलाका सामग्री, लोगो, चित्रकला तथा हरित विद्यालय सम्बन्धी चित्र प्रदर्शन गरेका थिए । विश्व सरसफाइ दिवसकै अवसरमा बकधुवा टोलमा संयुक्त सरसफाइ कार्यक्रम समेत गरिएको महुली सामुदायिक विकास केन्द्रका इन्जिनियर तथा कार्यक्रम सहजकर्ता ओमप्रकाश पण्डितले जानकारी दिनुभयो ।


180 पटक हेरिएको 

