सेप्टिक ट्यांकीको लेदो व्यवस्थापनमा विकल्प खोजिँदै, विकल्प बिना सांसदकै निर्देशनमा व्यवस्थापन स्थल भत्काएपछि समस्या विकराल

  वास खबर सम्बाददाता  230 पटक हेरिएको
🔗
261
Shares

काठमाडौं : काठमाडौं उपत्यकामा सेप्टिक ट्यांकी सफाइ सेवाबाट संकलन हुने दिसाजन्य लेदो व्यवस्थापनका लागि तत्कालीन वैकल्पिक स्थानको खोजी गर्नुपर्ने भएको छ।

निर्माणाधीन दिसाजन्य लेदो प्रशोधन केन्द्र सञ्चालनमा आउन अझै करिब ८ देखि ९ महिना लाग्ने भएपछि उक्त अवधिसम्म सेप्टिक ट्यांकी सफाइ सेवा अवरुद्ध हुन नदिन संक्रमणकालीन व्यवस्थापनको आवश्यकता देखिएको हो।

यसै विषयमा मंगलबार पूर्वाधार विकास मन्त्रालयमा मन्त्रालयका सचिव राजेन्द्र बमको उपस्थितिमा सेप्टिक ट्यांकीबाट निस्कने दिसाजन्य लेदो व्यवस्थापन तथा सेप्टिक ट्यांकी सफाइ सेवा सञ्चालनका सम्बन्धमा छलफल भएको हो ।

सेप्टिक ट्यांकीबाट निस्कने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थान तथा दीर्घकालीन व्यवस्थापनको व्यवस्था गरिदिन सेप्टिक ट्यांकी सफाइ व्यवसायी समूहले पूर्वाधार विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएपछि मन्त्रालयले यस बिषयमा तदारुकता देखाउन थालेको हो । काठमाडौं क्षेत्र नं. २ र ३ का सांसदहरुको निर्देशनमा सांसद आफै उपस्थित भएर अस्थायी व्यवस्थापन स्थल भत्काएपछि समस्या विकराल बनेको हो ।

बैठकमा मन्त्रीका सल्लाहकार डा. सञ्जीव विक्रम राणा, सिनियर डिभिज्नल इन्जिनियर योगेन्द्र चित्रकार, वसिनियर डिभिज्नल इन्जिनियर प्रभात श्रेष्ठ, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति तथा सेप्टिक ट्यांकी सफाइ व्यवसायीका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो।

छलफलमा सेप्टिक ट्यांकी सफाइ सेवा नागरिकका लागि अत्यावश्यक सेवा भएकाले यसको नियमित सञ्चालनमा अवरोध आउन नदिन तत्काल आवश्यक व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ। सेवा अवरुद्ध हुँदा सेप्टिक ट्यांकी भरिने, घरपरिवार तथा संस्थाले समयमा सफाइ सेवा नपाउने र दिसाजन्य लेदो सुरक्षित रूपमा व्यवस्थापन हुन नसक्दा जनस्वास्थ्य तथा वातावरणमा थप जोखिम निम्तिन सक्ने विषयमा छलफल भएको थियो।

प्रशोधन केन्द्र सञ्चालनमा आउन अझै ८–९ महिना

सरकारको तर्फबाट निर्माणाधीन दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण सम्पन्न हुन अझै करिब ८ देखि ९ महिना लाग्न सक्ने जानकारी बैठकमा गराइएको थियो। निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीबाट निर्धारित समयभन्दा बढी समय लागिरहेको विषयसमेत बैठकमा उठेको थियो।

प्रशोधन केन्द्र निर्माणमा भइरहेको ढिलाइलाई ध्यानमा राख्दै निर्माण कार्य यथासम्भव छिटो सम्पन्न गराउन सम्बन्धित निकाय तथा निर्माण कम्पनीसँग आवश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता सरकारी पक्षबाट व्यक्त गरिएको छ।

तर प्रशोधन केन्द्र सञ्चालनमा नआउँदासम्म सेप्टिक ट्यांकी सफाइबाट संकलित दिसाजन्य लेदो कहाँ र कसरी सुरक्षित रूपमा व्यवस्थापन गर्ने भन्ने तत्कालीन समस्या भने कायमै छ।

व्यवस्थापन स्थल हटेपछि व्यवसायी समस्यामा

छलफलका क्रममा हाल प्रयोग हुँदै आएको दिसाजन्य लेदो व्यवस्थापन स्थल हटाइएको विषयसमेत उठाइएको थियो। उक्त व्यवस्थापन स्थल हटाउने क्रममा काठमाडौं क्षेत्र नं. २ र ३ का निर्वाचित प्रतिनिधिहरूको समेत उपस्थिति रहेको जानकारी बैठकमा गराइएको थियो।

अब निर्माणाधीन प्रशोधन केन्द्र सञ्चालनमा आउन करिब ८ देखि ९ महिना लाग्ने अवस्थामा उक्त अवधिसम्म सेप्टिक ट्यांकी सफाइ सेवा कसरी निरन्तर सञ्चालन गर्ने र संकलित दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापन कसरी गर्ने भन्ने विषयलाई बैठकमा गम्भीरतापूर्वक उठाइएको थियो।

मन्त्रालयका सचिव राजेन्द्र बमले तत्कालीन समस्या समाधानका लागि राजनीतिक तहमा समेत छलफल र समन्वय आवश्यक रहेको बताउनुभयो।

व्यवस्थापन स्थल हटाउने कार्यमा काठमाडौं क्षेत्र नं. २ र ३ का निर्वाचित प्रतिनिधिहरूको समेत उपस्थिति रहेको सन्दर्भमा प्रशोधन केन्द्र सञ्चालनमा नआएसम्मको संक्रमणकालीन अवधिका लागि वैकल्पिक व्यवस्थापनको विषयमा सम्बन्धित प्रतिनिधिहरूसँग छलफल गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो।

‘सेवा रोकिँदा लेदो व्यवस्थापन झन् जोखिमपूर्ण हुन सक्छ’

बैठकमा सेप्टिक ट्यांकी सफाइ सेवा अवरुद्ध हुँदा समस्या समाधान हुनुको सट्टा थप जटिल बन्न सक्ने विषयमा समेत छलफल भएको थियो। समयमै सेप्टिक ट्यांकी सफाइ हुन नसके घर, व्यवसाय तथा संस्थामा सरसफाइ सम्बन्धी समस्या उत्पन्न हुनुका साथै संकलित दिसाजन्य लेदो सुरक्षित रूपमा व्यवस्थापन गर्ने प्रणाली कमजोर हुन सक्ने जोखिम रहेको सहभागीहरूले औँल्याउनुभएको थियो।

त्यसैले प्रशोधन केन्द्र सञ्चालनमा नआउँदासम्मको अवधिलाई लक्षित गरी सम्बन्धित मन्त्रालय, स्थानीय तह, निर्वाचित जनप्रतिनिधि, बागमती सभ्यता एकीकृत विकास समिति तथा सेप्टिक ट्यांकी सफाइ व्यवसायीबीच समन्वय गरी सुरक्षित संक्रमणकालीन व्यवस्थापनको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ।

दीर्घकालीन रूपमा भने निर्माणाधीन दिसाजन्य लेदो प्रशोधन केन्द्रको निर्माण शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउनुपर्ने बैठकको निष्कर्ष छ। प्रशोधन केन्द्र सञ्चालनमा आएपछि सेप्टिक ट्यांकी सफाइबाट संकलित दिसाजन्य लेदोलाई व्यवस्थित रूपमा प्रशोधन गरी सुरक्षित व्यवस्थापन गर्ने आधार तयार हुने अपेक्षा गरिएको छ।

काठमाडौं उपत्यकामा सेप्टिक ट्यांकीमा निर्भर घर तथा संस्थाको संख्या उल्लेख्य रहेकाले यसको सफाइ सेवा र दिसाजन्य लेदो व्यवस्थापनलाई सहरी सरसफाइ तथा जनस्वास्थ्यको नियमित सेवाका रूपमा व्यवस्थित गर्नुपर्नेमा बैठकमा जोड दिइएको छ।

सेप्टिक ट्यांकी सफाइ व्यवसायी समूहका मागहरु : 

१. काठमाडौं उपत्यका तथा आसपासका जिल्लाबाट संकलन हुने दिसाजन्य लेदो व्यवस्थापनका लागि तत्काल वैकल्पिक तथा सुरक्षित स्थानको व्यवस्था गरियोस्।

२. दैनिक करिब १५० घन मिटर वा सोभन्दा बढी क्षमतामा डिस्लज व्यवस्थापन तथा प्रशोधन गर्न सक्ने वैज्ञानिक तथा वातावरणमैत्री Fecal Sludge/Disludge Management Facility स्थापना गर्ने प्रक्रिया तत्काल अघि बढाइयोस्।

३. मानव बस्ती, नदी-खोला तथा जलस्रोतबाट उपयुक्त दूरीमा रहने गरी प्राविधिक तथा वातावरणीय अध्ययनका आधारमा स्थायी व्यवस्थापन स्थल पहिचान गरियोस्।

४. विद्यमान संरचना हटाउने वा बन्द गर्ने निर्णय गर्नुअघि वैकल्पिक व्यवस्थापनको सुनिश्चितता, प्राविधिक अध्ययन तथा सरोकारवालासँग आवश्यक समन्वय गरियोस्।

५. सेप्टिक ट्यांकी सफाइ, दिसाजन्य लेदो संकलन, ढुवानी, प्रशोधन तथा अन्तिम व्यवस्थापनका लागि सम्बन्धित सरकारी निकायहरूको स्पष्ट जिम्मेवारी र समन्वय संयन्त्र निर्धारण गरियोस्।

६. निजी क्षेत्रबाट लामो समयदेखि प्रदान हुँदै आएको सेप्टिक ट्यांकी सफाइ सेवालाई सहरी सरसफाइ तथा जनस्वास्थ्यसँग जोडिएको अत्यावश्यक सेवाका रूपमा व्यवस्थित गर्दै सुरक्षित डिस्लज व्यवस्थापनका लागि व्यवसायी तथा सम्बन्धित सरोकारवालासँग सहकार्य गरियोस्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार