
काठमाडौं : प्रतिनिधिसभामा फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफल अघि बढेको छ। विधेयकमाथिको छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले फोहोरमैला व्यवस्थापनमा हुने राजनीतिको अन्त्य गर्नुपर्ने बताउनुभएको छ।
प्रतिनिधिसभाको छलफलमा उहाँले फोहोरमैला व्यवस्थापन सबैको साझा सरोकारको विषय भएकाले यसमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो।
“फोहोरमैलामा हुने राजनीतिको अन्त्य हुनुपर्दछ। यो कुरा सबैको कुरा हो,” उहाँले भन्नुभयो। तर, फोहोरमैला व्यवस्थापनमा कस्तो किसिमको राजनीति भइरहेको छ भन्ने विषयमा भने उहाँले थप व्याख्या गर्नुभएन।
सांसद न्यौपानेले काठमाडौं उपत्यकाबाट संकलन हुने फोहोर सिसडोल र बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको उल्लेख गर्दै त्यहाँका स्थानीय बासिन्दाको स्वास्थ्य अवस्थाप्रति पनि गम्भीर हुनुपर्ने बताउनुभयो।
“त्यहाँका नागरिकको पनि त स्वास्थ्य होला नि? हामीले यसलाई हेरेका छैनौँ,” उहाँले भन्नुभयो।
नेपालको संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले सिसडोल र बञ्चरेडाँडाका नागरिक फोहोरका कारण स्वास्थ्य समस्या भोग्नुपरे पनि उपचारको पर्याप्त पहुँच नपाएको विषय उठाउनुभयो।
फोहोरमैला व्यवस्थापनलाई आम्दानीको स्रोतका रूपमा विकास गर्ने उद्देश्यसहित विधेयक अघि बढाइएको उल्लेख गर्दै उहाँले विधेयकको समर्थन गर्नुभयो। तर, त्यसका लागि सरकारले फोहोरको वैज्ञानिक तथा व्यवस्थित व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो।
फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन संघीय सरकारमा छुट्टै मन्त्रालय स्थापना गर्नुपर्ने प्रस्ताव समेत उहाँले राख्नुभयो।
“पूर्वाधार मन्त्रालयले विकास निर्माण हेर्ने कि फोहोरमैला हेर्ने?” उहाँले प्रश्न गर्दै भन्नुभयो, “त्यसैले वातावरण प्रदूषण रोकथाम तथा फोहोरमैला व्यवस्थापन मन्त्रालय नयाँ भयो र यसले यो हेर्यो भने मानव जीवन बच्छ भन्ने मलाई लाग्छ।”
फोहोरमैला व्यवस्थापन सम्बन्धी विधेयक माथिको छलफलका क्रममा सांसद न्यौपानेले फोहोर व्यवस्थापनसँगै फोहोर प्रभावित समुदायको स्वास्थ्य र वातावरणीय अधिकारलाई पनि कानुनले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको हो।
फोहोर व्यवस्थापनलाई जनस्वास्थ्यसँग जोडेर हेर्नुपर्छ : सांसद न्यौपाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले फोहोरमैला व्यवस्थापनलाई केवल सरसफाइको विषयका रूपमा नभई जनस्वास्थ्य, वातावरण संरक्षण र सभ्य समाज निर्माणसँग जोडिएको गम्भीर विषयका रूपमा लिनुपर्ने बताउनुभएको छ।
प्रतिनिधिसभामा फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद न्यौपानेले बढ्दो शहरीकरण र जनसंख्या वृद्धिसँगै फोहोरको मात्रा बढ्दै गए पनि त्यसअनुसार व्यवस्थापन प्रणाली प्रभावकारी बन्न नसकेको बताउनुभयो।
जथाभावी फालिने फोहोरले मानव स्वास्थ्य, खानेपानीका स्रोत, वातावरण तथा प्राकृतिक सम्पदामा नकारात्मक असर पारिरहेको उल्लेख गर्दै उहाँले स्रोतमै फोहोर वर्गीकरण, पुनः प्रयोग र वैज्ञानिक व्यवस्थापन प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

“हामी नीति निर्माणमा जति सक्रिय छौँ, कार्यान्वयनमा त्यति नै प्रभावकारी हुन आवश्यक छ,” उहाँले भन्नुभयो। विधेयकलाई कार्यान्वयन र त्यसबाट प्राप्त हुने व्यवहारिक परिणामलाई केन्द्रमा राखेर अघि बढाउनुपर्ने उहाँको सुझाव थियो।
प्रस्तावित विधेयकमा पुरस्कार तथा जरिवानासहित दण्डको व्यवस्था गरिनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै उहाँले जरिवाना प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
सांसद न्यौपानेले परम्परागत रूपमा फोहोर थुपार्ने प्रणालीबाट बाहिर निस्केर आधुनिक प्रविधिमा आधारित स्यानिटरी ल्याण्डफिल साइट, फोहोर प्रशोधन केन्द्र, कम्पोस्ट प्लान्ट, बायोग्यास प्लान्ट र फोहोरबाट ऊर्जा उत्पादनजस्ता प्रणाली विकास गर्नुपर्ने बताउनुभयो। ढल व्यवस्थापन र डिजिटल प्रणालीलाई समेत फोहोरमैला व्यवस्थापनसँग जोडेर अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।
स्थानीय तहलाई फोहोर सङ्कलन, प्रशोधन, ऊर्जा उत्पादन, ल्याण्डफिल साइट तथा आवश्यक पूर्वाधार व्यवस्थापनको जिम्मेवारी दिइएको उल्लेख गर्दै उहाँले फोहोर व्यवस्थापनमा सरकारसँगै नागरिक, समुदाय, निजी क्षेत्र र सहकारीको सहकार्य आवश्यक रहेको बताउनुभयो।
उहाँले घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याउने, सार्वजनिक स्थानमा फोहोर नफाल्ने, प्लास्टिकको प्रयोग घटाउने तथा सरसफाइलाई दैनिक व्यवहार र संस्कारका रूपमा विकास गर्नुपर्नेमा समेत जोड दिनुभयो।
भक्तपुरबाट सिकेर फोहोरलाई मोहोर बनाउन सांसद अवालको सुझाव
नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालले फोहोरमैला व्यवस्थापनलाई आम्दानीसँग जोड्न भक्तपुर नगरपालिकाको अभ्यासबाट सिक्न सरकारलाई सुझाव दिनुभएको छ। उहाँले भक्तपुर नगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गरी कुहिने फोहोरबाट प्राङ्गारिक मल उत्पादन गर्दै आम्दानी गरिरहेको बताउनुभयो।

प्रतिनिधिसभामा फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद अवालले फोहोरलाई स्रोतका रूपमा प्रयोग गर्ने अभ्यास अन्य स्थानीय तहमा पनि विस्तार गर्नुपर्ने बताउनुभयो।
“भक्तपुर नगरपालिकामा कुहिने, नकुहिने फोहोर छुट्टाछुट्टै उठाउँछ। छुट्टाछुट्टै गाडीमा उठाउँछ। त्यसको अर्गानिक मल बनाएर भक्तपुर नगरपालिकाले मोहोर बनाइरहेको छ, आम्दानी गरिरहेको छ,” उहाँले भन्नुभयो।
भक्तपुर नगरपालिकाको फोहोर व्यवस्थापन प्रणालीको स्थलगत अध्ययन गर्नसमेत उहाँले सरकारलाई आग्रह गर्नुभयो। “एकपटक भक्तपुर नगरपालिकामा गएर यो हेर्नुभयो भने राम्रै होला,” उहाँले सरकारलाई सुझाव दिनुभयो।
संघीय सरकारले समेत फोहोरबाट आम्दानी गर्ने उद्देश्यसहित विधेयक अघि बढाएको उल्लेख गर्दै सांसद अवालले नेपालभित्रै भइरहेका सफल अभ्यासलाई कानुनी तथा नीतिगत व्यवस्थासँग जोड्नुपर्नेमा जोड दिनुभयो।
प्रस्तावित विधेयकमा ‘चक्रीय अर्थतन्त्र’ को अवधारणालाई समेटिएको छ। विधेयकले स्रोत तथा सामग्रीलाई लामो समयसम्म प्रयोग, पुनःप्रयोग, पुनःउत्पादन तथा मर्मत गर्दै फोहोर तथा अवयवको उत्सर्जन न्यून गर्ने आर्थिक प्रणालीलाई चक्रीय अर्थतन्त्रका रूपमा परिभाषित गरेको छ।
त्यस्तै, सङ्कलित फोहोरलाई प्रविधिको प्रयोगमार्फत कच्चा पदार्थ वा उपयोगी वस्तुका रूपमा विकास गरी पुनःप्रयोगमा ल्याउने कार्यलाई ‘चक्रीय प्रयोग’ का रूपमा समेटिएको छ।
सांसद अवालले विधेयकको कार्यान्वयनका क्रममा नेपालमै रहेका सकारात्मक अभ्याससँगै अन्य मुलुकका अनुभवसमेत अध्ययन गरी फोहोरको पुनःप्रयोग, प्रशोधन र त्यसबाट आर्थिक लाभ सिर्जना गर्ने प्रणाली विकास गर्नुपर्ने बताउनुभएको हो।


168 पटक हेरिएको 

