वर्षाका कारण काठमाडौंमा फोहोर संकलन प्रभावित, घर बाहिर ननिकाल्न महानगरको अनुरोध

  वास खबर सम्बाददाता  161 पटक हेरिएको
🔗
99
Shares

काठमाडौं : अविरल वर्षाका कारण काठमाडौं महानगरपालिकाले केही समयका लागि फोहोर संकलन तथा ढुवानी प्रभावित हुन सक्ने जनाएको छ। फोहोर ढुवानी गर्ने सडक तथा ल्यान्डफिल साइटमा माथिबाट लेदो तथा माटो खसिरहेका कारण फोहोर व्यवस्थापनमा असहजता उत्पन्न भएको महानगरपालिकाले जनाएको हो।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै वर्षाका कारण फोहोर संकलन तथा ढुवानी कार्य केही समय प्रभावित हुन सक्ने भएकाले महानगरवासी, घरधनी, व्यवसायी तथा सम्बन्धित सबैलाई सहयोग गर्न अनुरोध गरेको छ।

महानगरपालिकाले घर, पसल, व्यवसाय तथा कम्पाउन्डबाट निस्कने फोहोर सडक, चोक, सार्वजनिक स्थान, खोला–नाला वा अन्य खुला स्थानमा नफाल्न आग्रह गरेको छ। फोहोर संकलन नियमित हुन नसक्ने अवधिसम्म सम्भव भएसम्म घर तथा परिसरभित्रै सुरक्षित रूपमा राख्न महानगरपालिकाले अनुरोध गरेको छ।

त्यस्तै, कुहिने तथा जैविक फोहोर र नकुहिने फोहोर छुट्टाछुट्टै सुरक्षित रूपमा व्यवस्थापन गर्न पनि महानगरपालिकाले आग्रह गरेको छ।

सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानी निकासमा समेत बाधा पुग्न सक्ने भएकाले विशेष सावधानी अपनाउन महानगरले अनुरोध गरेको छ।

महानगरपालिकाका अनुसार वर्षा तथा ल्यान्डफिल साइटको अवस्था सामान्य भएपछि फोहोर संकलन तथा ढुवानी सेवा नियमित रूपमा सञ्चालन गरिनेछ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार