नुवाकोट : बाढीले घरखेत र सम्पत्ति बगाएपछि आश्रयको खोजीमा होल्डिङ सेन्टर पुगेका रसुवाका बाढीपीडितको दुःख पानीमा पुगेर रोकिएको छैन। अस्थायी आश्रयस्थलमा बसिरहेका उनीहरूलाई अहिले पिउने पानीदेखि सरसफाइका लागि आवश्यक पानी जुटाउनसमेत कठिन भइरहेको छ।
विदुर नगरपालिका–५ बाणाफाँटास्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका रसुवाको उत्तरगया गाउँपालिका–१ खाल्टेका बाढीपीडितहरू पानी लिन करिब एक घण्टा पैदल हिँड्नुपर्ने बाध्यतामा छन्। बाढीले घरखेत गुमाएर विस्थापित भएका परिवारका लागि पानीको अभावले अस्थायी बसाइ झनै कष्टकर बनेको छ।
“बाढीले घरखेत सबै बगायो। आफन्तसहित विस्थापित भएर यहाँ आएर बसेका छौँ। अहिले पानीका लागि पनि टाढा जानुपर्छ,” होल्डिङ सेन्टरमा बस्दै आएकी श्रीमाया तामाङले भन्नुभयो।
७२ वर्षीय वीरबहादुर तामाङका लागि पानीको अभाव झनै कठिन बनेको छ। उहाँका अनुसार शौचालय प्रयोग गरेपछि हात धुनसमेत पर्याप्त पानी हुँदैन।
“घरखेत बाढीले लग्यो, विस्थापित भएर यहाँ आएका छौँ। अहिले पानी लिनसमेत टाढा जानुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो।
भदौ १० गते भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले रसुवाका विभिन्न स्थानमा ठूलो क्षति पुर्याएपछि विस्थापित भएका परिवार बाणाफाँटास्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका छन्। घरबार गुमाएका परिवारका लागि सुरक्षित आश्रयस्थल त बनाइएको छ, तर त्यहाँको खानेपानी व्यवस्थापन भने पर्याप्त हुन सकेको छैन।
होल्डिङ सेन्टरमा रहेका २६ परिवारका लागि ५०० लिटर क्षमताका पानी ट्याङ्की राखिएका छन्। तर ट्याङ्कीमा नियमित पानी भर्ने तथा आपूर्ति गर्ने व्यवस्था नहुँदा त्यसले दैनिक आवश्यकताका लागि पर्याप्त पानी धान्न सकेको छैन।
पिउने पानीसँगै खाना पकाउन, हात धुन, शौचालय प्रयोगपछि सरसफाइ गर्न तथा अन्य घरेलु प्रयोजनका लागि पानी आवश्यक पर्ने भए पनि पर्याप्त पानी नहुँदा विस्थापित परिवारले टाढाबाट पानी बोकेर ल्याउनुपर्ने अवस्था रहेको पीडितहरू बताउँछन्।
अस्थायी आश्रयस्थलमा रहेका बालबालिका, ज्येष्ठ नागरिक तथा महिलालाई पानी ओसार्न टाढासम्म जानुपर्ने अवस्था अझ कठिन बनेको छ। बाढीबाट घरखेत गुमाएर राहत र आश्रयको भरमा बसिरहेका परिवारका लागि आधारभूत आवश्यकतामध्येको खानेपानी नै सहज रूपमा उपलब्ध हुन नसक्दा दैनिक जीवनमा थप समस्या थपिएको छ।
बाढीपीडितहरूले होल्डिङ सेन्टरमै पर्याप्त, सुरक्षित र नियमित खानेपानीको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले अस्थायी आश्रयस्थलमा बसिरहेका विस्थापित परिवारका लागि खानेपानीसँगै शौचालय, हात धुने पानी र अन्य सरसफाइका आधारभूत सुविधा पनि तत्काल सुनिश्चित गर्न आग्रह गरेका छन्।


393 पटक हेरिएको 


