पानी लिन टाढा जानुपर्ने बाध्यता हट्यो, बाणा चौतारा क्याम्पमा खानेपानी सेवा सुरु

  वास खबर सम्बाददाता  339 पटक हेरिएको
🔗
457
Shares

नुवाकोट : भोटेकोशी नदीमा आएको बाढीका कारण घरबार छाडेर नुवाकोट आइपुगेका रसुवाका विस्थापित परिवारलाई अहिले क्याम्पमै खानेपानी उपलब्ध हुन थालेको छ। विदुर नगरपालिका–५ स्थित बाणा चौतारा क्याम्प ‘बी’ मा अस्थायी रूपमा बसोबास गरिरहेका २५ घरधुरीका लागि आधारभूत खानेपानी सेवा स्थापना भएपछि विस्थापित परिवारलाई दैनिक पानीको जोहो गर्न टाढासम्म धाउनुपर्ने बाध्यता हटेको हो।

बाढीपछि अस्थायी आश्रयस्थलमा पुगेका परिवारका लागि खाना र बसोबाससँगै सुरक्षित खानेपानीको व्यवस्थापन अर्को चुनौती बनेको थियो। क्याम्पसम्म पानी पुर्‍याउन सुरुवाती दिनमा विभिन्न कठिनाइ भए पनि नुवाकोट WASH Cluster का सदस्य संस्था तथा सम्बन्धित निकाय बीचको समन्वय र सहकार्यपछि अहिले क्याम्पमा नियमित रूपमा पानी आपूर्ति भैरहेको छ।

क्याम्पमा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्नु उच्च प्राथमिकतामा रहेको UNICEF का तर्फबाट WASH Cluster Co-Lead राजेश श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार प्रत्येक क्याम्पको समग्र खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) व्यवस्थापनका लागि जिम्मेवार निकाय तोकिएको छ। जिम्मेवारी अनुसार साझेदार संस्थाहरूले आपसी समन्वयमा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी सेवा व्यवस्थापन गरिरहेका छन्।

CDC का योगराज शर्माले विस्थापित परिवारका लागि क्याम्पमै खानेपानीको उपलब्धता सुनिश्चित गर्न विभिन्न साझेदार संस्थासँग नजिकबाट समन्वय र सहकार्य भइरहेको बताउनुभयो।

त्यस्तै वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) का प्रोग्राम कोअर्डिनेटर बुद्ध बज्राचार्यले बाणा चौतारा क्याम्प ‘बी’मा खानेपानी तथा WASH सेवा व्यवस्थित गर्न विभिन्न निकाय बीच भएको सहकार्यले सेवा व्यवस्थापनलाई सहज बनाएको बताउनुभयो।

क्याम्पमा बसोबास गरिरहेका बिरबल तामाङका लागि क्याम्पमै पानी आउनु दैनिक जीवनमा ठूलो राहत बनेको छ। उहाँका अनुसार यसअघि पानी लिन टाढासम्म जानुपर्ने र बोकेर ल्याउनुपर्ने बाध्यता थियो। “हिजोसम्म पानी लिन धेरै टाढा जानुपर्थ्यो र बोकेर ल्याउनुपर्थ्यो। अहिले क्याम्पमै पानी उपलब्ध भएपछि धेरै सहज भएको छ र हामीले ठूलो राहत महसुस गरेका छौँ,” उहाँले भन्नुभयो।

बाढी र विपद्का समयमा विस्थापित समुदायका लागि सुरक्षित खानेपानीको उपलब्धता स्वास्थ्य र मानवीय सुरक्षा सँग प्रत्यक्ष जोडिएको विषय हो। अस्थायी क्याम्पमा पर्याप्त र सुरक्षित पानीको अभाव हुँदा सरसफाइ तथा स्वच्छता कायम गर्न समेत कठिन हुने भएकाले आपत्कालीन WASH प्रतिकार्यमा खानेपानी व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।

नुवाकोट खानेपानी डिभिजन कार्यालयको नेतृत्वमा UNICEF, WaterAid Nepal, ENPHO, CDC, Oxfam, Plan Nepal लगायतका संस्थाहरू विस्थापित समुदायका लागि सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी सेवा उपलब्ध गराउन सहकार्य गरिरहेका छन्।

अस्थायी रूपमा बसोबास गरिरहेका परिवारका लागि अब उपलब्ध गराईएको खानेपानीको तिरन्तरता, गुणस्तर सुनिश्चितता र WASH सेवा सँगको अन्य एकीकृत व्यवस्थापनमा जोड दिनुपर्ने वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) का प्रोग्राम कोअर्डिनेटर बज्राचार्यले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार