खानेपानी तथा सरसफाइलाई संस्थागत गर्दै त्रिपुरासुन्दरी नगरपालिका

लैंगिक समानता र सामाजिक समावेशीकरणलाई योजनाको सुरुदेखि नै प्राथमिकता

  वास खबर सम्बाददाता  219 पटक हेरिएको
🔗
164
Shares

डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रका कार्यक्रमलाई नीति, कार्यविधि र संस्थागत संरचना मार्फत व्यवस्थित गर्दै अघि बढाएको छ। नगरपालिकाले खानेपानी तथा सरसफाइका योजना छनोटदेखि कार्यान्वयन र अनुगमनसम्म लैंगिक समानता तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखेको नगरपालिकाका वाश संयोजक धन बहादुर बुढाले बताउनुभयो।

वास खबर सँग कुराकानी गर्दै उहाँले खानेपानी तथा सरसफाइका योजना कार्यान्वयन गर्दा महिला, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न सामाजिक समूहको सहभागितालाई सुनिश्चित गर्ने व्यवस्था गरिएको बताउनुभयो। योजना कार्यान्वयन पुस्तिकामा रहेको प्रावधान अनुसार समग्र सहभागितामा ५० प्रतिशत महिलाको सहभागिता सुनिश्चित भएपछि मात्रै योजना अघि बढाउने अभ्यास गरिएको छ।

त्यस्तै, लक्षित सामाजिक समूहको सहभागिता नभए कार्यक्रमको मिति परिवर्तन गर्ने वा आवश्यकता अनुसार कार्यक्रम नै स्थगित गरी पुनः प्रक्रिया अघि बढाउने गरिएको नगरपालिकाले जनाएको छ। समुदायमा सम्बन्धित समूह नै नरहेको अवस्थामा भने सोही अनुसार योजना कार्यान्वयन गरिने व्यवस्था रहेको उहाँले बताउनुभयो।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

WASH सुशासनका लागि नीति तथा कार्यविधि निर्माण

नगरपालिकाले WASH क्षेत्रमा सुशासन कायम गर्न विभिन्न नीति तथा कार्यविधि निर्माण गरेको छ। खानेपानी, सरसफाइ, मर्यादित महिनावारी व्यवस्थापन, लैंगिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण लगायत विषय समेटिएका कार्यविधि तथा कार्ययोजना नगरपालिकाबाट पारित भइसकेका छन्।

खानेपानी योजनाको कार्यान्वयनमा पनि अनुगमनलाई विशेष महत्व दिइएको छ। योजना निर्माणका क्रममा कम्तीमा चार चरणमा अनुगमन गर्ने व्यवस्था गरिएको छ। डिजाइन तथा लागत अनुमान अन्तिम भएपछि पहिलो अनुगमन, पहिलो चरणको खर्चपछि दोस्रो अनुगमन, निर्माण कार्यको प्रगति तथा अन्तिम मूल्यांकनका लागि तेस्रो र उपभोक्ता समितिको खातामा रकम पुगेपछि चौथो अनुगमन गर्ने गरिएको वाश संयोजक बुढाले बताउनुभयो।

शौचालय निर्माण तर्फ भने डिजाइन तथा लागत अनुमान, रकम खर्च र अन्तिम मूल्यांकन गरी तीन चरणमा अनुगमन गर्ने व्यवस्था छ।

२९ खानेपानी योजना सञ्चालनमा, २१ योजनासँग समझदारी

खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) अनुसार त्रिपुरासुन्दरीमा ४२ वटा खानेपानी योजना रहे पनि वास्तविक रूपमा २९ वटा योजना सञ्चालनमा छन्। ती मध्ये २७ वटा योजनाको मुहान तथा उपभोक्ता समिति दर्ता लगायतका काम अघि बढाइएको छ। २१ वटा खानेपानी योजनामा नगरपालिका र उपभोक्ता समिति बीच समझदारी समेत गरिएको छ।

खानेपानी योजनाको दीगो व्यवस्थापनका लागि उपभोक्ता समितिका सदस्य तथा सम्बन्धित व्यक्तिलाई क्षमता विकास तालिम प्रदान गरिएको छ। योजनाको मर्मत सम्भारका लागि परिचालन हुने जनशक्तिलाई समेत आवश्यक तालिम दिइएको नगरपालिकाले जनाएको छ।

डोल्पामा दक्ष मिस्त्रीको अभाव रहेको अवस्थालाई ध्यानमा राख्दै नगरपालिकाले दक्ष मिस्त्री उत्पादन गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको छ। स्थानीय बेरोजगारी घटाउने र युवाको आय आर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले छनोट गरिएका व्यक्तिलाई तालिम दिएर नगरपालिका क्षेत्रभित्र परिचालन गर्ने व्यवस्था गरिएको छ।

२०३० सम्म पूर्ण सरसफाइउन्मुख नगरपालिका बनाउने लक्ष्य

सरसफाइतर्फ नगरपालिकाले २०३० सम्म पूर्ण सरसफाइउन्मुख नगरपालिका बनाउने लक्ष्य सहित समुदायस्तरमा सरसफाइ कार्यदल परिचालन गरेको छ। नगरपालिकाका ३६ समुदाय मध्ये १६ समुदायमा सरसफाइ कार्यदल परिचालन गरिएको छ। कार्यदलले घरदैलो कार्यक्रम मार्फत सरसफाइ तथा व्यवहार परिवर्तन सम्बन्धी सन्देश प्रवाह गर्दै आएको छ।

नगरपालिकाले चित्र तथा सन्देश सहितका स्टिकर, पोस्टर र ब्यानर मार्फत समुदायमा व्यवहार परिवर्तनका सन्देश पुर्‍याउने काम समेत गरिरहेको वाश संयोजक बुढाले बताउनुभयो। स्थानीयको सहज पहुँचका लागि समुदायस्तरमा ‘WASH Mart’ समेत स्थापना गरिएको छ। खानेपानी तथा सरसफाइका आवश्यक सामग्री तथा सेवामा समुदायको सहज पहुँच पुर्‍याउने उद्देश्यले WASH Mart सञ्चालनमा ल्याइएको हो।

नगरपालिकाले खानेपानी तथा सरसफाइका संरचना निर्माणसँगै तिनको दीगो सञ्चालन, मर्मत सम्भार, संस्थागत क्षमता विकास र समुदायको सहभागितालाई जोड दिदै आएको उहाँले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार