पोलिथिन ब्यागको विकल्पमा जुटका झोला

  वास खबर सम्बादाता  123 पटक हेरिएको
🔗
87
Shares

इटहरी : सुनसरीको इटहरीमा सञ्चालन भइरहेको सिप तथा रोजगार मेला–२०८३ मा स्थानीय उत्पादनका रूपमा जुटबाट निर्मित विभिन्न प्रकारका झोला प्रदर्शनमा राखिएका छन् । मेलामा राखिएको जुटका झोलाको स्टलमा युवादेखि सर्वसाधारणसम्मको आकर्षण देखिएको छ ।

सुनसरीको सोनापुरमा स्थापित अरिहन्त मल्टी फाइबर लिमिटेडले उत्पादन गरेका जुटका झोला मेलामा बिक्री तथा प्रदर्शनका लागि राखिएको छ । मेलाको स्टल नम्बर २२ मा राखिएको जुटका झोलाले सहभागीको ध्यान तानेको छ । अरिहन्तले परम्परागत रूपमा जुटका बोरा तथा सामग्री उत्पादन गर्दै आए पनि पछिल्लो समय बजारको माग अनुसार विभिन्न डिजाइनका झोलासमेत उत्पादन गर्न थालेको अरिहन्त मल्टी फाइबर कर्मचारी सुशील कार्कीले बताउनुभयो ।

कार्कीका अनुसार जुटबाट निर्मित झोला नेपालका विभिन्न स्थानमा बिक्री हुनुका साथै अन्तर्राष्ट्रिय बजारमा समेत पुग्ने गरेको छ । वातावरणमैत्री उत्पादनप्रति आकर्षण बढ्दै गएकाले जुटका झोलाले बजार पाउन थालेको उहाँले बताउनुभयो । जुटबाट बनेका झोला वातावरणमैत्री हुने भएकाले र प्रयोगपछि फाल्दा माटोमा सजिलै कुहिएर जाने भएकाले प्लास्टिकको विकल्पका रूपमा यसको प्रयोग बढेको बताइएको छ ।

जुटका झोला बलियो हुने र राम्रोसँग प्रयोग गर्दा लामो समयसम्म टिक्ने भएकाले पुनः प्रयोग गर्न सकिने बताइएको छ । आकार र डिजाइन अनुसार झोलाको मूल्य फरक पर्ने गरेको छ । सामान्य झोला करिब एक सयदेखि तीन सय रुपियाँसम्म पर्ने तथा हातबाट बनाइएका हस्तनिर्मित झोला केही महँगा हुने कर्मचारी कार्कीले जानकारी दिनुभयो । जुटबाट बोरा तथा कपडालगायत सामग्री उत्पादन गर्ने काम लामो समयदेखि हुँदै आए पनि आधुनिक डिजाइनका झोला उत्पादन सुरु भएको चार/पाँच वर्ष भएको जनाइएको छ ।

मेलामा जुटका झोला अवलोकन गर्नुभएका रामधुनी–४ का राजकिशोर मेहताले प्लास्टिकको झोलाको विकल्पमा जुटको झोला बजारमा आउनु राम्रो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुनसरीकै सोनापुरमा यस्ता झोला उत्पादन हुँदा रहेछन् ।” प्लास्टिकको सट्टा जुटका झोला प्रयोग गर्नु पर्छ भन्ने सन्देश पनि जाने उहाँको भनाइ छ ।

इटहरीस्थित सोल्टी वेस्टेन्डमा असोज १५ देखि २० गतेसम्म सञ्चालन भइरहेको मेलामा रोजगारी, शिक्षा, स्वास्थ्य, सिप तथा स्थानीय उत्पादनसँग सम्बन्धित करिब ७० वटा स्टल राखिएका छन् । गोरखापत्र दैनिकबाट।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार