
काठमाडौं : पछिल्लो समय बाढी, पहिरोलगायतका विपद्का कारण हजारौँ नागरिक विस्थापित भएर अस्थायी आवास तथा शिविरमा बसिरहेका छन्। घरबास गुमाएका वा जोखिमका कारण सुरक्षित स्थानमा सारिएका परिवारका लागि तत्काल खानेपानी, खाद्य सामग्री र स्वास्थ्य सेवासँगै सुरक्षित सरसफाइको व्यवस्था पनि उत्तिकै आवश्यक हुन्छ।
अस्थायी बस्तीमा बनाइने शौचालयले खुला दिसालाई रोक्न र रोगको संक्रमण नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्छ। तर, अस्थायी शौचालयको सही निर्माणसँगै यसको सुरक्षित प्रयोग र व्यवस्थापनमा ध्यान नदिएमा यही संरचना संक्रमणको स्रोतसमेत बन्न सक्छ।
अस्थायी शौचालय प्रयोग गर्दा सबैभन्दा पहिले शौचालय सुरक्षित र उपयुक्त स्थानमा निर्माण गरिएको छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्छ। शौचालय खानेपानीको मुहान, पानी भण्डारण गर्ने स्थान र बाढीको सम्भावित क्षेत्रबाट सुरक्षित दूरीमा हुनुपर्छ। संरचना बलियो हुनुका साथै महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिले सहज रूपमा प्रयोग गर्न सक्ने हुनुपर्छ।
शौचालय प्रयोग गर्दा दिसा तथा पिसाब शौचालयभित्रै गर्ने र खुला ठाउँमा दिसा नगर्ने कुरालाई अनिवार्य रूपमा पालना गर्नुपर्छ। बालबालिकाको दिसालाई पनि जथाभावी फाल्नु हुँदैन। बालबालिकाले प्रयोग गरेको पोटी वा अन्य सामग्रीलाई सुरक्षित रूपमा व्यवस्थापन गर्नुपर्छ।
अस्थायी शौचालय नजिकै साबुन र हात धुने पानीको व्यवस्था हुनुपर्छ। दिसा गरेपछि, खाना खानुअघि, खाना पकाउनुअघि तथा बालबालिकालाई खाना खुवाउनुअघि साबुनपानीले हात धुनुपर्छ। पानीको अभाव भएको अवस्थामा उपलब्ध सुरक्षित विकल्पबाट हातको सरसफाइ गर्नुपर्छ।
महिला तथा किशोरीका लागि मासिक धर्म व्यवस्थापनमा पनि विशेष ध्यान आवश्यक हुन्छ। प्रयोग भएका प्याड वा अन्य सामग्री जथाभावी शौचालयको खाल्डोमा फाल्नु हुँदैन। उपलब्ध स्थानीय व्यवस्था र सुविधाअनुसार तिनको सुरक्षित व्यवस्थापन गर्नुपर्छ।
त्यस्तै, शौचालयमा प्लास्टिक, बोतल, कपडा, फोहोर वा अन्य सामग्री फाल्नु हुँदैन। यस्ता वस्तुले शौचालय छिट्टै भरिन सक्ने र दिसाजन्य लेदो व्यवस्थापनमा समस्या ल्याउन सक्छ।
शौचालय भरिन थालेमा आफैँ खाल्डो खन्ने वा दिसाजन्य लेदो निकाल्ने प्रयास गर्नु हुँदैन। सम्बन्धित स्थानीय तह वा जिम्मेवार निकायलाई जानकारी गराई सुरक्षित रूपमा दिसाजन्य लेदो व्यवस्थापन गर्नुपर्छ। बाढीको पानी शौचालयमा पसेको, खाल्डो भरिएको वा दिसा बाहिर बग्न थालेको अवस्थामा तत्काल प्रयोग रोक्नुपर्छ।
अस्थायी शौचालयको नियमित सरसफाइ, दुर्गन्ध नियन्त्रण, झिँगा तथा अन्य कीराको नियन्त्रण र संरचनाको नियमित निरीक्षण पनि आवश्यक हुन्छ। रातिको समयमा प्रयोग गर्ने व्यक्तिका लागि पर्याप्त प्रकाश र सम्भव भएसम्म सुरक्षित पहुँचको व्यवस्था गर्नुपर्छ।
विपद्का बेला अस्थायी शौचालय दिसा गर्ने ठाउँ मात्र नभई रोगको संक्रमण रोक्ने महत्वपूर्ण संरचना हो। त्यसैले यसको निर्माणसँगै सुरक्षित प्रयोग, हात धुने बानी, नियमित सरसफाइ र दिसाजन्य लेदोको उचित व्यवस्थापनमा सबैले ध्यान दिन आवश्यक छ। यसो गर्न सके अस्थायी आवासमा बसिरहेका नागरिकलाई सुरक्षित, स्वस्थ र मर्यादित सरसफाइको सुविधा उपलब्ध गराउन सकिन्छ।


186 पटक हेरिएको 

