मधेशका २३ स्थानीय तहले चालु आर्थिक वर्षभित्रै WASH प्लान बनाउने

योजना निर्माण र स्वीकृतिका लागि कार्ययोजना तयार, सबै १३६ स्थानीय तहमा WASH योजना पुर्‍याउने लक्ष्य

  वास खबर समाचारदाता  252 पटक हेरिएको
🔗
332
Shares

काठमाडौं : मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) योजनाको निर्माण तथा स्वीकृति प्रक्रियालाई तीव्रता दिन २३ वटा स्थानीय तहले चालु आर्थिक वर्षभित्रै योजना निर्माण गरी पारित गर्ने प्रतिबद्धता जनाएका छन्। यसका लागि सम्बन्धित स्थानीय तहहरूले कार्ययोजना समेत तयार गरेका छन्।

युनिसेफ नेपालको प्राविधि सहयोगमा मधेस प्रदेशको उर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयको आयोजना तथा खानेपानी तथा ढल व्यवस्थापन विभागको सहआयोजनामा  स्थानीय तहको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH PLAN) सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण तथा कार्यशालामा सहभागी स्थानीय तहहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्।

निर्धारित लक्ष्य अनुसार काम सम्पन्न भएमा मधेश प्रदेशका सबै १३६ स्थानीय तहमा WASH योजना निर्माण तथा स्वीकृतिको प्रक्रिया पूरा हुने युनिसेफ नेपालका वास अधिकृत अन्नपूर्णा मिश्रले जानकारी दिनुभयो।

कार्यशालामा WASH योजना निर्माण प्रक्रिया, आवश्यक तथ्याङ्क संकलन तथा व्यवस्थापन, WASH सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी प्रयोग र योजनालाई स्थानीय तहको नीति, कार्यक्रम तथा बजेटसँग आबद्ध गर्ने विषयमा छलफल गरिएको वास अधिकृत मिश्रले जानकारी दिनुभयो।

त्यसैगरी, स्थानीय तहमा WASH क्षेत्रको संस्थागत प्रणाली सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा नीतिगत सुधारका लागि आवश्यक ऐन, नीति, निर्देशिका र कार्यविधि निर्माणका विषयमा पनि छलफल भएको थियो।

कार्यक्रममा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहाले मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा स्वच्छताको अवस्था सुधार गर्न योजनाबद्ध प्रयास, प्रभावकारी स्रोत परिचालन र स्थानीय तहको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिनुभएको थियो।

योजनालाई स्थानीय तहको बजेट र प्राथमिकतासँग जोड्ने

उहाँका अनुसार WASH योजनालाई स्थानीय तहको आवश्यकता र प्राथमिकतामा आधारित बनाउँदै त्यसलाई वार्षिक नीति, कार्यक्रम तथा बजेटसँग आबद्ध गर्नुपर्नेमा कार्यशालाले जोड दिएको छ। योजनामा समेटिएका प्राथमिकताका आधारमा बजेट विनियोजन, उपलब्ध स्रोतको परिचालन र कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सकिने अपेक्षा गरिएको छ।

कार्यशालामा सहभागी स्थानीय तहहरूले WASH क्षेत्रको संस्थागत क्षमता, जवाफदेहिता र दिगो सेवा व्यवस्थापन सुदृढ गर्न आवश्यक नीतिगत व्यवस्था विकास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

WASH योजनाले स्थानीय तहमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाको विद्यमान अवस्था पहिचान गर्न, आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गर्न र सेवा विस्तारका लागि व्यवस्थित योजना बनाउन सहयोग पुर्‍याउनेछ।

सबै नागरिकको सुरक्षित सेवामा पहुँच विस्तार गर्ने अपेक्षा

स्थानीय तहको संस्थागत क्षमता र सुशासन सुदृढ गर्दै सुरक्षित खानेपानी तथा सरसफाइ सेवामा सबै नागरिकको पहुँच विस्तार गर्न WASH योजनाले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। विशेष गरी महिला, बालबालिका तथा पछाडि परेका समुदायको आवश्यकतालाई योजनामा समेट्न सकेमा सेवा प्रवाहलाई थप समावेशी बनाउन सकिनेछ।

मधेश प्रदेशका सबै १३६ स्थानीय तहमा WASH योजना निर्माण तथा स्वीकृतिको प्रक्रिया पूरा गर्ने लक्ष्यले स्थानीय तहमा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको योजनाबद्ध विकासलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

यद्यपि, निर्धारित समयभित्र योजना निर्माण, स्वीकृति र कार्यान्वयन सुनिश्चित गर्न स्थानीय तहको प्रतिबद्धता सँगै प्रभावकारी अनुगमन, पर्याप्त बजेट र संस्थागत समन्वय आवश्यक देखिन्छ।

ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका निमित्त सचिव राम कुमार खंगको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उदघाटन ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहाले गर्नुभएको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार