खानेपानी क्षेत्रमा बजेट र जनशक्ति अभाव, सुधारका लागि सरोकारवालाको ध्यानाकर्षण

  वास खबर समाचारदाता  270 पटक हेरिएको
🔗
428
Shares

दाङ : बर्गदुवा खानेपानी उपभोक्ता संस्थाको दशौँ साधारणसभा सम्पन्न भएको छ। सभामा खानेपानी क्षेत्रको बजेट अभाव, जनशक्ति कमी, पानीको गुणस्तर सुधार र उपभोक्ता समिति सम्बन्धी कानुनी व्यवस्थाका विषयमा सरोकारवालाले ध्यानाकर्षण गराएका छन्।

कार्यक्रमका प्रमुख अतिथि प्रकाश जग साहले दाङ जिल्लामा खानेपानी व्यवस्थापनका क्षेत्रमा बजेट अभाव र जनशक्ति कमीका कारण समस्या देखिएको बताउनुभयो। उहाँले खानेपानीको गुणस्तर सुधारका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, विशिष्ट अतिथि तथा राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले सरकारले खानेपानी क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिँदा नागरिकको मौलिक अधिकार प्रभावित भइरहेको बताउनुभयो।

सरकारले बजेट विनियोजन गर्दा खानेपानी क्षेत्रका लागि दुई प्रतिशत बजेटसमेत छुट्याउन नसकेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। खानेपानी जस्तो आधारभूत सेवाका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

ओलीले विद्युत् महसुलमा समेत खानेपानी उपभोक्ताले २० देखि ३९ प्रतिशत सम्म योगदान गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो। उहाँले खानेपानी सेवा सञ्चालनमा देखिएका आर्थिक तथा नीतिगत समस्याको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो।

उहाँले उपभोक्ता समितिको खारेजी तथा उद्घाटन सम्बन्धी कानुनी व्यवस्था प्रति पनि विरोध जनाउँदै खानेपानी उपभोक्ता समितिका सरोकार र अधिकारलाई सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो।

सभामा संस्थाका लेखा संयोजक प्रकाशचन्द्र घिमिरे तथा सल्लाहकारहरू बसन्तराज अधिकारी, फर्साराम नेपाली, नारायण राना, दानमाया शाही, खिमा अधिकारी र जयन्ता सिंह तामाङ लगायतले मन्तव्य राख्नु भएको थियो।

सभाले संस्थाका सचिव र कोषाध्यक्षको वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।

संस्थाका अध्यक्ष पूर्णबहादुर शाहीको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन संस्थाका सचिव यादव प्रसाद शर्माले गर्नुभएको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार