चार किलोमिटर टाढाको मुहानबाट चट्टान र भिर छिचोल्दै सल्यानथरीमा ल्याइयो पानी

  वास खबर समाचारदाता  155 पटक हेरिएको
🔗
169
Shares

सल्यान :  सल्यानको कालिमाटी गाउँपालिका–७, सल्यानथरीका १७ घरपरिवारले दशकौँ देखिको खानेपानीको सास्तीबाट मुक्ति पाएका छन्। कुनै समय पानी लिन घण्टौँ हिँड्नुपर्ने र डोकोमा पानी बोकेर गुजारा चलाउनुपर्ने यहाँका बासिन्दाका घरमै अहिले धाराबाट पानी आउन थालेको छ।

बस्तीबाट करिब चार किलोमिटर टाढाको मुहानबाट कडा चट्टान र भिर छिचोल्दै खानेपानी ल्याइएपछि स्थानीयको लामो समयदेखिको समस्या समाधान भएको हो। खानेपानीको अभावकै कारण गाउँ छाड्नुपर्ने बाध्यता भोगेका स्थानीयका लागि घरमै पानी पुग्नु ठूलो राहत बनेको छ।

बस्ती र मुहानबीचको दूरी, कडा चट्टान, भिरालो भूगोल र कठिन भौगोलिक अवस्थाका कारण सल्यानथरीमा खानेपानी पुर्‍याउनु चुनौतीपूर्ण थियो। वर्षौँदेखि विभिन्न निकायबाट खानेपानी सुविधा उपलब्ध गराउने आश्वासन पाए पनि स्थानीयको समस्या समाधान हुन सकेको थिएन।

निर्वाचनका बेला राजनीतिक दलका नेताहरूले समेत खानेपानीको विषयलाई प्रतिबद्धतामा समेट्ने गरे पनि स्थानीयको दैनिकी भने पानीकै खोजीमा बित्ने गरेको थियो।

११ लाख रुपैयाँको लागतमा घरघरमा धारा

कालिमाटी गाउँपालिकाको १० लाख रुपैयाँ अनुदान र स्थानीय उपभोक्ताको एक लाख रुपैयाँ बराबरको जनश्रमदानबाट खानेपानी योजना निर्माण गरिएको हो। करिब ११ लाख रुपैयाँको लागतमा निर्माण भएको योजनामार्फत चार किलोमिटर टाढाको मुहानबाट पानी ल्याएर बस्तीका १७ वटै घरमा धारा जडान गरिएको छ।

कालिमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजालका अनुसार दुर्गम भूगोलका कारण योजना निर्माण सहज थिएन। मुहानसम्म पुग्नसमेत कठिन रहेको र चट्टान तथा भिर छिचोल्नुपर्ने अवस्थाले काम चुनौतीपूर्ण बनेको उहाँले बताउनुभयो।

‘मुहानसम्म पुग्नसमेत निकै कठिन छ। चट्टान र भिर भएको ठाउँबाट पानी ल्याउनु सजिलो थिएन। तर, स्थानीयको दुःखलाई ध्यानमा राख्दै योजना अघि बढायौँ,’ रिजालले भन्नुभयो, ‘गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदानबाट अहिले घरघरमा धारा पुर्‍याउन सफल भएका छौँ।’

उहाँका अनुसार स्थानीयको आवश्यकता र लामो समयदेखिको समस्यालाई प्राथमिकतामा राखेर योजना अघि बढाइएकाले दुर्गम बस्तीमा खानेपानी पुर्‍याउन सम्भव भएको हो।

पानी गाउँसम्म आउला भन्ने विश्वास समेत थिएन

खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष नैनसिंह घर्तीका अनुसार सल्यानथरीमा पानी ल्याउन सकिन्छ भन्ने विश्वाससमेत स्थानीयमा थिएन। कठिन भूगोल र अप्ठ्यारो बाटोका कारण वर्षौँदेखिको समस्या समाधान हुनेमा स्थानीय ढुक्क हुन सकेका थिएनन्।

तर वडाध्यक्षको तदारुकता, गाउँपालिकाको लगानी र स्थानीयको श्रमदानले योजना पूरा भएको उहाँले बताउनुभयो। घरमै पानी आउन थालेपछि दैनिक रूपमा पानी बोक्नुपर्ने बाध्यता हट्नुका साथै स्थानीयलाई ठूलो राहत मिलेको घर्तीको भनाइ छ।

खडेरीका कारण स्थानीयले थप सास्ती भोगिरहेका बेला असारको सुरुवाततिर वडाध्यक्ष रिजाल आफैँ एक घण्टाभन्दा बढी समय हिँडेर बस्तीबाट करिब चार किलोमिटर टाढाको मुहानसम्म पुग्नुभएको थियो। कठिन बाटो पार गरेर मुहानमा पुग्दा पर्याप्त पानीको स्रोत देखेपछि उहाँले स्थानीयलाई पानी गाउँसम्म ल्याउन सकिने विश्वास दिलाउनुभएको थियो।

त्यसपछि स्थानीय सरकार र उपभोक्ताबीच सहकार्य गरी योजना कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाइएको थियो। गाउँपालिकाको आर्थिक सहयोग र उपभोक्ताको श्रमदानबाट योजना सम्पन्न भएपछि लामो समयदेखि खानेपानीको प्रतीक्षामा रहेका परिवारले घरमै पानी पाएका हुन्।

खानेपानीको समस्या समाधान, विद्युत्को प्रतीक्षा कायमै

सल्यानथरीमा करिब ३५ घरधुरी रहे पनि खानेपानी, विद्युत्लगायत आधारभूत सेवाको अभावका कारण धेरै परिवार बसाइँ सरेर अन्यत्र गइसकेका छन्। अहिले गाउँमा रहेका १७ घरपरिवारले घरमै खानेपानी पाएका छन्। तर, बस्तीका अन्य आधारभूत समस्या भने अझै समाधान हुन सकेका छैनन्।

सल्यानथरीमा मोटरबाटो पुगे पनि विद्युत् सुविधा अझै विस्तार हुन सकेको छैन। वडा नम्बर–७ को घुइयाबारी आसपासका क्षेत्रमा लामो प्रतीक्षा र संघर्षपछि हालै मात्र विद्युत् पुगेकाले सल्यानथरीमा पनि विद्युत् विस्तार हुन केही समय लाग्ने देखिएको छ।

विद्युत्को अभावसँगै जंगली जनावरको त्रास, पूर्वाधारको कमी र आधारभूत सेवासम्मको कठिन पहुँचले दुर्गम बस्तीको जीवनयापन अझै चुनौतीपूर्ण बनाएको छ। यी समस्याका कारण यसअघि नै धेरै परिवारले गाउँ छाडिसकेका छन्। अहिले गाउँमा रहेका परिवारले पनि सहज जीवनयापनका लागि विद्युत् र अन्य आवश्यक पूर्वाधारको प्रतीक्षा गरिरहेका छन्।

कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्‍याउनु गाउँपालिकाको प्राथमिकता रहेको बताउनुभयो।

सल्यानथरीका बासिन्दाले दशकौँदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान भएको उल्लेख गर्दै उहाँले अब विद्युत् र अन्य आवश्यक पूर्वाधारको विकासले पनि गति लिने बताउनुभयो।

घर घरमा धारा निर्माण भएपछि सल्यानथरीका बासिन्दाको दैनिक जीवनमा सहजता थपिएको छ। तर, दुर्गम बस्तीबाट हुने बसाइँसराइ रोक्न र स्थानीयलाई गाउँमै सहज जीवनयापनको वातावरण बनाउन खानेपानीसँगै विद्युत्, सडक तथा अन्य आधारभूत सेवाको विस्तार पनि उत्तिकै आवश्यक देखिन्छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार