
काठमाडौं : आज विश्व हात धुने दिवस नेपालमा पनि मनाइँदै छ। नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको छ । यस वर्ष ‘हात धुने नायक बनौ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।
हात धुने बानीको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्दै सरसफाइलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउने उद्देश्यले यो दिवस मनाइन्छ। यस वर्षको नारा ‘हात धुने नायक बनौँ’ ले व्यक्तिगत सरसफाइमा मात्र सीमित नभई परिवार, विद्यालय, समुदाय र समाजमा हात धुने संस्कार स्थापित गर्न सबैले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सन्देश दिएको छ।
हात धुनु सामान्य र सानो कामजस्तो देखिए पनि यसले मानिसको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउँछ। फोहोर हातका माध्यमबाट विभिन्न रोगका जीवाणु शरीरमा प्रवेश गर्न सक्छन्।
विशेषगरी झाडापखाला, हैजा तथा अन्य सङ्क्रामक रोगको जोखिम कम गर्न साबुनपानीले हात धुने बानी प्रभावकारी उपाय हो। शौचालय प्रयोग गरेपछि, खाना खानुअघि, खाना पकाउनुअघि र बच्चालाई खुवाउनुअघि साबुनपानीले हात धुनु आवश्यक हुन्छ।
‘हात धुने नायक बनौँ’ भन्ने नाराको सान्दर्भिकता यहीँनेर जोडिन्छ। नायक बन्न ठूला काम गर्नुपर्छ भन्ने छैन। आफूले नियमित रूपमा साबुनपानीले हात धुने, बालबालिकालाई हात धुन सिकाउने, परिवारका सदस्यलाई प्रेरित गर्ने र समुदायमा सरसफाइको सन्देश फैलाउने व्यक्ति पनि हात धुने नायक हो। आफ्नो व्यवहारबाट अरूलाई सकारात्मक परिवर्तनका लागि प्रेरित गर्नु नै यस नाराको मूल भावना हो।
यद्यपि, हात धुने महत्त्व थाहा भएर पनि सबै नागरिकको पहुँचमा साबुन र सुरक्षित पानी उपलब्ध छैन। कतिपय विद्यालय, सार्वजनिक स्थान तथा समुदायमा हात धुने पर्याप्त सुविधा छैन।
त्यसैले व्यक्तिगत व्यवहार परिवर्तनसँगै स्थानीय सरकार, विद्यालय, स्वास्थ्य संस्था र सम्बन्धित निकायले साबुनपानीसहितको हात धुने सुविधालाई सहज र पहुँचयोग्य बनाउन आवश्यक छ।
विश्व हात धुने दिवसले हामीलाई एउटा महत्त्वपूर्ण कुरा सम्झाउँछ, स्वस्थ जीवनको सुरुवात आफ्नै हातबाट हुन्छ। हात धुने बानीलाई एक दिनको अभियानमा सीमित नगरी दैनिक जीवनको संस्कार बनाऔँ।
आफू हात धुने मात्र होइन, अरूलाई पनि हात धुन प्रेरित गरौँ। किनकि हरेक व्यक्ति हात धुने नायक बन्दा मात्र स्वस्थ, स्वच्छ र मर्यादित समाज निर्माणको लक्ष्य हासिल गर्न सकिन्छ।


180 पटक हेरिएको 

