पोखरी सफाइका नाममा बस्तीमै फोहोर जलाइँदै, धुवाँले स्थानीयलाई सास्ती

  वास खबर सम्बाददाता  140 पटक हेरिएको
🔗
134
Shares

जनकपुरधाम : लामो समयदेखि डम्पिङ साइटका रूपमा प्रयोग हुँदै आएको जनकपुरधाम उपमहानगरपालिका–३ स्थित देवान पोखरीबाट निकालिएको फोहोर पोखरी आसपासमै जलाउन थालिएपछि स्थानीयवासी धुवाँ र दुर्गन्धको मारमा परेका छन्। पोखरीको सरसफाइ तथा सौन्दर्यीकरणका नाममा निकालिएको फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा बस्तीका बासिन्दाले थप सास्ती भोग्नुपरेको हो।

जनकपुरधामको जानकी टोलमा रहेको देवान पोखरी आसपास बाक्लो बस्ती छ। बस्ती नजिकै निकालिएको फोहोर जलाउँदा निस्कने धुवाँ घरभित्रसम्म फैलिने गरेको स्थानीयको गुनासो छ। यसले विशेषगरी ज्येष्ठ नागरिकलगायत स्थानीयवासीलाई श्वासप्रश्वासमा समस्या हुने गरेको उनीहरू बताउँछन्।

पोखरी सफा गर्ने क्रममा फोहोर निकालिए पनि त्यसको उचित व्यवस्थापन नहुँदा सरसफाइको उद्देश्य नै प्रभावित भएको स्थानीयको भनाइ छ। फोहोरलाई सुरक्षित रूपमा विसर्जन गर्नुको सट्टा बस्तीको बीचमा जलाउँदा वातावरणीय प्रदूषण बढ्नुका साथै स्थानीयको स्वास्थ्यमा समेत जोखिम थपिएको छ।

स्थानीय भगवान झाका अनुसार देवान पोखरीको समस्या नयाँ होइन। विगतमा पनि पोखरीको सरसफाइ गर्ने गरिएको दाबी गरिए पनि पोखरीमा फोहोर थुप्रिने क्रम रोकिएको छैन। उहाँले पोखरी संरक्षण र फोहोर व्यवस्थापनमा उपमहानगरपालिका तथा वडा कार्यालयले प्रभावकारी कदम चाल्न नसकेको बताउनुभयो।

उहाँले भन्नुभयो, “जनकपुरधामको प्रमुख समस्या फोहोर र पोखरी अतिक्रमण हो। तर, यहाँ सफाइको नाममा स्थानीयले सास्ती भोग्नुपरेको छ। फोहोरलाई बस्तीभन्दा टाढा लगेर विसर्जन गर्नुपर्छ।”

पोखरीको डिलबाट करिब २० फिटको दूरीमा घर रहेका ज्येष्ठ नागरिक सुदर्शनलाल कर्णले पनि फोहोर जलाउँदा निस्कने धुवाँले श्वासप्रश्वासमा निकै समस्या हुने गरेको बताउनुभयो। बस्तीको बीचमा फोहोर जलाउनु उचित नभएको उल्लेख गर्दै उहाँले यसको व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो।

१२ वर्ष बित्दा पनि पोखरीको अवस्था उस्तै

२०७२ सालमा जनकपुर क्षेत्र विकास परिषद्ले अतिक्रमित पोखरी खाली गराउने क्रममा देवान पोखरी आसपासका संरचना हटाएको थियो। तर, त्यसयता पनि पोखरीको संरक्षण र व्यवस्थित व्यवस्थापन हुन सकेको छैन। स्थानीयका अनुसार पोखरी संरक्षण हुनुपर्नेमा यो फोहोर फाल्ने स्थलका रूपमा परिणत भएको छ।

विगतमा पनि पोखरी सफाइ गरिँदै आएको दाबी गरिए पनि अहिले पुनः ठूलो परिमाणमा फोहोर निकाल्नुपर्ने अवस्थाले विगतका सरसफाइ प्रयासको प्रभावकारितामाथि प्रश्न उठाएको छ। पोखरीमा फोहोर जम्मा हुने क्रम रोक्न नसक्नु र निकालिएको फोहोरको व्यवस्थापन गर्न नसक्नुले सरसफाइ तथा संरक्षणसम्बन्धी कामको दिगोपनामा चुनौती देखाएको छ।

पोखरीको संरक्षण र सौन्दर्यीकरणले स्थानीयलाई स्वच्छ वातावरण र व्यवस्थित सार्वजनिक स्थलको सुविधा दिनुपर्ने हो। तर, फोहोर व्यवस्थापनमा देखिएको कमजोरीका कारण सौन्दर्यीकरणको कामबाट राहत पाउने अपेक्षा गरेका स्थानीय उल्टै धुवाँ र प्रदूषणको समस्यामा परेका छन्।

एक करोड ६९ लाखको आयोजना, फोहोर व्यवस्थापनमै चुनौती

देवान पोखरीको सौन्दर्यीकरणका लागि जनकपुरधाम उपमहानगरपालिकाले भ्याटबाहेक एक करोड ६९ लाख ३८ हजार १२० रुपैयाँको आयोजना सञ्चालन गरिरहेको छ। २०८४ साल जेठ ३१ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त आयोजनाको सम्झौता गत जेठमा भएको हो।

तर, सम्झौता भएको पाँच महिना बितिसक्दा पनि पोखरीबाट फोहोर निकाल्ने काम पूर्ण रूपमा सम्पन्न नभएको स्थानीयवासीको भनाइ छ। पोखरीको सौन्दर्यीकरणका लागि ठूलो रकम खर्च भइरहँदा फोहोर व्यवस्थापनको आधारभूत समस्या समाधान हुन नसकेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

पोखरीबाट निकालिएको फोहोर कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था हुनुपर्ने स्थानीयको माग छ। पोखरीको नियमित सफाइ, अतिक्रमण नियन्त्रण र फोहोरको उचित विसर्जनलाई एकीकृत रूपमा अघि बढाउन नसके सौन्दर्यीकरणमा गरिएको लगानीले अपेक्षित परिणाम दिन नसक्ने देखिन्छ।

देवान पोखरीको संरक्षण केवल यसको बाहिरी स्वरूप सुधार गर्ने विषय मात्र होइन। पोखरीमा फोहोर फाल्ने प्रवृत्ति रोक्ने, निकालिएको फोहोरको सुरक्षित व्यवस्थापन गर्ने र स्थानीयलाई प्रदूषणमुक्त वातावरण सुनिश्चित गर्ने काम पनि उत्तिकै आवश्यक छ। अन्यथा, सौन्दर्यीकरणका नाममा गरिने खर्चले पोखरीको दीर्घकालीन संरक्षण र स्थानीयको स्वास्थ्य सुरक्षाको उद्देश्य पूरा गर्न सक्ने छैन।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार