सरसफाइ फ्ल्यागसिप कार्यक्रम : सरसफाइ सेवा सञ्चालनका पाँच मोडेल, स्थानीय तह अनुसार उपयुक्त प्रणाली अपनाउनुपर्ने

  वास खबर सम्बाददाता  238 पटक हेरिएको
🔗
264
Shares

काठमाडौ : शौचालय निर्माण हुँदैमा सरसफाइको समस्या समाधान हुँदैन। शौचालयबाट निस्कने दिसाजन्य लेदोको सुरक्षित निष्कासन, ढुवानी, प्रशोधन र पुनःप्रयोगसम्मको व्यवस्थापन उत्तिकै आवश्यक हुन्छ।

तर सबै स्थानीय तहको भौगोलिक अवस्था, जनशक्ति, आर्थिक क्षमता र सेवा प्रवाहको आवश्यकता समान छैन। यही वास्तविकतालाई ध्यानमा राख्दै राष्ट्रिय सरसफाइ फ्ल्यागसिप कार्यक्रममा सरसफाइ सेवा सञ्चालनका पाँच वटा फरक मोडेल अघि सारिएका छन्।

प्रस्तावित मोडेलमा नगरपालिका आफैँले सम्पूर्ण सेवा सञ्चालन गर्ने प्रणालीदेखि सार्वजनिक–निजी साझेदारी, इजाजतप्राप्त निजी क्षेत्र, समुदायमा आधारित र मिश्रित वा एकीकृत प्रणाली सम्मका विकल्प समेटिएका छन्। स्थानीय तहको आवश्यकता र क्षमता अनुसार उपयुक्त मोडेल छनोट गरी सरसफाइ सेवा शृङ्खलालाई व्यवस्थित र दिगो बनाउन सकिने अवधारणा प्रस्तुत गरिएको हो।

पहिलो मोडेल

प्रस्तावित पहिलो मोडेल पूर्ण सार्वजनिक अर्थात् नगरपालिका आफैँले सेवा सञ्चालन गर्ने प्रणाली हो। यस मोडेलमा सरसफाइ सेवा सम्बन्धी पूर्वाधारको स्वामित्व देखि वित्तीय व्यवस्थापन, सञ्चालन र मर्मत सम्भार सम्मको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले लिनेछ। आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गरी नगरपालिकाले नै सेवा प्रवाह गर्नेछ।

दोस्रो मोडेल

दोस्रो मोडेल सार्वजनिक–निजी साझेदारीमा आधारित छ। यसमा सरसफाइ सम्बन्धी पूर्वाधारको स्वामित्व नगरपालिकाकै रहनेछ भने सेवा सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिइनेछ। नगरपालिका र निजी क्षेत्रबीच हुने सम्झौताका आधारमा सेवा सञ्चालन गरिने यस प्रणालीमा लिज, कन्सेसन वा व्यवस्थापन सम्झौता जस्ता विकल्प अपनाउन सकिनेछ।

तेस्रो मोडेल

तेस्रो मोडेल इजाजत प्राप्त निजी क्षेत्र मार्फत सेवा सञ्चालन गर्ने प्रणाली हो। यसमा निजी सेवा प्रदायकले दिसाजन्य लेदो निष्कासन तथा ढुवानीको काम गर्नेछन्। नगरपालिकाले भने सेवा प्रदायक लाई इजाजत दिने, आवश्यक मापदण्ड निर्धारण गर्ने तथा सेवा गुणस्तरको नियमन र अनुगमन गर्ने जिम्मेवारी निर्वाह गर्नेछ।

चौथो मोडेल

चौथो मोडेल समुदायमा आधारित सञ्चालन प्रणाली हो। यसमा समुदाय वा सहकारी संस्थाले सरसफाइ सेवाको व्यवस्थापन गर्नेछन्। शौचालयको व्यवस्थापन देखि दिसाजन्य लेदो निष्कासन र ढुवानी सम्मका काम समुदाय वा सहकारी मार्फत सञ्चालन गर्न सकिने अवधारणा छ। विशेष गरी घना बस्ती तथा न्यून आय भएका समुदायमा यो मोडेल उपयुक्त हुन सक्ने प्रस्तुतीकरणमा उल्लेख गरिएको छ।

पाँचौँ मोडेल

पाँचौँ मोडेल मिश्रित वा एकीकृत सञ्चालन प्रणाली हो। यसमा नगरपालिका, निजी क्षेत्र र समुदायको भूमिका समन्वयात्मक रूपमा निर्धारण गरिनेछ। नगरपालिकाले योजना निर्माण, नियमन तथा अनुगमन गर्ने, निजी क्षेत्रले सेवा सञ्चालन गर्ने र समुदायले आवश्यक सहभागिता तथा सहयोग गर्ने व्यवस्था यस मोडेलमा रहनेछ।

प्रस्तुतीकरणमा नेसनल वास एक्स्पर्ट कविर दास राजभण्डारीले नेपालका नगरपालिकाका लागि पाँचौँ अर्थात् मिश्रित वा एकीकृत मोडेललाई दीर्घकालीन रूपमा बढी उपयुक्त विकल्पका रूपमा सिफारिस गरिएको बताउनुभयो।

यस मोडेल अनुसार नगरपालिकाले योजना तथा नियमनको जिम्मेवारी लिने, निजी क्षेत्रले सेप्टिक ट्याङ्कीबाट दिसाजन्य लेदो निष्कासन र ढुवानी गर्ने तथा प्रशोधन केन्द्र मार्फत लेदो प्रशोधन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। प्रशोधन पछि प्राप्त पदार्थबाट कम्पोस्ट मल उत्पादन गरी कृषिमा पुनःप्रयोग गर्न सकिने अवधारणा पनि प्रस्तुत गरिएको छ।

सरसफाइ सेवा शृङ्खलाका विभिन्न चरणमा निजी क्षेत्रलाई छुट्टाछुट्टै रूपमा सहभागी गराउन सकिने वा सम्पूर्ण सेवा शृङ्खलाको सञ्चालन जिम्मेवारी नै दिन सकिने विकल्प समेत अघि सारिएको छ। यसका लागि निजी सेवा प्रदायकको व्यावसायिक योजना तयार गर्ने र आवश्यकता अनुसार नगरपालिकाबाट ढुवानी लागतमा अनुदान वा वित्तीय सहयोग उपलब्ध गराउने विकल्प बारे पनि प्रस्तुतीकरणमा चर्चा गरिएको छ।

मिश्रित मोडेलले नगरपालिकाको सार्वजनिक उत्तरदायित्व कायम राख्दै निजी क्षेत्रको दक्षता तथा लगानी र समुदायको सहभागिता परिचालन गर्न सक्ने अपेक्षा गरिएको छ। स्थानीय तहको क्षमता र आवश्यकता अनुसार ढल प्रणाली तथा दिसाजन्य लेदो व्यवस्थापनका सेवा सञ्चालन गर्न सकिने भएकाले यसलाई नेपालको संघीय संरचना र नगरपालिकाको वर्तमान क्षमतासँग मेल खाने विकल्पका रूपमा प्रस्तुत गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार