कोप–३१ मा ‘जिरो वेस्ट’ विषयमा क्रिएसन नेपालले प्यानल छलफल सञ्चालन गर्ने

  वास खबर सम्बाददाता  133 पटक हेरिएको
🔗
137
Shares

काठमाडौं : जलवायु परिवर्तन न्यूनीकरणमा फोहोरमैला व्यवस्थापनको भूमिका र शून्य फोहोर (जिरो वेस्ट) अवधारणालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने उद्देश्यले क्रिएसन नेपालले कोप–३१ मा विशेष प्यानल छलफल सञ्चालन गर्ने भएको छ।

टर्कीमा आगामी नोभेम्बर ९ देखि २० तारिखसम्म आयोजना हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत नेपालको राष्ट्रिय पेभिलियनमा क्रिएसन नेपालले नोभेम्बर ११ मा ‘जिरो वेस्ट’ विषयमा साइडलाइन छलफल आयोजना गर्न लागेको हो।

क्रिएसन नेपालकी महासचिव रोशना सुवेदीका अनुसार उक्त छलफलमा नेपाल सरकारका प्रतिनिधि, फोहोरमैला व्यवस्थापन तथा सरसफाइ क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि, विज्ञ र अनुसन्धानकर्ताहरूको सहभागिता रहनेछ। छलफलको सहजीकरण महासचिव सुवेदीले नै गर्नु हुनेछ।

कोप–३१ का प्राथमिकताका विषय मध्ये जिरो वेस्टलाई समेत महत्त्वपूर्ण स्थान दिइएको सन्दर्भमा फोहोरमैला व्यवस्थापनले जलवायु परिवर्तनमा पार्ने प्रभाव र त्यसको न्यूनीकरणका उपायबारे अन्तर्राष्ट्रिय संवाद गर्ने उद्देश्यले छलफल आयोजना गर्न लागिएको क्रिएसन नेपालले जनाएको छ।

नेपालको राष्ट्रिय पेभिलियनमा हुने छलफलमा नेपाल सरकारका प्रतिनिधिका साथै फोहोरमैला सफाइ कर्मचारी एलायन्स, साकेप लगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन्। उनीहरूले विभिन्न देशमा अभ्यास भइरहेका शून्य फोहोर तथा दिगो फोहोर व्यवस्थापनका अभ्यास, नीतिगत व्यवस्था र सिकाइ प्रस्तुत गर्नेछन्।

छलफलमा सामुदायिक फोहोरमैला व्यवस्थापन, स्रोतमा फोहोरको वर्गीकरण, प्लास्टिक न्यूनीकरण, जैविक फोहोरको प्रशोधन, पुनर्चक्रण, चक्रीय अर्थतन्त्र र हरित उद्यमशीलताका विषयलाई प्राथमिकताका साथ उठाइनेछ। साथै, फोहोरमैला व्यवस्थापनलाई जलवायु परिवर्तन न्यूनीकरणसँग जोड्दै दिगो तथा वातावरणमैत्री व्यवस्थापन प्रणाली विकास गर्ने उपायबारे पनि अनुभव आदानप्रदान हुनेछ।

क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले कोप–३१ जस्तो विश्वव्यापी मञ्चमा जिरो वेस्टको विषयमा छलफल गर्ने अवसर प्राप्त हुनु संस्थाका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले यसलाई शून्य फोहोर र दिगो फोहोर व्यवस्थापनका क्षेत्रमा नेपालले हासिल गरेका अभ्यास तथा अनुभव अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्ने सुनौलो अवसरका रूपमा लिनुभएको छ।

यस पटक कोप सम्मेलनमा नेपालले पहिलो पटक आफ्नै राष्ट्रिय पेभिलियन स्थापना गरी जलवायु परिवर्तन, वातावरण संरक्षण, दिगो विकास तथा फोहोरमैला व्यवस्थापन लगायतका विषयमा अन्तर्राष्ट्रिय संवाद सञ्चालन गर्ने अवसर प्राप्त गरेको छ। यसले नेपालका नीति, अभ्यास र अनुभवलाई विश्व मञ्चमा प्रस्तुत गर्नुका साथै जलवायु परिवर्तनका चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य र साझेदारी विस्तार गर्ने अवसर समेत प्रदान गर्ने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार