
बर्दिया : स्वास्थ्य संस्था बिरामीको उपचार गर्ने ठाउँ मात्र होइन, बिरामीलाई थप संक्रमणबाट जोगाउने सुरक्षित स्थल पनि हुनुपर्छ । तर संक्रमण रोकथाम तथा नियन्त्रणका आधारभूत अभ्यास प्रभावकारी नहुँदा उपचारका लागि स्वास्थ्य संस्था पुगेका बिरामी र स्वयं स्वास्थ्यकर्मी नै संक्रमणको जोखिममा पर्ने गरेका छन् ।
हातको सरसफाइ, व्यक्तिगत सुरक्षा सामग्रीको उचित प्रयोग, स्वास्थ्य संस्थाजन्य फोहोरको सुरक्षित व्यवस्थापन, उपकरणको निसंक्रमण तथा वातावरणीय सरसफाइ जस्ता अभ्यास संक्रमण रोकथामका आधारभूत पक्ष हुन् । यी अभ्यासमा हुने सानो लापरबाहीले पनि बिरामी, स्वास्थ्यकर्मी र समुदायको स्वास्थ्यमा असर पार्न सक्छ ।
बगनाहा स्वास्थ्य चौकी बर्दियाका जनस्वास्थ्य निरिक्षक पूर्ण बहादुर जैसीका अनुसार संक्रमण रोकथाम तथा नियन्त्रणका उपाय स्वास्थ्य संस्थामा कार्यरत सबै कर्मचारीका लागि उत्तिकै आवश्यक छन् । उहाँ भन्नुहुन्छ, “यसले समुदायलाई पनि असर गर्ने, स्वास्थ्यकर्मीलाई पनि असर गर्ने र त्यहाँ आउने सेवाग्राहीलाई पनि असर गर्ने भएका कारण स्वास्थ्य संस्थामा रहेका सम्पूर्ण स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई संक्रमण रोकथाम तथा नियन्त्रणका उपायबारे जानकारी हुनु जरुरी छ ।”
हेर्नुहोस् यो भिडियो :
बर्दिया जिल्लाका धेरै स्वास्थ्य संस्थामा केही समय अघि सम्म संक्रमण रोकथाम सम्बन्धी मापदण्ड भए पनि तिनको दैनिक अभ्यासमा प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । यसको एउटा प्रमुख कारण कर्मचारीमा संक्रमण रोकथाम सम्बन्धी ज्ञान, सीप र बुझाइमा एकरूपता नहुनु थियो ।
यही अवस्थालाई सुधार गर्न Terre des hommes (टिडिएच) र गेरुवा ग्रामीण जागरण संघले सञ्चालन गरेको सफल परियोजना मार्फत जिल्लाका २७ वटा स्वास्थ्य संस्थामा संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी क्षमता अभिवृद्धि र अभ्यास सुधारका गतिविधि सञ्चालन गरिएका छन् ।
यस क्रममा स्वास्थ्यकर्मीलाई यसअघि सिकेका सीप अद्यावधिक गर्ने अवसर समेत प्राप्त भएको छ । आधारभूत स्वास्थ्य केन्द्र, रानीटारकी सीअहेव मनिषा न्यौपानेका अनुसार तालिमले पुराना अभ्यासलाई पुनःस्मरण गराउनुका साथै नयाँ परिवर्तन भएका विधिबारे जानकारी दिएको छ ।

उहाँ भन्नुहुन्छ, “स्टेरिलाइजेसन कसरी गर्ने भन्ने कुरा हामीले पहिले पनि सिकेका थियौँ र अभ्यास पनि गरिरहेका थियौँ । तर उहाँहरू आएर रिफ्रेसर तालिम दिनुभयो । यस बीचमा केही कुराहरू परिवर्तन भएका रहेछन् । ती परिवर्तन भएका कुराहरू पनि सिक्ने अवसर पायौँ ।”
स्वास्थ्यकर्मी देखि कार्यालय सहयोगी सम्मलाई तालिम
परियोजना अन्तर्गत तालिम लाई स्वास्थ्यकर्मीमा मात्र सीमित नराखी स्वास्थ्य संस्थामा कार्यरत सबै तहका कर्मचारी सम्म पुर्याउने प्रयास गरिएको छ । तालिमपछि कतिपय स्वास्थ्य संस्थामा स्थलगत प्रशिक्षण (अनसाइट ट्रेनिङ) समेत सञ्चालन गरिएको थियो । यसमा स्वास्थ्य संस्था प्रमुख, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, अहेब, प्रयोगशाला कर्मचारी, कार्यालय सहयोगी तथा सरसफाइ कर्मचारी सहभागी भएका थिए ।
यसले संक्रमण रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य संस्थाका सबै कर्मचारीको भूमिका र जिम्मेवारी स्पष्ट पार्न सहयोग पुगेको छ । न्यौपानेका अनुसार पहिले स्वास्थ्यकर्मीलाई मात्र तालिममा सहभागी गराइने गरे पनि यसपटक स्वास्थ्य संस्थामै पुगेर सबै कर्मचारीलाई समेटिएको थियो ।

उहाँ भन्नुहुन्छ, “पहिले तालिम लिन जाँदा स्वास्थ्यकर्मीलाई मात्र बोलाएर तालिम दिइन्थ्यो । अहिले स्वास्थ्य संस्थामै आएर ओरिन्टेसन दिनुभयो । यसमा म मात्र नभएर सरसफाइमा महत्वपूर्ण भूमिका हुने कार्यालय सहयोगीलाई समेत सहभागी गराइयो ।”
स्वास्थ्य संस्थाजन्य फोहोरको सुरक्षित व्यवस्थापनमा कार्यालय सहयोगी तथा सरसफाइ कर्मचारीको भूमिका पनि महत्वपूर्ण हुन्छ । फोहोर उत्पादनदेखि संकलन, वर्गीकरण, ओसारपसार र अन्तिम व्यवस्थापन सम्मका प्रक्रियामा उनीहरू प्रत्यक्ष संलग्न हुने भएकाले संक्रमणको जोखिम न्यूनीकरण गर्न उनीहरूमा आवश्यक ज्ञान र सीप हुनु अनिवार्य छ ।
आधारभूत स्वास्थ्य केन्द्र, रानीपुरका कार्यालय सहयोगी जोरा सिंह थापाले तालिमबाट उपकरणलाई निसंक्रमण गर्ने, सामग्री उमाल्ने तथा भाइरेक्स घोल तयार गर्ने प्रक्रियाबारे महत्वपूर्ण ज्ञान प्राप्त भएको बताउनुभयो । उहाँका अनुसार तालिमले यसअघि भएका कमजोरी पहिचान गरी सुधार गर्ने अवसर समेत दिएको छ ।
यसैगरी, शिवपुर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक गणेशप्रसाद आचार्य स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन स्वास्थ्य संस्थामा कार्यरत सबै कर्मचारीको साझा जिम्मेवारी भएको बताउनुहुन्छ । उहाँका अनुसार स्वास्थ्यकर्मी मात्र नभई सहयोगी कर्मचारी समेत फोहोर व्यवस्थापनको प्रक्रियामा प्रत्यक्ष संलग्न हुने भएकाले सबैले आफ्नो भूमिका बुझ्न आवश्यक छ ।

“स्वास्थ्य संस्थामा सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मी, नर्ससँगै सहयोगी स्टाफहरू पनि स्वास्थ्य संस्थाजन्य फोहोरको व्यवस्थापनमा उत्तिकै संलग्न हुन्छौँ । हामी सबै फोहोर उत्पादनकर्ता भएकाले यसको विसर्जन र सुरक्षित व्यवस्थापन संवेदनशील विषय हो । त्यसैले यसमा हामी सबैको भूमिका हुन्छ,” उहाँले भन्नुभयो ।
संक्रमण रोकथाम तथा नियन्त्रण प्रभावकारी बनाउन मापदण्ड बनाउनु मात्र पर्याप्त हुँदैन, त्यसलाई व्यवहारमा उतार्ने ज्ञान, सीप र जिम्मेवारीबोध पनि आवश्यक हुन्छ । बर्दियाका २७ स्वास्थ्य संस्थामा सञ्चालन गरिएका तालिम तथा स्थलगत प्रशिक्षणले यही पक्षलाई सम्बोधन गर्ने प्रयास गरेको छ ।
यसले संक्रमण रोकथाम तथा नियन्त्रणलाई स्वास्थ्यकर्मीको मात्र जिम्मेवारी नभई स्वास्थ्य संस्था प्रमुखदेखि कार्यालय सहयोगी र सरसफाइ कर्मचारीसम्म सबैको साझा दायित्वका रूपमा स्थापित गर्न सहयोग पुर्याएको छ । स्थानीय स्तरमै उपलब्ध जनशक्तिको क्षमता अभिवृद्धि र नियमित अभ्यासमार्फत स्वास्थ्य संस्थालाई थप सुरक्षित बनाउन सकिन्छ भन्ने सन्देश पनि यस प्रयासले दिएको छ ।



86 पटक हेरिएको 

