
काठमाडौ : काभ्रेपलाञ्चोकको धुलिखेलमा अन्तर्राष्ट्रिय वी लभ यु फाउन्डेसनले सञ्चालन गरेको बृहत् वातावरण सरसफाइ अभियानमा करिब ४०० जना सहभागी भएका छन्। आइतबार बिहान सञ्चालित अभियानका क्रममा पाँच ट्रक प्लास्टिकजन्य फोहोर सङ्कलन गरिएको छ।
संयुक्त राष्ट्रसङ्घले सन् २०२६ लाई स्वयंसेवकहरूको अन्तर्राष्ट्रिय वर्ष घोषणा गरेको अवसरमा फाउन्डेसनले सञ्चालन गरिरहेको ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ अन्तर्गत धुलिखेलमा सरसफाइ कार्यक्रम गरिएको हो।
बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालित अभियानमा फाउन्डेसनका सदस्य, स्वयंसेवक र स्थानीय बासिन्दाको सहभागिता थियो। सहभागीले धुलिखेल नगरपालिका–७ अन्तर्गत अरनिको राजमार्गदेखि गणेश मन्दिर सम्मका सडक किनार तथा पर्यटकीय क्षेत्र एक हजार भर्याङको पैदल मार्गमा जथाभावी फालिएका घरायसी फोहोर, कागज र प्लास्टिकजन्य वस्तु सङ्कलन गरेका थिए।
सङ्कलित फोहोरको उचित व्यवस्थापनका लागि धुलिखेल नगरपालिकाको नगर सरसफाइ तथा फोहोरमैला व्यवस्थापन शाखासँग समन्वय गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको सम्पूर्ण खर्च फाउन्डेसनका सदस्यले नै व्यहोरेका थिए।
धुलिखेल नगरपालिकाका कार्यकारी नगर प्रमुख निराजन जङ्गमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष रोमीप्रसाद श्रेष्ठ, वडा नं. ३ का वडाध्यक्ष गणेश आचार्य, वडा नं. १० का वडाध्यक्ष गोविन्दप्रसाद उपाध्याय तथा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुखको विशिष्ट आतिथ्य रहेको थियो।
त्यसैगरी, शान्ति वन सामुदायिक वन उपभोक्ता समिति (भट्टेडाँडा) का प्रतिनिधिको सहभागिता रहेको थियो। सरसफाइ अभियानका क्रममा ट्राफिक व्यवस्थापनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सहयोग गरेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जङ्गम र अन्य अतिथिले फाउन्डेसनको स्वयंसेवी कार्यको प्रशंसा गर्नुभयो। स्थानीय समुदाय तथा पर्यटकीय क्षेत्रको सरसफाइमा अभियानले प्रत्यक्ष योगदान पुर्याएको उल्लेख गर्दै उहाँहरूले संस्थाप्रति आभार व्यक्त गर्नुभयो।
फाउन्डेसनका एक प्रतिनिधिले स्वच्छ वातावरण स्वस्थ र सुखद जीवनको आधार भएको उल्लेख गर्दै अभियानले नागरिकलाई दैनिक जीवनमै वातावरण संरक्षणका गतिविधिमा सहभागी हुन प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
फाउन्डेसनकी अध्यक्ष जाङ गिल जाको नेतृत्वमा नोभेम्बर १९ देखि बागमती, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका १२ स्थानमा अभियान सञ्चालन भइरहेको छ।
‘स्वच्छ वातावरण नै मानव कल्याणको मुख्य आधार हो’ भन्ने उद्देश्य सहित सन् २००८ मा दक्षिण कोरियाबाट सुरु भएको ‘क्लिन वर्ल्ड अभियान’ मा हालसम्म नेपाल सहित ८४ देशका तीन लाख ४६ हजारभन्दा बढी मानिस सहभागी भइसकेका छन्।

संयुक्त राष्ट्रसङ्घको सार्वजनिक सूचना विभाग (यूएन डीपीआई–एनजीओ) सँग आबद्ध वी लभ युले ‘आमाको प्रेम सारा संसारलाई’ भन्ने नारा सहित वातावरण संरक्षण, आपत्कालीन राहत, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा काम गर्दै आएको छ।
संस्थाले यस वर्ष नेपालका १७ स्थानमा तीन हजार ५०० भन्दा बढीको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ। त्यस्तै, गोरखा र मध्यपुर थिमी लगायतका विद्यालयमा शैक्षिक तथा भौतिक सामग्री सहयोग गरेको छ।
विश्वका १०२ देशमा ११ हजार १०० भन्दा बढी कल्याणकारी गतिविधि सञ्चालन गरिसकेको संस्थाले अमेरिकी राष्ट्रपतिको स्वयंसेवक सेवा स्वर्ण पदक सहित एक हजार १०० भन्दा बढी अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको जनाएको छ।


79 पटक हेरिएको 

