खानेपानी संस्थामा पारदर्शिता कायम गर्न र फजुल खर्च नियन्त्रण गर्न सांसद गौतमको आग्रह

  वास खबर सम्वाददाता  162 पटक हेरिएको
🔗
212
Shares

गैंडाकोट : संघीय सांसद राजन गौतमले खानेपानी उपभोक्ता संस्थाहरूमा पारदर्शिता कायम गर्दै फजुल खर्च नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले उपभोक्ताको लगानी र सहभागितामा सञ्चालन भइरहेका खानेपानी संस्थाहरूलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताउँदै मुकुन्दपुर खानेपानी उपभोक्ता संस्थालाई आफूले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

मुकुन्दपुर खानेपानी उपभोक्ता संस्थाको १९औँ वार्षिक साधारणसभामा प्रमुख अतिथिका रूपमा बोल्दै सांसद गौतमले संस्थाको आर्थिक अनुशासन, पारदर्शिता र प्रभावकारी व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो।

साधारणसभामा राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले सरकारले खानेपानी क्षेत्रलाई प्राथमिकतामा नराखेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। आम नागरिकले आफ्नै लगानी, श्रम र प्रयासबाट निर्माण तथा सञ्चालन गरेका खानेपानी संस्थालाई सहयोग गर्नुको सट्टा सरकारले खारेजी र विघटनको नीति अघि सार्नु दुर्भाग्यपूर्ण भएको उहाँको भनाइ थियो।

खानेपानी नागरिकको आधारभूत आवश्यकता र मौलिक अधिकार भएकाले उपभोक्ताले निर्माण गरेका संस्थाको संरक्षण, प्रवर्द्धन तथा संस्थागत विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।

त्यसैगरी गैंडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइरालाले आफूहरू जनप्रतिनिधि भए पनि आम नागरिककै सेवक भएको बताउनुभयो। जनताको काम गर्ने र नागरिकका समस्या समाधान गर्ने जिम्मेवारी आफूहरूको रहेको उहाँको भनाइ थियो।

साधारण सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, पारदर्शिता तथा खानेपानी सेवाको प्रभावकारी सञ्चालन लगायत विषयमा छलफल भएको थियो। कार्यक्रममा संस्थाका पदाधिकारी, उपभोक्ता तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

संस्थाका अध्यक्ष थिरबहादुर थनेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव रामचन्द्र धितालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष प्रकाश न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो। कोषाध्यक्ष बबिता सुवेदीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार