
धनकुटा : खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले धनकुटा बजार क्षेत्रमा वितरण हुने खानेपानी शुद्धीकरणका लागि दुई ठुला प्रशोधन प्रणाली (ट्रिटमेन्ट प्लान्ट) सञ्चालनको अन्तिम तयारी पुगेको छ ।
धनकुटा बजारस्थित स्कुल डाँडा र सल्लेरीमा निर्माण गरिरहेका प्रशोधन प्रणालीको काम सकिएसँगै सञ्चालनको अन्तिम तयारी पुगेको हो ।
खानेपानी शुद्धीकरणका लागि दुई ठुला प्रशोधन प्रणाली एक करोड २० लाख रुपियाँको लागतमा निर्माण भइरहेका छन् । प्रतिसेकेन्ड २० लिटर पानी प्रशोधन गर्न हुने प्रणाली सञ्चालनमा आएपछि धनकुटा नगरपालिकाका–३, ४ र ६ नम्बर वडाका ११ सय परिवारले स्वच्छ र सुरक्षित खानेपानी पाउने खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख हेराकाजी महर्जनले बताउनुभयो ।
उहाँका अनुसार दुवै प्रशोधन प्रणालीको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । उक्त योजना सञ्चालन पश्चात् ३ वटा वडाका ११ सय परिवारलाई प्रशोधित सुरक्षित खानेपानी पाउने उहाँले बताउनुभयो ।
धनकुटा बजारका स्थानीयलाई शुद्ध पानी वितरण गर्न यस अघि पनि साना क्षमताका पानी शुद्धीकरण प्रणाली निर्माण गरिएका थिए । तर उक्त प्रणाली पुराना हुँदै गएपछि नयाँ पूर्वाधार निर्माण थालिएको कार्यालयका प्रमुख महर्जनले बताउनुभयो ।
दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म हरेक घरमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य रहेको छ । त्यसलाई मध्यनजर गर्दै खानेपानी पूर्वाधार सुधार तथा विस्तारको काम भइरहेको कार्यालय प्रमुख महर्जनले बताउनु भयो।


84 पटक हेरिएको 

